Shittalpati
निजामती दिवसको सान्दर्भिकता

जबसम्म कर्मचारीतन्त्र चुस्तदुरुस्त, सहज र सरल हुँदैन तबसम्म सरकारका परियोजना र कार्यक्रमहरू सफल हुन सक्दैनन् । तसर्थ कर्मचारीलाई आफ्नो कामप्रति कर्तव्यनिष्ठ र सेवा वितरण प्रणालीलाई पारदर्शी बनाउन सके मात्रा कर्मचारीतन्त्रको छवि सुन्दर हुन सक्छ । २०६१ सालदेखि हरेक वर्ष भदौ २२ गते निजामती दिवस मनाइदै आएको छ । यसवर्ष पनि औपचारिक रुपमा भएपनि सोमबार निजामती दिवस २०७७ मनाइएको छ । देशमा संविधान बनेपछि तीन तहका निर्वाचनहरु भएका छन् । ऐन कानुन, नीति नियमहरु बन्दै छन् । कर्मचारीहरुले लोभ लालचमा नफसी स्वार्थमा नअल्झेर उच्च मनोवलका साथ निष्पक्ष भएर सेवा दिनु परम कर्तव्य हो । आफ्नो कर्तव्य र दायित्वबाट कत्ति पनि विचल्लीत नभई सेवामा लाग्नु नै सेवाग्राही प्रति कर्मचारीको हितकर हुनेछ । तर पनि अझै कर्मचारीतन्त्र हट्न सकेको छैन । संस्थागत वा व्यक्तिगत रुपमा भ्रष्टाचार मौलाएको छ । त्यसकारण आमनागरिकहरु र सेवाग्राहीहरुले सन्तोषको सास फेर्न पाएका छैनन् । सबै काम औपचारिकतामा मात्र सिमिति छन् ।

राजनैतिक अस्थिरता हटेर अब देश स्थितरता तर्फ अग्रसर हुने जनताको आशा भरोसा निरासामा परिणत हुँदै छ । अहिले देशभरि राष्ट्रसेवक कर्मचारीहरु राजनैतिक दलको पछि लागेर भरौटे जस्तै भएका छन् । आफुले सेवा गर्ने संस्थाप्रति मन बचन र कर्मले कर्मचारीहरु सर्मपित देखिदैनन् । कर्मचारी युनियनहरु राजनैतिक दलका भातृ संगठनझै बनेका छन् । यो गलत प्रवृति हो र यस्ता प्रवृतिहरु रोकिनुपर्छ । जनताले तिरेको करबाटै सेवा सुविधा लिएका कर्मचारीहरु नै जनताप्रति इमान्दार नभएको प्रत्याभूत हुनु हुँदैन । सरकारले विधिसम्मत तरिकाले सुम्पेको जिम्मेवारी पूरा गर्ने सत्प्रयास गर्नु राष्ट्रसेवक कर्मचारीहरुको कर्तव्य र दायित्व हो । तर कर्मचारीहरुले आफ्नो दायित्व र कर्तव्य विर्सने काम काम गरेका छन् । सेवा ग्राहीहरुलाई छिटो छरितो र चुस्तदुरुस्त सेवा दिने काम कर्मचारीहरुले गर्नुपर्छ । काममा ढिलासुस्ती गर्नु र सेवाग्राहीलाई झन्झट दिनु भनेको भ्रष्टाचारलाई प्रोत्साहन दिनु हो । सरकारी कार्यालयमा जाने सेवाग्राहीहरूले सुस्त, झन्झट लाग्दो र जटिल प्रक्रियाका रूपमा सेवाग्रहणलाई लिने स्थितिको अन्त्य गर्नुपर्दछ । नागरिकसँग सरकारले सम्पर्क र सम्बन्ध निर्माण गर्ने पुलको काम गर्ने वातावरण कर्मचारीले बनाउनुपर्छ । कर्मचारीतन्त्र यस्तो दर्पण हो जसका कारण सरकारको सक्कली अनुहार देखिन्छ ।

प्रकाशित मिति: बुधबार, भदौ २४, २०७७  १०:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update