Shittalpati
चिसो बढेसँगै बाढी–पहिरो पीडितलाई बासको चिन्ता

बलेवा । भदौ १७ गते भुजी खोलामा बाढी–पहिरो नआएको भए यतिबेला ढोरपाटनको बुकी क्षेत्रमा रहेका बोबाङबासी बेसी झरिरहेका हुन्थे । वर्षाको समयमा ढोरपाटन शिकार आरक्ष क्षेत्रको बुकीमा पशुपालन व्यवसाय र खेतीपाती गर्ने र हिउँद्मा बोबाङ झरेर चिसो छल्थे उनीहरू । ढोरपाटन नगरपालिका ७, ८ र ९ का अधिकांश स्थानीयवासीको बसाइँ घुम्ती हुन्छ । हरेक वर्ष ६/६ महिनामा हुने तलमाथिको बसाइँ यो वर्ष हुने कि नहुने भन्नेमा उनीहरू चिन्तित छन् । हिउँदमा बेसी झरेर बस्ने भुजीखोला छेउका घरमा भएका आफन्तसहित मासिएका घरहरूको सम्झनामा मात्रै उनीहरूसँग छ । बाढी–पहिरोका कारण क्षति भएका घरका परिवारले चिसो बढेसँगै यो वर्षको हिउँद कसरी कटाउने भनेर चिन्ता गर्न थालेका छन् । खोला छेउका १२७ घर परिवार विस्थापित भएका थिए ।

बाढी–पहिरो गएको दुई महिना बित्यो तर पीडितहरूको बास त्रिपालमै छ । पीडितको राहतका लागि नगद, खाद्यान्न, लत्ताकपडा र अन्य बन्दोबस्तीका सामग्री बोकेर धेरै संस्था, व्यक्ति तथा समूह ढोरपाटन पुगे । सरकारले बागलुङलाई विपदग्रस्त क्षेत्र घोषणा गरेर पुनः निर्माण गर्ने भनेको दुई महिना पुग्दा पनि अहिलेसम्म काम हुन सकेको छैन । केहीदिनदेखि जाडो बढेपछि बाढी–पीडितहरू घर बनाइदिन सरकारसँग माग गर्न थालेका छन् । ‘चिसो पालमुनी कटाउन सकिन्न, सरकारले कहिले बनाईदेला खै घर ?’ पीडित चन्द्रा पुनले भनिन्, ‘आँफै बनाउन सक्ने अवस्था छैन्, चिसो कसरी कटाउनु ?’ ‘छिमेकीकोमा बसेको पनि दुई महिना भयो, चिसोमा सबैलाई सुविधा पुग्दैन ।’ पीडित भीमबहादुर सुनारले भने, ‘दिन त घाम तापेर कट्ला रात कसरी कटाउनु ?’ नगरपालिकाले पीडितका घर बनाउने कामका लागि संघीय र प्रदेश सरकारका कार्यक्रम कुरेर बसेको छ । ‘केन्द्रीय विपत व्यवस्थापन समितिको सिफारिसमा गृह मन्त्रालयले विपतग्रस्त क्षेत्र घोषणा गरेकाले हामीले सो कार्यविधि पर्खिदा ढिला भएको हो’ उक्त नगरपालिकाका प्रमुख प्रसासकीय अधिकृत डिल्लिराम भट्टराईले भने, ‘संघ र प्रदेशको कार्यक्रम आएपछि हाम्रो रणनीति बनाउँला भनेर कुर्दा ढिला हुने भयो ।’

संघीय सरकारले प्राविधिक कार्यालय र प्रदेश सरकारले पूर्वाधार कार्यालयका एकाइ नै स्थापना गर्ने भनेकाले योजना दोहोरिने अवस्था आउन नदिन कुरेर बसेको उनको जिकिर थियो । ‘सबै त्रिपालमुनी हुनुहुन्न, घुम्ती बसाइँ भएकाहरूको खर्कमा पनि घर छ ।’ प्रशासकीय अधिकृत भट्टराईले भने, ‘चिसो जोगाउने अरु उपाय लगाउँछौं, थप पीडा हुन दिन्नौं ।’ जिल्लाभर यस वर्ष ५ सय ९० घरमा बाढी पहिरोले क्षति पु¥याएको विवरण जिल्ला प्रशासन कर्यालयसँग छ । उक्त नगरपालिकाले पीडितको पुनःस्थापनाका लागि स्थापना गरेको कोषमा हालसम्म दुई करोडभन्दा धेरै रकम जम्मा भए पनि त्यसलाई परिचालन गरेर राहत र पुनःस्थापनका लागि भने नगरले अग्रसरता देखाएको छैन । चामल, दाल, नुन, तेल, लत्ताकपडा, भाँडाजस्ता सामग्री पशसस्तै पाए पनि ओत लाग्ने घर नहुँदा समस्या भएको पीडितहरूको गुनासो थियो । – रासस

प्रकाशित मिति: बिहीबार, कात्तिक २०, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update