Shittalpati
‘भारतसँग छिट्टै वार्ता हुन्छ’

बुटवल । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतसंँगको कूटनीतिक संवाद र छलफलबाटै सीमा समस्याको समाधान गरिने बताएका छन् । प्रेस सङगठन नेपाल, रुपन्देहीले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले नेपाल कुनै छिमेकी मुलुकतिर नढल्किने स्पष्ट पार्दै सीमा समस्या समाधान लगायत विषयमा प्रधानमन्त्रिस्तरमा भारतसँग चारपटक फोन संवाद भएको बताए । खोसिएको भूभाग फिर्ता लिन नयाँ नक्शा जारीपछि थप ऊर्जा थपिएको बताउँदै उनले भने, ‘निश्चित प्रयोजनका लागि वर्षौँ पहिले बसेका भारतीय सेना अब हट्नुपर्छ । उसले नेपाललाई आफ्नो भूभाग उपयोग गर्न दिनुपर्छ ।’

सरकारका प्रवक्ता ज्ञवालीले विकासका विषयमा भारसँग सम्बन्ध सुदृढ बन्दै गएको बताउँदै भारतले अतिक्रमण गरेको कालापानी, लिम्पियाधुरालगायत क्षेत्रको नेपाली भूमि फिर्ता गर्न भारतसँग छिट्टै वार्ता हुनेसमेत विश्वास व्यक्त गरे । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) स्थायी कमिटी सदस्य ज्ञवालीले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) सम्झौताका केही विषयमा अमेरिकी सरकार स्पष्ट भएर अनुमोदन हुने बताए । नेता ज्ञवालीका अनुसार सो विषयमा सच्याउनुपर्ने भएमा आवश्यक बुंँदा परिमार्जन गरेर भए पनि अनुमोदन हुन्छ । उनले पार्टीभित्र अझै पनि अन्तरविरोध रहेको र त्यसको समाधान आगामी चैतमा हुने महाधिवेशनबाट समाधान हुने विश्वास व्यक्त गरे । मन्त्री ज्ञवालीले स्वास्थ्य संकटमा परेका जनतालाई राहत पुर्‍याउने सरकारको प्राथमिकतामा रहेको स्पष्ट पार्दै सरकारले स्वास्थ्यका उपकरण थप्ने, संरचना निर्माण गरेर स्वास्थ्य क्षेत्रमा सुविधा बृद्धि गर्ने जस्ता कामलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए । –रासस

प्रकाशित मिति: शुक्रबार, असोज २, २०७७  १८:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update