
रमेश विश्वकर्मा
गुल्मी । चाडपर्व नजिकिएसँगै गुल्मी प्रहरीले सवारी चेकजाँच कार्यलाई तिव्र पारेको छ । जिल्लामा सवारी चेकजाँचलाई तिव्र बनाएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । प्रहरीले सोमबार एकै दिन १८ वटा सवारी साधनलाई नियन्त्रणमा लिएर कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी) केदारराज पन्तले जानकारी दिए । उनका अनुसार यात्रुहरु बढी बोकेका सवारी र कागजपत्र नभएकालाई नियन्त्रण लिई कारवाही गरिएको छ ।
जिप ६ वटा, ट्याक्टर २ वटा, अटो १ वटा, मोटरसाइल ७ वटा, स्कुटी २ वटालाई नियन्त्रणमा लिई कारवाही गरिएको डिएसपी पन्तले बताए । नियन्त्रणमा लिईएका सवारी साधनमध्ये ट्याक्टर, मोटरसाइकल, स्कुटी र अटोलाई कारवाही स्वरुप जरिवाना गरी छोडिएको छ । जिपलाई दुई दिनसम्म नियन्त्रणमा राखेर छोडीने बताइएको छ ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९)लाई रोकथाम तथा नियन्त्रण गर्नको लागि जनचेतना मुलक कार्यक्रम गरि हरेक सवारी साधनहरुलाई सिटको क्षमताको आधा मात्र यात्रु राख्न तथा प्रत्येक यात्रुहरुलाई माक्सको प्रयोग गर्न सुचित गरिएको छ । ग्रामीण भेगकामा जाने सवारीले मनपरी भाडा लिने र दोब्बर यात्रु सवार गराई रहेको गुनासो नागरिकले गरेपछि जिल्ला ट्राफिक कार्यालय गुल्मी र जिल्ला प्रहरी कार्यालय गुल्मीले अनुगमनलाई तिव्र बनाएको छ । यसअघि पनि मापदण्ड विपरीत यात्रु राखेको र मनपरी भाडा लिइएको पाईएपछि विभिन्न सवारी साधनलाई नियन्त्रणमा लिई कारवाही गरिएको प्रहरी कार्यालयले जनाएको छ ।