Shittalpati
नेता : देश भक्त भएनन्

नेताहरु सधैँ गुटउपगुटमा लडिरहने अनि कार्यकर्ताले उनीहरुलाई जिताएर पठाउनुपर्ने दायित्वको अन्त्य आवश्यक छ । सामान्य कार्यकर्तादेखि लिएर स्थानीय नेताहरुले अहिले प्रदेश र केन्द्रमा गएका आफ्ना अग्रजहरुसंग यस्ता जिज्ञासा राख्न थालेका छन् । स्थानीयस्तरका अगुवा हुन् या कार्यकर्ता नै किन नहुन्, उनीहरुले राख्ने गरेका जिज्ञासाको जवाफ आउन सकेका छैनन् । रात दिन परिश्रम गरेर गाउँ र टोलमा संगठन गर्ने अनि जसलाई नेता बनाएर पठाएको हो, उनीहरु पार्टी भित्रै गुटउपगुका सारथी बन्ने परम्पराले समस्या श्रृजना गरेको हो । नेता अब पार्टीका मात्रै भएनन् उनीहरु गुटउपगुटका परिचालक पनि भए । देशका लागि भन्दा पनि विदेशी प्रतिनिधि पात्र पनि भए ।

उनीहरुबाट विकासे योजना र जनताका अधिकार भन्दा पनि विदेशीहरु मध्ये कसको प्रतिनिधि बनेर काम गर्ने भन्ने कुरा प्राथमिकताको विषय बन्यो । ठूला दलका नेताहरु पार्टी नेतृत्वको भरपर्दो सारथी बनेसंँगै नेपाली र नेपालको समग्र विकासमा बाधक बन्न खोज्नेहरुका लागि असल प्रतिनिधि पात्रको चयन गर्ने कार्यकर्ताले सधैँ यस्तै गरिराखे भने देशका लागि भन्दा पनि नेताका स्वार्थका लागि कार्यभएको भनेर भन्ने बाहेक केही विकल्प रहदैनन् । गरिबी निराकरण, लोकतान्त्रिक पद्दतिको विकास अनि संघीयताको मर्म र भावनामा आँच आउने कामलाई नरोक्दासम्म देशले प्रगतिको पथ चुम्न सक्दैन । त्यसकारण पनि असल नेता खोज्नुपर्ने बेला अब आउन सक्छ ।

राजनैतिक चरित्र अनि पार्टीका सिद्धान्त बुझेर वा भाषणमा मात्र लोकप्रिय भएर भन्दा पनि जनता र देश, मुलुक र मुलुकको सार्वभौम हितका कुरा जान्ने खालका नेता नजन्मिदा सम्म देशले काँचुली फेर्न सक्दैन । देशका विभिन्न अवयावहरु मध्ये असल नेता नहुँदा हुने खतरायुक्त अवस्थाको आत्मसात गर्नका लागि जनता र स्थानीयस्तरका कार्यकर्तामा पनि अन्धभक्तिरुपी चेतनामा परिमार्जन आवश्यक छ । त्यति नभए सम्म कुनै पनि समस्या र नेपालीहरु विदेशी शक्तिका दासबाट मुक्त हुन सक्दैनन् ।

अनि देशले जनताको लागि जनताले ल्याएको शासन प्रणालीको अनूभूति गर्न सक्दैन । राजनेतामा हुनुपर्ने सबै खाले गुणयुक्त नेता नभएकै कारण हामी छिमेकी र विकासशील देशहरुका कठपुतली जस्तै हुनुपर्ने बाध्यता श्रृजना भएका हुन् । त्यस अर्थमा हाम्रो समाजले समाजकै प्रतिविम्ब राजनेता पनि नैतिकवान र चरित्रवान जन्माउने तर्फ केन्द्रित गर्नुपर्छ । अन्यथा हामी र हाम्रो मुलुक जति स्वतन्त्र र लोकतान्त्रिक व्यवस्थाको अनुयायी भएपनि सधैँ परतन्त्रमा बाच्नुपर्ने समस्या रहिरहन्छ ।

प्रकाशित मिति: बुधबार, माघ २२, २०७६  ११:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update