Shittalpati
‘विद्युत अवरुद्धको कारण झुम्सा र वर्षातलाई मात्र नदेखाउ’, कार्यालय प्रमुख भन्छन्– ‘समस्या समाधानमा लागि परेका छौं’

हाम्रा संवाददाता
पाल्पा । विद्युत अनियमितता भएपछि आइतबार नेपाल नागरिक समाज डेलिगेशन गएको छ । नागरिक समाजले उज्यालो पाल्पा बनाउनका लागि विकल्प खोज्न विद्युत कार्यालयलाई आग्रह गरेको छ । नेपाल नागरिक समाज पाल्पाले विद्युत अवरुद्धको कारण झुम्सा, कोरोना र वर्षातलाई मात्र नदेखाउन नेपाल विद्युत प्राधिकरण वितरण शाखा पाल्पालाई आग्रह गरेको छ । पाल्पामा लाइन जान साथ वितरण शाखाले हरेक पटक झुम्सा, कोरोना र वर्षातलाई कारण देखाउँदै उम्कने गरेको भन्दै नागरिक समाजले अब त्यसको विकल्प खोज्न आग्रह गरेको छ । पाल्पाली जनता सधैँ बत्ति मुनिको अध्यारो जस्तै भएर बस्नु परेको भन्दै अब त्यसको विकल्प खोज्नुपर्नेमा समाजले अनुरोध गरेको छ । समाज पाल्पाका अध्यक्ष पुष्करराज रेग्मीको नेतृत्वमा गएको केन्द्रीय सदस्य चिरञ्जीवी ढुङ्गाना, सल्लाहकार चित्रवलीराम सुवाल, सुदर्शन कोइराला, जगनाथ अर्याल, खड्कबहादुर कुंवर लगायतको टोलीले विद्युत कार्यालयका प्रमुख सुशिल पौड्याललाई पाल्पाको विद्युतको विकल्प खोज्न ध्यानाकर्षण गराएको हो ।

समाजले सेवाग्राहीलाई सहि सूचना प्रवाह गर्नुपर्ने, ग्राहकले गरेको फोन उठाउनुपर्ने, पाल्पालाई उज्यालो बनाउने विकल्प खोज्नुपर्ने, झुम्सा, कोरोना, र वर्षात मात्रलाई विद्युत अवरुद्धको कारण देखाउन नहुने माग गरेको छ । कार्यालयका प्रमुख पौड्यालले पहिरोका कारण अवरुद्ध बनेको विद्युत मंगलबारदेखि नियमित हुने बताएको समाजका अध्यक्ष पुष्करराज रेग्मीले बताए । उनले जिल्लावासीले पटक–पटक विद्युत अनियमितताको समस्या झेल्नुपर्ने बाध्यता रहेकाले त्यसको छिटो भन्दा छिटो विकल्प खोज्न विद्युत कार्यालयको ध्यानाकर्षण गराउन डेलिगेशन गएको जानकारी दिए । लगतार परेको अविरल वर्षाका कारण झुम्सा नजिकैको जंगलमा पहिरोका कारण दुई वटा टावर र पोलहरुमा क्षति पुगेकाले विद्युत अवरुद्ध बन्न पुगेको वितरण कार्यालयका प्रमुख सुशिल पौड्यालले बताए । उनले भने ‘सडक अवरुद्ध र भौगोलिक वनावटका कारण मर्मत कार्यमा केही ढिलाई भएको हो, अहिले काम तिव्र गतिमा अगाडि बढेकाले अबको केही दिनमा विद्युत नियमित हुने छ ।’ मर्मत कार्यमा लामो समय लाग्ने भएपछि विद्युतको विकल्प खोजिएको प्रमुख पौड्यालले बताए । उनले अहिले लमई, झिमरुक, अर्घाखाँची, रिडी हुँदै पाल्पामा लाईन सप्लाई गरिएको जानकारी दिए ।

पाल्पामा बुटवलदेखि आउने ३३ केबी विद्युतलाईन अधिकांश जंगलको बाटो भएर आउने तथा दुरी समेत धेरै भएको हुँदा विद्युतमा समस्या हुने गरेको वितरण शाखा पाल्पाले जनाएको छ । बुटवलदेखि जंगलको बाटो भएको र पहाडी इलाकामा वर्षातसंगै चट्यांग पर्दा विद्युत आपूर्तीमा पटक पटक समस्या झेल्नु परेको प्राधिकरणको भनाई छ । वितरण शाखा पाल्पाका प्रमुख पौडेलले प्राकृतिक प्रकोपका कारण भएको समस्यालाई कतिपय स्थानीय उपभोक्ताले नबुझेर झगडा गर्न कार्यालय परिषरमै आउनु र कर्मचारीप्रति अभद्र व्यवहार समेत प्रदर्शन गर्नुले आफूहरु दुःखी भएको गुनासो गरे । उनले भने ‘प्रहरी र प्रशासनलाई लाइन दिने तर जनतालाई अध्यारोमा राख्ने किसिमको आरोप आउनु आफैमा दुःखद् हो । हामीले कसैलाई काखा र कसैलाई पाखा गरेका छैनौं ।’
इन्टरनेट सेवा पनि अवरुद्ध
पहिरोका कारण पाल्पामा इन्टरनेट सेवा अवरुद्ध भएको छ । शुक्रबार राति परेको अविरल वर्षाका कारण तिनाउ गाउँपालिकाको दोभान जंगल क्षेत्रमा गएको पहिरोले अप्टिकल फाइवरमा क्षति पुग्न गएकाले जिल्लाको इन्टरनेट सेवा अवरुद्ध बनेको हो । निरन्तर वर्षातका कारण जिल्लाका ठाउँ –ठाउँमा गएको पहिरोका कारण विद्युत सेवा समेत अवरुद्ध बनेको छ । विद्युत र इन्टरनेट सेवा अवरुद्ध भएपछि सेवाग्राही मर्कामा परेका छन् । पहिरोका कारण बुटवलदेखि पाल्पा जोड्ने अप्टिकल फाइवरमा क्षति पुगेपछि नेटवर्क र इन्टरनेटसेवामा अवरोध आएको टेलिकम पाल्पाले एक सूचना जारी गरी जनाएको छ । अप्टिकल फाइवर मर्मतको काम भइरहेकाले छिट्टै नै सेवा सञ्चालनमा सहज हुने टेलिकमले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, असोज १२, २०७७  १०:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update