Shittalpati
संक्रमणबाट समुदायलाई जोगाऔं

अहिले कोरोना संक्रमण समुदायस्तरमा व्यापक भइसकेको छ । केही समय संक्रमण संख्या न्यून देखिएपछि सामान्य बनेको नेपालको अवस्था अहिले अत्यधिक त्रासमा छ । संक्रमण कम भएको भन्दै सरकारले साउनदेखि लकडाउन खुकुलो गरेसँगै संक्रमणको संख्या पनि ह्वात्तै बढ्दा अवस्था भयावहतिर लागिरहेको छ । खुला छोड्दा अहिले समुदायलाई बढी जोखिम र सास्ती छ । सबै क्षेत्रमा समुदायस्तरमा कोरोना संक्रमण छिरे पनि क्वारेन्टाइन र आइसोलेशनको सास्ती समुदायसम्म पुगेको हो । पछिल्ला दिन यता पाल्पामा समुदायस्तरमै संक्रमण देखिन थालेका छ । बुधबार मात्र ६ जना जनप्रतिनिधिसहित ३० जनामा संक्रमण देखिएको छ । तानसेन र रम्भा गाउँपालिकाका दुई जना वडा अध्यक्ष र चार सदस्य सहित एकै दिन ३० जनामा संक्रमण पुष्टि भए पछि जिल्लामा एक किसिमको सन्त्रास छाएको छ । जनप्रतिनिधिमा संक्रमण देखिनु भनेको समुदायमा कोरोना पुग्नु नै हो ।

ट्राभल हिस्ट्री नभएका व्यक्तिहरूमा समेत कोरोना पुष्टि भएको छ । सावधनी नपनाए यसले सुमदायमा थप जोखिम निम्तिन सक्ने देखिन्छ । त्यसैले अबको विकल्प आम नागरिकको सुरक्षासहित समुदायलाई सुरक्षित गर्नु देखिन्छ । समुदायस्तरमा कोरोना संक्रमण देखिदा सबै सजक र सुरक्षित बन्नुनै पर्छ । समुदायस्तरमा कोरोनाको प्रभाव सुरू भइसक्दा समेत त्यसको न्यूनीकरणका लागि स्थानीय प्रशासन, स्थानीय सरकार र स्थानीय सरोकारवाला निकायहरूको सक्रियता भने कम देखिएको छ । यो अवस्थामा सक्रियता कम देखाइनुले अवस्था भयावह हुने देखिन्छ । अहिलेको अवस्था हेर्दा तत्काल सुरक्षाको विकल्प तयार गरेर आवागमनलाई व्यवस्थापन गरी परीक्षण दायरा बढाउन आवश्यक छ । यसले मात्रै व्यवस्थापन हुन नसके केही दिन लकडाउन गरेर भए पनि सुरक्षित बनाउनतर्फ लाग्नुपर्छ । जिल्लामा संक्रमण देखिएका स्थानहरु मात्र शील गरिएको छ, तर यतिले मात्र पुग्दैन । त्यसका लागि थप व्यवस्थित गरेर जान जरुरी छ । यो अवस्थालाई मध्यनजर गरेर तत्काल स्थानीय प्रशासन र स्थानीय सरकार सुरक्षामा जुट्नुपर्छ । कम्तिमा पनि १५ दिन पूर्णरूपमा लकडाउन गर्ने, जो जहाँ छ त्यहि आवश्यकता अनुसार पिसिआर परीक्षण गर्ने र आवागमन पूर्णरूपमा बन्द गर्ने व्यवस्थापन गर्नसकेमा समुदायस्तरमा कोरोनाको प्रभाव कम हुने छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ २६, २०७७  १०:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update