Shittalpati
कोरोना र मनोवैज्ञानिक त्रास

यतिबेला विश्व नै कोरोनाले आक्रन्त छ । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसले विश्वभर त्रास बढाइरहेको छ । कोरोना भाइरसका कारण नेपालमा पनि धेरैले ज्यान गुमाउनुपरेको छ भने, मनोवैज्ञानिक रूपमा भयानक त्रास फैलिसकेको छ । यो भाइरस अन्य महामारी रोगजस्तो होइन । यसको औषधी पनि बनिसकेको अवस्था छैन । नेपालमा जति भय हुनुपर्ने हो, त्योभन्दा धेरै भय बढेको छ । यसो हुनुको कारण ‘हल्ला’ हो । भय बढाउनुमा हल्लाको भूमिका छ । मानिसलाई डर र त्रासको चासो बढी हुन्छ । हरेक मानिसका दिमाग पनि कोरानाको भ्रम र भयले भरिएका छन् । मानिसको दैनिक जीवन नै कोरानाले कुँजिएको छ । सामाजिक सम्बन्धहरू खल्बलिएको अवस्था छ ।

विश्व अर्थतन्त्रमा कसैले नसोचेको गिरावट आएको छ । होटेल, पर्यटन, मनोरञ्जन जस्ता चलायमान उद्यमहरू अस्तव्यस्त छन् । स्कूल तथा कलेजसमेत बन्द भएका छन् । औसत मानिसको गुजारा नै संकटमा पर्ने खतरा देखिएको छ । जसले गर्दा मानिसमा मनोवैज्ञानिक असर देखा पर्न थालेको छ । मृत्यु र बिरामीको अंकगणित आफ्नो ठाउँमा छ तर यसले आम मानिस र समाजमा सिर्जना गरेको त्रास र संकट निकै कहालीलाग्दो छ । कोरोनाबाट मर्नेहरूको संख्या भन्दा धेरै गुना बढी संख्यामा मानिस अरू सामान्य रोग र दुर्घटनाबाट दैनिक मरिरहेका छन् । मृत्युको अंकभन्दा खतरनाक पक्ष के हो भने कोरोनाले सारा दुनियाँमा कोलाहल मच्चाएको छ । कयौं देशहरूले भिसा स्थगन गरेका छन् र यात्रामा रोक लगाएका छन् । घरघरमा मानिसहरू क्यारेन्टाइन भएका छन् । यति भयानक त्रास, स्वाइन फ्लु, डेंगुजस्ता महामारीका बेला फैलिएको थिएन् । यस्तो त्रासले मानिसमा नराम्रोसँग मनोवैज्ञानिक प्रभाव परेको छ । कोरोनाको विषयमा सामाजिक सञ्जालले मुख्य भूमिका खेलेको छ । सामाजिक सञ्जालहरुमा सानो कुरालाई पनि बढी प्रचारबाजी गरेका कारण नै मानिसमा मनोवैज्ञानिक असर देखा परेको छ । यसो हुनु गलत हो । क्षणिक स्वार्थका लागि फैलाइएको प्रचारले गम्भीर मनोवैज्ञानिक असर गर्दछ । तसर्थ यस्ता विषयमा सबैले ध्यान दिन जरुरी छ ।

प्रकाशित मिति: मंगलबार, भदौ १६, २०७७  १०:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update