Shittalpati
जनप्रतिनिधि, दलित अगुवा र सरोकारवाला बिच अन्तरक्रिया

रमेश विश्वकर्मा
गुल्मी । गुल्मीमा दलित जनप्रतिनिधि, दलित अगुवा र सरोकारवालबीच अन्तक्र्रिया गरिएको छ । जिल्लाको सदरमुकाम तम्घासमा दलित महिला संघको आयोजनामा ‘समग्र विकासको अवरोध, जातीय तथा लैङ्गिक विभेद’ भन्ने नाराका साथ अन्तक्र्रिया कार्यक्रम गरिएको हो ।
कार्यक्रममा जिल्लामा दलित आन्दोलनको अवस्था, दलित जनप्रतिनिधिहरुको काम, कर्तव्य र भुमिका, दलित महिलाहरुको अवस्था लगायतका विभिन्न विषयमा बृहत्तर छलफल भएको थियो । जिल्ला समन्वय समितिका उप–प्रमुख तुल्सी श्रेष्ठले दलित आन्दोलनलाई अझ सशक्त बनाएर लैजान आग्रह गरेकी छन् । उनले अझै पनि समाजमा जातीय विभेदको अवशेष बाँकी रहेकाले यसको व्यवहारिक रुपमा अन्त्यका लागि दलित जनप्रतिनिधिहरुलाई सशक्त रुपमा लाग्न सुझाव दिइन् । दलित अधिकारकर्मी गणेश विश्वकर्माले कानुनी रुपमा जातीय विभेद अन्त्य भएपनि व्यवहारिक रुपमा अन्त्य हुन अझै बाँकी रहेकाले यस विरुद्ध लाग्न आवश्यक रहेको बताए । पछिल्लो समय दलित आन्दोलन कमजोर हुँदै गएकाले गम्भीर भएर लाग्न आवश्यक रहेको उनले उल्लेख गरे ।

कार्यक्रममा जिल्लाका विभिन्न स्थानीय तहमा निर्वाचित दलित जनप्रतिनिधिहरुको सहभागीता रहेको थियो । उनीहरुले स्थानीयस्तरमा पछिल्लो समय दलितहरुका सन्दर्भमा गरेका कार्यहरुको जानकारी गराउँदै आगामी दिनमा गर्नुपर्ने योजनाहरुका विषयमा जानकारी गराएका थिए । उनीहरुले दलित जनप्रतिनिधिहरुलाई प्रशिक्षित गर्न आवश्यक रहेको उल्लेख गर्दै पछिल्लो समय दलित समुदायका पेशा–व्यवसाय खोसिदैँ गएकाले यसलाई रोक्न ठोस प्रकारको निति तथा कार्यक्रमहरु बजेट मार्फत सम्बोधन गर्नुपर्ने बताएका थिए । दलित महिला संघ गुल्मीका अध्यक्ष बरालले जातीय तथा लैङ्गिक विभेदका कारण समग्र विकासमा अवरोध पुगेको बताईन् । दलित महिला संघका अध्यक्ष कमला बरालको अध्यक्षता रहेको कार्यक्रममा जिल्ला समन्वय उप–प्रमुख तुल्सी श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । दलित साझा मञ्चका अध्यक्ष एवम मानवअधिकारकर्मी गणेश विश्वकर्मा, जिल्ला समन्वय समिति सदस्य उमा चुँदारा, दलित मुक्ति संगठनका जिल्ला सह–संयोजक धर्म विश्वकर्मा, गुल्मीदरबार गाउँपालिका कार्यपालिका सदस्य ईश्वरी परियार लगायतको सहभागीता रहेको थियो । विष्णु विश्वकर्माको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, असोज २३, २०७७  १९:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update