Shittalpati
एसइईको मापन र यसको चर्चा

राष्ट्रिय परीक्षा बोर्डले वि.सं. २०७६ सालको एसइईको नतिजा भर्खरै प्रकाशित गरेको छ । यस पटकको परीक्षा भने विद्यालयकै आन्तरिक मूल्यांकनलाई आधार मानेर परीक्षाफल प्रकाशन गर्न विश्वव्यापी कोरोनाको संकटले गर्दा राष्ट्रिय परीक्षा बोर्ड बाध्य भयो । यस वर्षको परीक्षाफल विगत वर्षभन्दा राम्रो आयो, यो अस्वाभाविक होइन । दुई–तीन दशक पहिलेको एसइईसँग दाजेर हेर्ने हो भनेमात्र एसइई परीक्षा फिक्का बन्दै गएको थियो । अक्षरांकन प्रणाली लागू गरेर एसइई नामकरण भएपछि कक्षा १० को अन्त्यमा लिइने परीक्षाको महत्व घट्न पुगेको हुनाले औचित्य माथि प्रश्न उठ्ने गरेको छ । विद्यालयहरूकै आन्तरिक मूल्यांकनका आधारमा परीक्षा नलिई घोषणा गरिएको भनेर यस वर्षको एसइई परीक्षाप्रति कटाक्ष गरेर सामाजिक सञ्जाल भरिएका छन् ।

स्कूलले मूल्यांकन गरेर अंक दिन पाउने र त्यो अंकलाई राष्ट्रिय परीक्षा बोर्डले प्रमाणीकरण गरेपछि मात्रै आधिकारिकता पाउने बाटो मन्त्रिपरिषद्ले खोलिदिएको थियो । सोही मापदण्डका आधारमा नतिजा प्रमाणीकरण गरेर बोर्डले सार्वजनिक गरेपछि विविध टीकाटिप्पणी हुन थालेको छ । विद्यार्थीको नतिजालाई लिएर सामाजिक सञ्जालमै घोचपेच हुन थालेको छ । कसैले कोरोना ब्याच भनेका छन्, कतिले आफ्ना नानीबाबुको प्राप्तांकलाई सामाजिक सञ्जालमा राखेका अभिभावकप्रति समेत व्यङ्ग्य गरिरहेका छन् । यो भनेको विद्यार्थी माथिको आक्रमण हो । व्यङ्ग्यवाण प्रहार गर्नुअघि हरेकले एकपटक सोच्नुपर्छ । आफ्ना नानीबाबु पनि यही ब्याचका विद्यार्थी भएका भए के हुन्थ्यो होला ? भविष्यका कर्णधार यी नानीबाबुको के दोष थियो र परीक्षा नदिई उत्तीर्ण हुनुमा ? परीक्षार्थीहरू पूर्ण तयार भएर परीक्षा केन्द्रमा पुग्नै लागेका थिए । अघिल्लो दिन मात्रै सरकारले परीक्षा स्थगितको निर्णय गरेपछि उनीहरू तनावमा परे । यसमा उनीहरूको के गल्ती थियो र ? विद्यार्थीलाई हीनताबोध हुने गरी नकारात्मक टिप्पणी गरिनु दुर्भाग्य हो । आफैं परीक्षा दिएर उत्तीर्ण हुन्छु भन्ने हिम्मत बोकेका विद्यार्थीलाई परीक्षाबाट बञ्चित गरियो र उनीहरूले ल्याउँछु भने जति अंक ल्याउन पाएनन् कि भन्ने पक्षबाट हामी किन विश्लेषण गर्न सक्दैनौं ? जे भए पनि परिस्थिती अनुकूल गरिएको यो निर्णयलाई अन्यथा लिनु हुँदैन । भविष्यका कर्णदार विद्यार्थीहरुको मनोवल गिराउने भन्दा पनि हौसला बढाउने दिशामा सबै अभिभावक लाग्न जरुरी छ ।

प्रकाशित मिति: बुधबार, भदौ १७, २०७७  १०:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update