Shittalpati
दोभान खोलामा पक्की पुल बनेपछि स्थानीय उत्साहित

रामचन्द्र रायमाझी
पाल्पा । जिल्लाको तिनाउ गाउँपालिका स्थित दोभान खोलामा पक्की पुल निर्माण भएपछि स्थानीय उत्साहित भएका छन् । खोलामा पुल नहुँदा आवत–जावतमा समस्या परेका यस क्षेत्रका स्थानीयहरु पूल निर्माण भएसँगै उत्साहित भएका हुन् ।

गत साउनमा पुल निर्माणको कार्य सम्पन्न भएपछि यहाँ नागरिकहरु सहज रुपमा आवत जावत गर्न पाउँदा निकै खुसी भएका छन् । पुल निर्माण भएपछि सहजै बुटवलबाट सामना लिन सहज भएको स्थानीय व्यवसायी पुष्पा श्रेष्ठले बताइन् । उनी बुटवलकै दरमा आफ्नै घरमा सामान पाउदा खुसी छन् । पुष्पा मात्र होइन दोभान कै ७० वर्षिय वुद्ध बुटवलबाट गाडी चढेर आफ्नै आगनमा ओर्लिन पाउँदा सपना जस्तै लागेको बताउँछन् । वर्षायाममा समुन्द्र जस्तै हुने तिनाउ खोलामा पक्कि पुल बन्ला र आफ्नै घर अगाडिबाट मोटर चढेर बुटबल पुग्न पाइएला भन्ने कल्पना नै थिएन् । वर्षौदेखिको सपना साकार भएको अर्की सुमित्रा श्रेष्ठले बताइन् । सिद्धार्थ राजमार्गको बुटवल तानसेन खण्डको दोभानदेखि जिल्लाको सत्यवती, कचल, जोड्ने उद्देश्यले साविकको दोभानमा तिनाउ खोलामा पक्की पुलको निर्माण कार्य पुरा भएपछि यस क्षेत्रका कृषक, व्यवसायी समेत उत्साहित भएका छन् । वर्षायामको समयमा राजमार्ग किनारामा सवारी राखेर गाउँपालिकाको कार्यलय जानुपर्ने बाध्यता यस वर्षदेखि अन्त्य भएको छ ।

जब वर्षायाम शुरु हुन्थ्यो खोला बढ्ने समस्या त पुरानै थियो, खोलाबाट गाडी गुडाउन समस्या, दुई किलो मिटर टाढा राजमार्गमा घुमेर जानुपर्ने, बिरामी भए अकालमा मर्नु पर्ने थियो तर अब पुल बनेपछि ढुक्क भएको स्थानीय बासिन्दा रेनुका लम्साल बताउँछिन् । पुलका कारण शहरसंग जोडिएको उनले बताइन् । मुख्य बजार बुटबलदेखि नजिक भए पनि, पुल नुहँदा यहाँ कर्णाली जस्तै थियो । अब पुल भएपछि सुगमता प्रवेश गरेको गाउँपालिकाका कर्मचारी निरन्जन लामिछेनेले आफ्नो अनुभव सुनाए । यस राजमार्गको अत्यन्त जोखिम ठानिने सिद्धबाबा दोभान सडक खण्डको वैकल्पिक सडकका रुपमा दोभान, नुवाकोट, वेलवास सडक खण्डलाई जोड्न थप सहयोग र सुरक्षित यात्राका लागि मद्दत पुर्‍याउने गाउँपालिका अध्यक्ष ओमबहादुर घर्ती बताउँछन् । नेपाल सरकारको आठ करोड लगानीमा २ स्पानको ७० मिटर लम्बाइ भएको पुलको निर्माण भएको सडक कार्यालयका सूचना अधिकारी शिव खत्रीले बताए ।

प्रकाशित मिति: शनिबार, असोज २४, २०७७  १२:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update