Shittalpati
राष्ट्रिय सभा कि हरुवाहरुको सभा ?

सामान्य ज्ञानबाट साथीले एउटा अप्ठारो प्रश्न सोध्यो । जनताले मन नपराए पनि नेताले मन पराउने देश कुन हो ? अचम्म लाग्यो । यस्तो कहाँ होला र भन्ने लाग्यो वडा सदस्य समेत बन्ने हैसियत नभएका व्यक्ति राष्ट्रिय सभा एवं माथिल्लो सभामा जाने कहाँ होला भनेर घोत्लीदै जाँदा त बामदेव गौतमको नाम पो आयो र जवाफ दिए । जहाँ खड्क प्रसाद ओली प्रधानमन्त्री, विद्या देवी भण्डारी राष्ट्रपती भएको मुलुकमा हो भनेर उत्तर दिए । खड्कप्रसाद ओलीलाई क्रेनले कति ताने छ, विद्या भण्डारीले कत्ति डोजर चलाइन भनेको ८ जना माथि हो पो भन्छ । तर लाज मान्नु पर्ने हो यहाँ बामदेव र नारायाण काजी मात्र होइनन् ।

कुरा जनताले मत नदिनु भनेको मन नपराउनु हो । त्यस्ता अल्पमतमा परेका व्यक्तिलाई कहि कतै मनोनित गर्न नपाइने भन्ने नियम कानुनहरु बनाएर सहमती भएको छ । नेकपालाई कोरोना भाइरसले आइशोलेसन हुँदै चितामा पु¥याएको थियो । कस्सो कसो गर्दा ब्युझिएर , घर फर्कियो । यही कारणले गर्दा सरकार अस्त ब्यस्त भयो, आम जनताले सरकार भएको महसुस गर्न नै पाएका छैनन् । जनताहरु भोक र रोगले ग्रस्त भएका छन् । जनताले सिटामोल र जीवनजल, दैनिक उपभोग्य सामान नपाउदा, प्राणै त्याग गरेका छन् भने संसार नै महामारीको भयको बखत जनताको जीउको रक्षा गर्ने त कहाँ छ कहाँ आफु–आफु नमिलेर तालमेल मिलाउने भन्दै समय खर्चिएको छ । किन यस्तो भयो भन्दा बामदेव गौतमलाई राष्ट्रिय सभामा लैजान रहेछ । धन्य छ नेकपाको सरकारलाई । कहिले सम्धी, कहिले ज्वाई, कहिले सालो, कहिले बुहारी, त अब बामदेव भन्दा भन्दै छ महिना बित्यो । अब फेरी नयाँ कुरा बामदेव अब रक्षा, अर्थ र उपप्रधान मन्त्री बन्ने रे । उनी निर्वाचनमा होमिदा जित्नका लागि भन्दै थिए । किन हारे । अर्को तर्फ त्यस बेलाको समयलाई खोज्दा ओलीलाई र प्रचण्डलाई एउटै कुराको भय थियो कतै बामदेव र नारायाण काजी विजय हुन्छन् की भन्नेमा तर दुवै नेतालाई यस्ता दुवै जना घाडो व्यक्ति हुन् । यिनीहरु पराजित हुनुमा ओली र प्रचण्डको पनि हात र साथ रहेकोे यथार्य पनि हो । अर्को तर्फ व्यक्तिगत रुपमा दुवै जना स्वार्थी र अवसरवादी हुन् । सरकार यस्तो अवस्थामा अनिर्णयको वन्दी त बामदेवका कारणले रहेछ । बामदेवले नेकपामा त्याग गरेका हुन त ? तर त्यसको सावाँ व्याज उठाई सके बामदेव कै ठाँउमा पाल्पाली युवा ठाकुर गैरे लाई प्रस्तावित गरेको भए सबैको चित्त बुझ्दो थियो की ? तर ओलीले लठैत, स्वाठलाई नियुक्त गरे । हुन त २०५५ सालमा जब बामदेवले पार्टी फुटाएर माले बनाउदा, यिनै माधव नेपाल, खड्क प्रसाद ओलीले नेपालको सबैभन्दा भष्ट्रचारी नेता भनेर बामदेव गौतमलाई आरोप लगाए । यति मात्र होइन प्रहरी महानिरिक्षक काण्डमा बामदेवले पत्रकारलाई प्रयोग गरेर अच्युत कृष्ण खरेलसंग पैसाको मोलमोलाई गरेपछि कुरा नमिले पछि ध्रुव बहादुर प्रधानलाई महानिरिक्षक बनाएको कुरा खरेलले आत्म वृतान्तमा उल्लेख गरेका छन् । अब हामीले अर्थ मन्त्री कस्तो पाउदछौं भन्ने मुख्य विषय हो । सुन तस्करको नायक, जुन इतिहासले चिनाएको कुरा हो । आफुनै सहयोद्धा कमरेडहरुले लगाएको आरोप हो । यस्ता आरोप प्रतिपक्षले लगाएको पनि होइन ।

