Shittalpati
बौद्धिक शोषण गरेको भन्दै निर्देशिका जलाइयो

पाल्पा । बौद्धिक शोषण गरेको भन्दै देशभरका आंशिक प्राध्यापकहरूले ‘त्रिभुवन विश्वविद्यालय अतिरिक्त कक्षा व्यवस्थापन सम्बन्धी निर्देशिका २०७७’ जलाएका छन् । निर्देशिकाले समान कामको समान ज्याला व्यवस्थापन नगरेको र बौद्धिक शोषण गरेको बताउँदै उनीहरुले निर्देशिका जलाएका हुन् । त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषद्ले भदौ १ गते पारित गरेको निर्देशिका देशभरका ६१ आंगिक क्याम्पसमा आंशिक प्राध्यापकहरुले जलाएका हुन् । आंशिक प्राध्यापकहरुले त्रिविले आफूहरुको भोको पेट, श्रम र उमेरसँग खेलेको आरोप लगाउँदै निर्देशिका जलाईएको बताएका छन् । आंशिक प्राध्यापक संघले लामो समयदेखि आंशिकका रूपमा पढाइरहेकालाई करारमा नियुक्ति गर्नुपर्ने मागसहित आन्दोलन गर्दै आएको छ । त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पाका आंशिक प्राध्यापकहरुले निर्देशिका जलाएका छन् । महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जमा निर्देशिकाका साथै निर्देशिका बनाउने संयोजकको पुत्ला जलाएका छन् । प्राडा ओम बराल विरुद्ध नारावाजी सहित उनको पूत्ला दहन गरिएको विदूर शर्माले बताए । त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पाका आंशिक प्राध्यापकहरुले निर्देशिका आंशिक प्राध्यापकलाई बाँध्ने किसिमले ल्याएको भन्दै जलाईएको बताए । नेपाल आंशिक प्राध्यापक संघ त्रिवक्या, पाल्पाका अध्यक्ष कृष्ण आलेले निर्देशिकाले आंशिक प्राध्यापकको माग र मर्मलाई सम्बोधन गर्न नसकेको र बैद्धिक शोषण गर्ने प्रेरित गरेकोले जनाईएको बताए । उनी भन्छन्, ‘समान कामको समान ज्याला नदिइएको, झण्डै १५ वर्षदेखि पूर्णकालीन प्राध्यापक सरह काम गरेका आंशिक प्राध्यापकलाई बेवास्ता गरिएको, निर्देशिकामा अवकाश प्राप्त प्राध्यापकले ‘पार्ट टाइम’ पढाउन पाउने गरी प्रोत्साहित गरी नयाँलाई शिक्षण पेशामा लाग्न निरुत्साहित गरिएको, आंशिक प्राध्यापक व्यवस्थापन नभई विस्थापन गर्न निर्देशिका ल्याएको, १० जनाभन्दा कम विद्यार्थी भएको कक्षामा उक्त कक्षा विद्युतीय माध्यमबाट पढाउने भनी आंशिक प्राध्यापकबाट हटाउन खोजेको जस्ता विषयले आंशिकका हितमा रहेको छैन ।’

सोमबार दिउँसो त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाको प्राङ्गणमा भेला भएर आंशिक प्राध्यापकहरुले नाराबाजी पनि गरेका थिए । माग सुनुवाइ नभएपछि उनीहरुले देशभरका आंगिक क्याम्पस प्रमुखका कार्यकक्ष र लेखाशाखामा ताला लगाएका छन् । यसअघि साउन २२ देखि आंशिक प्राध्यापकहरूले माग पूरा गराउन क्याम्पसमा धर्नासमेत दिएका थिए । त्रिभुवन विश्वविद्यालयमा समान ज्याला र सेवा सुविधाको माग गर्दै आंशिक प्राध्यापकहरू २०७६ को चैत ६ गतेदेखि नै आन्दोलनरत छन् । अहिले उनीहरूलाई प्रति पिरियड ३ सय ५० रुपैयाँ पारिश्रमिक दिने गरिएको छ । त्यसमा पनि १५ प्रतिशत कर कटाउन गरिएको छ । आंशिक प्राध्यापकका समस्या समाधान गर्न विगतमा कार्यदल गठन गरी प्रतिवेदन समेत तयार पारिसकिएको छ । तर त्रिभुवन विश्वविद्यालयको नवनियुक्त पदाधिकारीले समस्या समाधानमा तत्परता देखाउनु सट्टा उल्टै कार्यविधिको मर्म र संघले प्रस्तुत गरेको व्यवस्थापनको आधार विपरीत कार्यविधि ल्याएको संघले आरोप लगाएको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ १६, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update