Shittalpati
उपचार नपाएर कोही मर्न नपरोस्

विश्वभर फैलिएको कोरोना महामारीले नेपाललाई पनि आक्रान्त पारेको छ । पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएको छ भने मृत्यु हुनेहरुको संख्या पनि डर लाग्दो अवस्थामा वृद्वि भएको छ । अहिले संक्रमण समुदायस्तरमै पुगिसकेकाले अवस्था थप जटिल बन्दै गएको छ । कोरोनाका कारण दिर्घरोगीहरु बढी प्रभावित बनेका छन् । संक्रमण देखिएपछि देशका ठूला–ठूला अस्पतालहरु सिल गरिएको छ । जसका कारण अन्य रोगका विरामीहरुले उपचार नपाएर ज्यान गुमाउनु परेको छ । प्रायः विपन्न परिवारहरुले नै यस्तो अवस्थामा भोग्नु परेको छ । क्वारेन्टाइनमा नै औषधी खान नपाएर मृत्यु भएका, अस्पताल चहार्दा चहार्दै मृत्यु भएका, गर्भवती महिलालाई अस्पतालमा भर्ना नलिइ फर्काइएका त कैयौँ समाचारहरु आएका छन् । कोरोना महामारी यता हरेक दिन गरिब तथा विपन्नहरुले रोगसँग जुध्दाजुध्दै अकालमै मृत्युवरण गर्नु परेको, अस्पतालको मुखै नदेखी प्राण त्याग गरेका, उपचार नपाएर मृत्यु भएका समाचारले सरकार गम्भीर नबुन्नु दुखद् हो ।
विगतमा पनि गरिबीका कारण उपचार खर्च अभावले अस्पतालबाट हाम फालेर आत्महत्या गर्नु परेका, उपचार खर्च तिर्न नसक्दा महिनौसम्म अस्पतालमै रहनु परेका, एम्बुलेन्स चढ्ने पैसा नहुँदा ज्यान फाल्नु परेका, हरेक दिन जीवनरक्षाका लागि अपिल गरिएका खबरले सरकारलाई दुख्ने गरेको थिएन । कोरोना कहरमा त यो समस्या झनै बढेर गएको छ । केही दिन अघि मात्र रुपन्देहीको गैडहवा गाउँपालिका–३ का एक पुरुष लडेर घाइते भएका थिए । उनको उपचार नपाएरै मृत्यु भयो । भैरहवा युनिभर्सल मेडिकल कलेजमा भर्ना गरिएका उनको भदौ ५ गते कोरोना पुष्टि भएपछि भीम अस्पताल पठाइएकोमा कोरोनाको जोखिमका कारण अस्पतालले भर्ना लिन नमानेर ज्यान गुमाएका उनी एक प्रतिनिधि पात्र मात्र हुन् । पछिल्लो समय यस्ता घटनाहरु बढी नै रहेका छन् । सामान्य बिरामीहरुको उपचार नपाएर मृत्यु भएको घटनाहरु बाहिर सार्वजनिक भइरहेका छन् । यस्तो हुनु दुःखद् हो । यस्तो अवस्थामा सरकार नागरिक प्रति संवेदनशिल हुनुपर्दछ । सम्पन्नशाली व्यक्तिहरुले त हेलिकप्टर चार्टर गरेर पनि सुविधा सम्पन्न अस्पतालमा पुर्‍याएर बिरामीको उपचार गराइरहेका हुन्छन् । ती भाग्यमानीहरु संयोगले जोगिएका पनि छन् । तर, विकल्पहीन बनेका कयौं बिरामीले अस्पतालको मुखै नदेखी ज्यान गुमाउनु परेको अवस्था छ । यस्ता परिवारका लागि सरकारले गम्भीर भएर सोच्नुपर्ने बेला आएको छ । अन्था उपचार नपाएरै धेरै नागारिकले अकालमै ज्यान गुमाउनुपर्ने अवस्था सिर्जना नहोलान भन्न सकिदैन ।

प्रकाशित मिति: बिहीबार, भदौ ११, २०७७  १०:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update