संविधान निर्माणको क्रममा पराजित भएका व्यक्तिहरुलाई समानुपतिमा तथा राष्ट्रिय सभामा लैजान पाइने छैन भन्ने नीतिमा सहमति भएको थियो तर भष्ट्र सरकारले आफ्नो संख्या पु¥याउन त्यस्ता जमात बढाएको सत्य हो । यस्तो निर्णय वा कार्य नेकपा भन्दा अन्य पार्टीले वा सरकारले गरेको भए र नेकपाले आन्दोलनको अाँधी ल्याउँदथियो, अनि मृगौला प्रसादले ठूलो स्वरमा उखान टुक्का गास्दै कति गाली गर्दथिए होलान् एकपटक कल्पना गरौं त । हुन त बामदेवको दुवै हातमा लड्डु थियो र छ । कुनै समय बामदेवले नेकपा एमाले बनाए नेता सबै मालेमा, कार्यकर्ता सबै एमालेमा । निर्वाचनको बेला शून्य परिणाम भयो । तलका कार्यकर्ता धेरैलाई माओवादीमा पठाएर पुष्पकमल दाहाललाइ गुन लगाए । त्यही गुन दाहालले गौतमलाई तिरे अनि नेकपा एमालेको अधिवेशनबाट झलनाथले पार्टी सभापति हुने सपना झलझली देखे । ओलीलाई आफ्नो प्रतिस्पर्धी भएर आउला भन्ने डर थियो । ओली कमरेडले संविधान जारी भएपछि यो मुलुकको दोस्रो राष्ट्रपती बन्ने अध्यक्षमा दावी नगर्नुस् भन्ने सन्देश बामदेव मार्फत झलनाथ समक्ष ओलीको सन्देश पु¥याए । उनले अध्यक्षमा दावी नगरे पनि मौन बसेर ओलीलाई गुन लगाए त्यसैले बामदेवले ओलीलाई पनि गुन लगाएको सत्य हो । बामदेव भन्दा पनि खत्तम ओली नै हुन् उनले कुर्सी जोगाउनका लागि वडा सदस्यमा पराजित भएका व्यक्ति सम्म बोकेर राष्ट्रिय सभामा पु¥याए । त्यहाँ भन्दा लाज मर्दो विषय कहाँ हुन्छ ? जनताको बलीदानबाट आएको लोकतान्त्रिक गणतन्त्र खतरामा पुग्यो भन्ने ओली र विद्या भण्डारीको कारणबाट हुनेछ । हो यहि ओलीले मेची नगरपालिकाको नगर प्रमुखमा पराजित कमरेडलाई बाग्मती प्रदेश प्रमुख बनाए, तनहुँको भानु नगरपालिकाको नगर प्रमुखमा पराजित भगवती न्यौपाने, कपिलवस्तु वाणगंगा नगरपालिकाको प्रमुखमा पराजित विमला घिमिरे, दाङको निर्वाचन क्षेत्र २ क को प्रदेश सभा सदस्यमा पराजित जगत प्रसाद शर्मा , सिन्धुपाल्चोकको लिसंखु गाउँपालिकाको वडा सदस्यमा पराजित सिंह बहादुर वि.क , गोरखा क्षेत्र नम्बर २ मा प्रतिनिधि सभाको निर्वाचनमा पराजित नारायण काजी श्रेष्ठ, ताप्लेजुङको मेरी·न्देन गाउँपालिकाको वडा सदस्यमा पराजित हेमकुमारी सावा हँुदै बर्दियाबाट प्रतिनिधि सभामा निर्वाचनमा पराजित बामदेव गौतमसम्म राष्ट्रिय सभामा मनोनित भए । अब राष्ट्रिय सभाको नाम परिवर्तन गरे हुन्छ । (पराजित सभा) भने हुन्छ । हुन त राष्ट्रिय सभा नराखे पनि हुने हो तर हरुवाहरुलाई तलव भत्ता खान उडुस उपियाले जस्तो गरी राष्ट्रिय ढुकुटी चुस्नका लागि बनाएको रहेछ भन्ने प्रष्टिन्छ । हुन त बामदेव कै कारणले गर्दा अर्घाखाँचीका तत्कालिन नेकपाका जिल्ला अध्यक्षले आफ्नो पद राजिनामा गरेका थिए । त्यसको कारण गहिरिएर खोज्यो भने अर्थ मै पुगेर ठोकिन्छ । त्यस्ता भष्ट्र व्यक्तिबाट आम जनताले के कस्तो अपेक्षा गर्ने कुरा यहाँ हो । हुन त बामदेवलाई पार्टीमा सन्तुलन मिलाएको भए । राम्रो नै हुन्थ्यो, बामदेव कै कारण नेकपाको कद अझ तल ओर्लियो यस्ता यस्ता क्रियाकलाप बहुमत प्राप्त सरकारले गर्दै गए पछि आम जनतामा व्यवस्था प्रति विश्वास पनि प्रति दिन खस्कदै गएको सत्य हो । लोकतान्त्रिक व्यवस्थाको जग भनेको जनता हुन । जब जनताले हलचल गरे भने व्यवस्था नरहन सक्दछ । व्यवस्था भनेको जनताको लागि हो । त्यही जनताले गणतन्त्रको आवरणमा भएको लुट तन्त्रको अन्त्यको लागि आन्दोलन गरे भने खड्का प्रसाद ओली, पुष्प कमल दाहाल, बामदेव गौतम, झलनाथ खनाल, माधव नेपाल, नारायण काजी श्रेष्ठको हविगत के होला ? एकपटक कल्पना गरौं त अवश्व पनि उनीहरुलाई भेट्न हातमा पानीको बोतल र पाउरोटी लिएर चिडियाखानामा जानु पर्ने दिन पनि नआउला भन्न पनि सकिदैन । (लेखक जिल्लाका क्रियाशील एवं समसामयिक विषयमा खरो रुपमा कलम चलाउने युवा पत्रकार समेत हुन् ।)

प्रकाशित मिति: शुक्रबार, भदौ २६, २०७७  १०:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update