
पाल्पा । प्रदेश पाँच सरकारले प्रदेशको स्थायी राजधानी दाङको भालुवाङलाई बनाउने प्रस्ताव गरेलगत्तै विभिन्न स्थानमा विरोध प्रदर्शन भइरहेका छन् । प्रतिपक्ष दल नेपाली काँग्रेसको नेतृत्वमा ठाउँ–ठाउँमा विरोध प्रदर्शन भएका हुन् । पाल्पामा पनि नेपाली काँग्रेसको अगुवाईमा सोमबार सांकेतिक रुपमा विरोध प्रदर्शन भएको छ । प्रदर्शनमा सहभागीहरुले प्रदेशको राजधानी सार्न पाइदैन ,कम्युनिष्ट सरकार चाहिदैन,भ्रष्ट सरकार मुर्दावाद ,नेपाली काँग्रेस जिन्दवाद भन्दै नारा लगाएका थिए ।
पार्टी कार्यालयबाट सुरु भएको विरोध र्याली आन्दोलन चोक,भिमसेन टोल,नारायण स्थान हुँदै जिल्ला प्रशासन कार्यालय अगाडि पुगी कोण सभामा परिणत भएको थियो । कोण सभालाई सम्बोधन गर्दै नेपाली काँग्रेसका जिल्ला उपसभापति देवराज ढकालले लोकतान्त्रिक मूल्य र मान्यता विपरीत प्रतिपक्षदलसँग छलफल नै नगरी जनभावना विपरी प्रस्ताव ल्याउनु गलत भएको बताएका छन् । उनले विगतको सरकारले टुङ्गो लगाई सकेको राजधानीका विषयमा प्रदेशका जनतालाई द्वन्द्वमा फसाउने यो प्रदेश सरकारको निर्णय निन्दनीय रहेको बताए । उनले भने ‘सरकार जनतालाई रूपन्देहीमा राजधानी राख्ने भन्ने झुटो आश्वासन दिएर अहिले प्रदेशको राजधानी दाङ लौजाने प्रस्ताव आएकाले त्यसलाई तत्कालै फिर्ता लिनुपर्दछ ,अन्यथा थप आन्दोलनका कार्यक्रमहरू गरिने छ ।’
पार्टी सचिव झपेन्द्र गैरेले नेकपाका केही नेताहरुले मन्त्री खाने नाममा प्रदेश राजधानी सार्ने चलखेल गरेको बताए । उनले हिजो नेकपाका नेताहरुले जनतासँग भोट माग्दा प्रदेश राजधानी बुटवल बनाउने आश्वासन दिएको र अहिले आएर एकाएक जनभावना विपरीत राजधानी सार्ने विषय प्रस्ताव ल्याउनु गलत भएको बताए । सचिव गैरेले जुनसुकै हालतमा प्रदेश राजधानी सार्ने विषय उचित नभएको भन्दै त्यसको विरोधमा आमनागरिक उठ्नुपर्नेमा जोड दिए । प्रदर्शन कार्यक्रममा नेपाली काँग्रेसका नेता, भातृसंस्थाका प्रमुख तथा प्रतिनिधहरुको व्यापक सहभागिता रहेको थियो । उता जिल्लाको रामपुरमा पनि काँग्रेसले विरोध प्रदर्शन गरेको छ ।
प्रदेश ५ को स्थायी राजधानी वनाउनका लागि प्रदेश सभामा दाङको भालुवाङ्ग प्रस्ताव पेश भएपछि प्रदेश–५ को अस्थायी राजधानी बुटवलमा नेपाली कांग्रेसले त्यसको विरोधमा गत शुक्रवार देखि नै असन्तुष्टि पोख्दै विरोधका गतिविधि गर्दै आएको छ ।