Shittalpati
भ्रमण वर्ष र कोरोना भाइरस

नेपाल भ्रमण वर्ष २०२० सञ्चालन भइरहेका बेला छिमेकी देश चिनमा देखिएको कोरोना भाइरसले ठूलो धक्का लाग्ने देखिएको छ । नेपालमा सबैभन्दा धेरै विदेशी पर्यटक आउने छिमेकी मुलुक चिनबाट हो । साथै, चिनको तिब्बत र नेपाललाई भ्रमणको एउटै प्याकेजमा राखेर अन्य देशका पर्यटकहरू पनि नेपाल आउने गर्छन् । तर, कोरोना भाइरस फैलिएका कारण नेपाल चिनबीचका स्थलगत नाकाहरू १५ दिनका लागि बन्द गरिएको छ ।

यसैगरी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चिनसँगको उडान कनेक्सन पनि अपिरिहार्य अवस्थामा बाहेक कटौती गरिएको छ । चिनियाँ सरकारले चिनभित्र रहेका ट्राभल कम्पनीहरूलाई हवाई टिकट विक्री नगर्न र अन्तर्राष्ट्रिय टुर प्याकेज नचलाउन निर्देशित गरेको छ । यो बन्देज लामो समयसम्म कायम रह्यो भने भ्रमण वर्ष कार्यक्रम विथोलिने निश्चित छ । किनभने चिन नेपाल आउने पर्यटक संख्याका हिसावले दोस्रो मुलुक पर्छ । पर्यटन गतिविधि बिथोलिनु भनेको हाम्रा हवाई सेवाहरू, होटल र रेस्टुराँहरू तथा यातायात क्षेत्रका कामहरूमा डरलाग्दो शिथिलता पैदा हुनेछ र त्यसपछिका दिनहरूमा समेत यो अवस्थामा सुधार आइहाल्ला भन्न सकिँदैन ।

विश्वकै सबैभन्दा ठूलोे आर्थिक क्षेत्र पर्यटनमा गतिरोध उत्पन्न हुनु भनेको विश्व अर्थतन्त्रमै दुर्घटना हुनु हो । चिनमा कोरोना भाइरसको महामारी फैलिएको समाचार प्रवाह भएसँगै युरोपेली देशका पर्यटकहरूले चिन भ्रमण रद्द गरेका छन् । कोरोना भाइरसको संक्रमण भएको चिनियाँ क्षेत्र नेपालको सीमाभन्दा धेरै नै टाढा छ । तर, नेपालको सीमाना चिनसँग जोडिएकै कारण युरोप अमेरिकाका पर्यटकहरूले नेपाल भ्रमणका कार्यक्रम धमाधम रद्द गर्नुले नेपालमा भ्रमण वर्षमा ठूलो धक्का लाग्नु हो । सन् २०१८ मा चिनबाट १ लाख ५४ हजार पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

जुन संख्या अघिल्लो वर्षको तुलनामा ४७ प्रतिशतले वृद्धि हो । चिनियाँ पर्यटकहरूको यो वृद्धिलाई ध्यानमा राख्दै सरकारले नेपाल भ्रमण वर्ष २०२० मा २० लाख विदेशी पर्यटक भिœयाउने लक्ष्य निर्धारण गरेको थियो । तर, चीनमा फैलिएको कोरोना भाइरसका कारण यो लक्ष्य पूरा नहुने पूर्व संकेत देखाएको छ । सरकारले नेपाल प्रवेश गर्ने प्रत्येक पर्यटकलाई कोरोना भाइरसबाट बच्न चाहिने सम्पूर्ण आधारभूत स्वास्थ्य सेवाहरू विमानस्थल र नाकाहरूमा उपलब्ध गराउनुपर्छ । संकटको यो घडीमा आत्तिने होइन कि धैर्य तथा संयमताका साथ अघि बढ्नु जरुरी छ ।

प्रकाशित मिति: मंगलबार, माघ २१, २०७६  १०:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update