Shittalpati
स्थिति भयावह नबनोस्

नेपालमा कोरोना संक्रमण दोस्रो चरणमा प्रवेश गरिसकेको छ । पछिल्लो समय कोरोना नियन्त्रणमै आएजसरी मानिसहरु पूर्ववत् अवस्थामा फर्किन थालेका छन् । जब कि कोरोना भाइरसको जोखिम भने पछिल्ला दिनमा अझै बढ्दै गइरहेको छ । नेपालमा दैनिक हजार भन्दा माथि संक्रमितको संख्यामा देखा परिरहेको छ भने, ११/१२ जनाको मृत्यु हुने गरेको तथ्याङ्क छ । जतिसुकै सिमामा कडाइ गरिएको भनिएपनि विहारबाट नेपाल भित्रिने क्रम चलिरहेको छ । यस्तै लुकिछिपी नेपाल प्रवेश गर्नेहरुबाटै नेपालमा संक्रमण बढेकोमा दुईमत छैन । भारत तथा तेस्रो मुलुकबाट आउनेहरुबाट संक्रमण समुदायमा फैलिन थालेपछि देशका विभिन्न जिल्लामा निषेधाज्ञा नै जारी गरिएको खबर सार्वजनिक भएका छन् । सरकारले सुरूवातदेखि नै कोरोना भाइरस (कोभिड–१९) को व्यवस्थापनमा गलत रणनीति अपनाउँदा नेपाली जनताका लागि कोरोना निकै महँगो सावित भयो । पछिल्लो समय त स्वास्थ्यकर्मी र सुरक्षाकर्मीमा संक्रमण बढेको पाइएको छ । समुदायसँग प्रत्यक्ष हेलमेल हुनुपर्ने सुरक्षाकर्मी नै असुरक्षित बनेपछि समुदायमा त्रास बढ्नु स्वाभाविकै हो । संक्रमण बढी देखिएका क्षेत्रमा पर्याप्त सावधानी अपनाउँदै परीक्षणको दर बढाउनुको विकल्प पनि देखिँदैन ।
देशमा संक्रमण व्यापक बन्दै जानु नेपालीका लागि चिन्ताको विषय हो । संक्रमणको अवस्था अनुसार जोखिमपूर्ण ठाउँहरुमा बन्दाबन्दी वा निषेधाज्ञा जारी गर्नुको अर्को विकल्प पनि छैन । सरकारले आवश्यक व्यवस्थापन र महामारी विरुद्ध सुरक्षित हुन आवश्यक रणनीति बनाएर कदम चाल्न ढिला भइसकेको छ । सरकार सुरुवातमा कोरोना व्यवस्थापनमा चुक्दा र क्वारेन्टाइनको व्यवस्थापनमा लापरवाही हुँदा संक्रमणले विकराल रुप लिदै गएको छ । अब पनि स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रको विषयमा सरकारले सोचेन भने देशमा तीन तहको सरकार रहेको औचित्य रहँदैन । जनताले सरकारको उपस्थितिको अनुभूति गर्ने पनि यस्तै समयमा भएकाले उपयुक्त राहतको व्यवस्थापन, औषधी उपचार तथा परीक्षणको व्यवस्था र जनताको पीडामा सरकार सँगसँगै छ भन्ने कुराको अनुभूति दिलाउनु जरूरी देखिन्छ । यस्तो हुन सकेन भने देशमा अझ भयावह अवस्था सिर्जना नहोला भन्न सुकिदैन । तसर्थ तीनै तहका सरकारले संक्रमणको भयावह अवस्था आउन नदिनका लागि तत्कालै दीर्घकालिन योजना बनाएर काम गर्न ढिलाई गर्नु हुँदैन ।

प्रकाशित मिति: आइतबार, भदौ १४, २०७७  १०:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update