Shittalpati
कमजोर प्रतिपक्ष

पछिल्लो समय प्रतिपक्षका रूपमा काँग्रेसको उपस्थिति निकै कमजोर रहेको देखिएको छ । प्रमुख प्रतिपक्षी दल भनेको मुलुकको शासन सत्ताको वैकल्पिक शक्ति हो । सत्ताबाट गलत काम हुँदा खबरदारी गर्ने, सरकारले गति लिन नसक्दा झक्झक्याउने संवैधानिक दायित्व प्रतिपक्षको हो । प्रतिपक्षले त्यसतर्फ चासो दिन नसक्नु नेतृत्वको अक्षमता हो । जनताले सधैँ संसद बायाँतर्फ रहनेको भूमिका नै खोजेको हुन्छ । किनकि त्यो जनताको आवाज बोेल्ने स्थान हो । सरकारलाई नाजायज काम गर्नबाट रोक्ने पनि बायाँतर्फ रहने विपक्षीकै हो । मूल निर्वाचनयता काँग्रेसले संसद् र सडकमा खेलेको भूमिकाका आधारमा उपनिर्वाचनको परिणाम प्राप्त हुने थियो । काँग्रेसको भूमिकाभन्दा पनि सत्तारूढ नेकपाप्रति जनताका आशा र भरोसा कम भएको देखिएको थियो । पुराना लोकतान्त्रिक दलका नेताहरूले आफूलाई सच्याएर सहकार्यमा जोड दिनुपर्छ । चुनावमा नराम्रोसँग बढारिएर यहाँसम्म आइपुगेको कांग्रेस अझै आन्तरिक खिचातानीमै रुमल्लिइरहेको छ । अर्को शब्दमा दलभित्रै लोकतान्त्रिक पद्धतिको अभ्यास गर्न सकिरहेको छैन । सरकार दुईतिहाई समर्थनमा अविछिन्न अघि बढेको छ । तर, मुलुकको प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको यति बेलाको भूमिकाप्रति जनता धेरै निराश छन् ।

सरकारबाट भएका कतिपय खराब काम विरुद्ध खबरदारी गर्न नेपाली कांग्रेस चुकेको महशुस जनताले गरेका छन् । कोरोना नियन्त्रणकै सन्दर्भमा पनि सरकार गतिहीन देखिएको छ । सरकारलाई झक्झक्याउन समेत प्रतिपक्षी नेपाली काँग्रेसले नसकेको महशुस पनि जनताले गरेका छन् । प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा भागबण्डामा अल्झेको टिप्पणी मिडियाहरूमा आउन थालेको छ । प्रधानमन्त्री ओली र प्रमुख प्रतिपक्षी दलका नेता देउवाबीच भेटघाट नभएका होइनन् । महिनामा एक÷दुई पटक भेटघाट हुने गरेकै छन् । तर, भेटघाटका क्रममा प्रमुख प्रतिपक्षी दलका नेता देउवाले प्रधानमन्त्रीलाई यी सुझावहरू दिए भन्ने जनताले सुन्न पाएका छैनन् । प्रमुख प्रतिपक्षी दलका नेताको भूमिका निर्वाह गर्ने मामिलामा त काँग्रेस सभापति देउवा चुके चुके, आपैmले नेतृत्व गरेको पार्टी नेपाली काँग्रेसलाई व्यवस्थित रूपमा अघि बढाउने मामिलामा पनि सभापति देउवा चुकेका छन् । मुलुकमा तीन तहका सरकारहरू छन् । संघीय तहको सरकारलाई खबरदारी गर्न मात्रै होइन, प्रदेश तह र स्थानीय तहका सरकारलाई खबरदारी गर्ने मामिलामा समेत नेपाली काँग्रेस चुकेको छ । प्रतिपक्ष कमजोर भएको मौका छोपी नेकपा सरकारले आफु अनुकुलका निर्णयहरु गर्दै देश र जनतालाई अधोगति तिर धकेल्न थालेको छ । यस्तो अवस्थामा प्रतिपक्ष अब चुप लागेर बस्नु हुँदैन ।

प्रकाशित मिति: सोमबार, भदौ १५, २०७७  १०:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update