Shittalpati
शिक्षाको विकल्प

विश्वभर फैलिएको कोरोना महामारीले सम्पूर्ण शैक्षिक संघ–संस्थाहरु ठप्प छन् । सरकारले गत वर्षको चैत महिनाको ११ गतेदेखि चार महिना लकडाउन शुरु गरेको थियो । सो अवधिपछि मुलुकका प्रायः सबै विद्यालय बन्द भई लाखौं विद्यार्थीले औपचारिक शिक्षा लिन पाएका छैनन् । नयाँ शैक्षिक सत्र शुरु भएको महिनौं बितिसक्दा पनि विद्यालय खोल्नसक्ने वातावरण अझै नहुँदा आफ्ना नानीहरुको भविष्यको बारेमा अभिभावकहरु चिन्तित छन् । विद्यालय र महाविश्वविद्यालयहरूको शैक्षिक गतिविधि ठप्प हुनु निश्चय नै राष्ट्रको दक्ष जनशक्ति उत्पादनमा तगारो लाग्नु हो । अहिलेको अवस्था यही हो । विशेषगरी शैक्षिक सत्र वैशाखबाट सुरु हुनुपथ्र्यो । झण्डै आधा समय बितिसक्यो । आजका दिनसम्म के गर्ने भन्ने अन्योल कायमै छ । पठनपाठन सुचारु गर्ने भन्नु विद्यार्थीहरूलाई विद्यालयमा जम्मा गर्नु हो । हाल यो सम्भव छैन । कोरोना संक्रमित बन्नुभन्दा एक वर्ष ढिलो हुनु नै जाती भन्ने सबैको मानसिकता छ । यो वास्तविकता पनि हो ।

लाखौं विद्यार्थी विद्यालय गएर अध्ययन गर्न नपाएको पनि पाँच महिना भएको छ । एउटा शैक्षिक सत्र त्यतिकै नोक्सान हुने होकि भन्ने चिन्ता अभिभावक तथा विद्यार्थीमा छ । जुन हुनु पनि स्वाभाविकै हो । सरकार शैक्षिक वर्ष खेर जान नदिने भनिरहेछ, तर उसँग पनि त्यस्तो बलियो योजना र कार्यक्रमहरु छैनन् । शिक्षा मन्त्रालयले यो शैक्षिक सत्रका लागि अनलाइन तथा भर्चुअल कक्षालाई मान्यता दिएको छ । यसको मतलव विद्यालयमा गई अध्ययन तथा अध्यापन गर्ने वातावरण नभएसम्म विद्यालयले आ–आफ्ना विद्यार्थीलाई अनलाइन शिक्षा दिनसक्ने गरी सरकारले बाटो खुला गरेको हो । कतिपय क्याम्पस, कलेजहरुले कक्षा १२ को अनलाइनबाट नै कक्षारम्भ गरिसकेका छन् । सरकारले शैक्षिक सत्र खेर नफाल्ने भन्दाभन्दै खेर जानै लागिसक्यो । हुनत सरकारलाई दोष दिएर मात्र हुँदैन । यसको मुख्य कारक त परिस्थिति हो । हालको अवस्था सरकारबाट सिर्जना भएको होइन । त्यसैले सबै मिलेर यसको समाधान खोज्नु औचित्यपूर्ण हुनजान्छ । शिक्षामन्त्रीले आग्रह गरे अनुसारका विकल्पहरूलाई औचित्यपूर्ण मान्न सकिन्छ । होम स्कुलिङ, रेडियो शिक्षा, टेलिभिजन शिक्षा, अनलाइन कक्षालगायत विकल्पबाट कक्षा सञ्चालन गरी पढाइ सुचारु गर्न सकिने सम्भावनालाई नकार्न सकिँदैन । तर, त्यसका लागि सरकारले आधार भने खडा गर्नैपर्ने हुन्छ । जेहोस्, जुन विधिबाट अध्ययन–अध्यापन गरिएपनि विद्यार्थी लाभान्वित हुन जरुरी छ । जुन ठाउँमा जुन विधि अपनाउन सकिन्छ सोही विधिअनुसार विद्यार्थीलाई लाभान्वित गर्नुपर्छ । कुनै ठाउँमा भौतिक दूरी कायम गरी पठन–पाठन गर्न–गराउन उचित हुनसक्छ ।

प्रकाशित मिति: मंगलबार, भदौ २३, २०७७  १०:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update