Shittalpati
देउवाको मनोनयन : बेमौसमी बाजा

प्रकाश नेपाल

शेरबहादुर देउवाले केहि दिन अगाडि पार्टीको विभागहरुलाइ पूर्णता दिए । यस विषयमा धेरै टिका टिप्पणी पनि भए । पार्टीका बफादार सच्चा कार्यकर्ता मध्य केहिले मनोनित पदलाई अस्विकार गरे । यस विषयमा धेरै जिल्ला सभापतिहरुले असन्तोष एवं विमती पनि राखेका छन् । देउवा आफ्नो केन्द्रिय सभापतिमा बहुमतमा छन् । उनले यो अहिले गरेको कार्य महाअधिवेशन भएको छ महिना पछाडी गर्न केहि कुनै विधानले रोक तोक गरेको थिएन् । यसैले उनले आफ्नो पदावधी सकिएर थप गरिएको समयमा विभाग गठन गर्नु र गठित विभागलाई पूर्णता दिन भनेका लगन पछिको पोते जस्तै हो तिहारमा भैली र देउसीको समयमा राता साडी लगाएर तिजको गीतमा नाच्नु कति सान्दभिक होला ? पार्टीको विधान २०१७ को धारा २५ को उपधारा ९ बमोजिम गठन गरेको भनेर भने पनि त्यसमा महाअधिवेशन भएको ६ महिना भित्र विभाग गठन गरिसक्नु पर्ने उल्लेख छ । यहि कार्य देउवा भन्दा अघिका शुशिल कोइरालाले महाअधिवेशन भएको दुई वर्ष पछि विभाग गठन प्रक्रिया अगाडि बढाउँदा यहि देउवा र उनको संगठनले कोइरालाको चर्को आलोचना गरेको सेलाएको छैन । पार्टी भित्र आफुलाई हिजोको ज्ञानेन्द्रको स्वरुप ठान्ने यिनी देउवाले आफ्नो नियमित ४ वर्ष कार्यकाल सकिए पछि थपिएकोे एक वर्षे कार्यकालमा विभागलाई गठन गर्ने प्रक्रियाको पार्टीका शिर्ष नेताहरुले विरोध गरेका हुन् । देउवा पार्टीका लागि लायक भन्दा नालायक नै देखिए । देउवा पार्टीको इतिहासमा सबै भन्दा भष्ट्र सभापतिका रुपमा आफुलाई प्रस्तुत गरे ।

पार्टी महाअधिवेशनको कार्य तालिका सार्वजनिक भएको बखतमा आगामी महाअधिवेशनलाई लक्षित गरेर जुन हर्कत गरे । यसको परिमाण र परिणति देउवाले संसदीय निर्वाचनमा भोग्ने छन् । आगामी महाअधिवेशनबाट पुनः सभापति बन्ने त्यसपछि आफ्नो विरासत श्रीमती तर्फ उन्मूख गराउन पनि खोजेका छन् । यो पनि मनको लड्डु घिउ सित खानु जस्तै हो । पार्टीको जग मानिने नेपाल विद्यार्थी सघं कति जनामा सिमित छन् । नेविसघं अब जिल्ला तहमा खोज्न चम्किलो बत्ती बाल्नु पर्ला । यस पछि तरुण दल २/४ जनामा सिमित छन् । भात्तृ संस्थाको शुभेच्छुक संस्थाको निर्वाचन गराउन नसक्ने नालायक सभापतिबाट पार्टी राम्रो होला भनेको सुगुरले आकाश देखे जस्तै हो । उनले आफ्नो स्वार्थ पूर्ति हुन्छ भने जोसँग जस्तो पनि सझौता गर्न पछि पर्दैनन् । उनी संस्थागत भन्दा व्यक्तिगत संसारमा रमाउने भएकाले आज नेपाली काँग्रेसको यो अवस्था आएको हो ।

काँग्रेसका लागि यो समय संगठन बलियो बनाउन राम्रो हो । सरकारले गरेका कार्यहरु आम जनता सामु लैजाने यो समय यो स्वर्णिम समय हो । तर विडम्वना वाइडवडि विमान प्रकरण मुद्दा, ३३ किलो सुन, बालुवाटार जग्गा प्रकरण जस्ता ठूला ठूला भ्रष्टाचारका काण्डमा पार्टी सभापति देउवा नै जोडिन पुग्दा काँग्रेसका इमान्दारी कार्यकर्ताको शिर लाज ले निहुरिन्छ । त्यसैले नयाँ पुस्ताका कार्यकर्ताको नेतृत्वबाट कस्तो के अपेक्षा गर्ने प्रश्न यहाँ हो । देउवाले मनोनयन गरेका संयोजकहरुको चेहरा राम्रोसंग निहालौं त ? प्रत्यक्ष निर्वाचनमा विजय हुन नसक्ने, जनमत नभएकाको बाहुल्यता छ हुन त देउवाले गठन गरेको विभागले राम्रो पद पाए, पार्टीले मेरो लगनशिलता प्रति कदर ग¥यो भनेर क्षणिक संसारमा रमाउनेहरुका लागि यो पद दिपेन्द्रलाई राजा घोषणा गरे जस्तो हो । फेरी विभिन्न विभागका संयोजक, सदस्य प्रतिको यो बबुरोको कुनै आग्रह प्रतिग्राह छैन । देउवाको प्रवृतिको आलोचना मात्र गरेको हो । देउवालाई इतिहासले पनि माफी दिन सक्नेछैन । उनले यति ठूलो गल्ती गर्दा पार्टीले संघीय, प्रदेश निर्वाचनमा नराम्रो गरी पराजयको सामना भोग्नु परेको घाम जस्तै छर्लाङ भएको छ । तत्कालिन माओवादीका अध्यक्षको राजनिति गर्ने ठाउँ नै थिएन । त्यसको बलियो जग देउवाले नै बसाले । चितवन काँग्रेसका लागि उर्भर भूमी हो । पञ्चायत कालिन समयदेखि नै बलियो ठाँउ थियो । तर यहि देउवाको समयमा चितवनका कार्यकर्ताले आफनो उम्मेदवारलाई मतदान गर्ने अधिकार हरण गरिदिए र बादरमुडे घटनाको माडी बासीलाई फेरी सम्झना गराइदिए । यसैले देउवालाई पार्टीको भन्दा एउटा गुट, झुण्डको सभापति भन्दा फरक नपर्ला । देउवालाई सुझाव दिने हुक्के, ढोकेहरु पनि जनमत गुमाएका ब्यक्ति हुन् । यस्तो स्वर्णिम अवस्थालाई कसरी प्रयोग तथा उपयोग गरी पार्टीलाई कसरी बलियो बनाउने र आउँदो निर्वाचनमा ठूलो पार्टी बनाउने कसरी भन्दा पार्टी कसरी कब्जा गर्ने ध्यान छ र उनका सल्लाहाकारहरुले पनि यहि नै सल्लाह दिएका छन् । जसले काँग्रेसलाई प्रति दिन अघोगती तर्फ डो¥याउदै छ । त्यहि पुनः नेतृत्वको लागि बेमौसमी बाजाको तालमा नृत्य प्रस्तुत गरेको छ । वर्तमान सरकार गठन भएपछि जन अपेक्ष अनुरुप काम भएको छैन् । यस्तै कोरोनाले भाइरसले आक्रान्त पारेको बेलामा सरकार संवेदनशिल पटक्कै छैन् । स्वस्थ्य सामग्री खरिद प्रकरणमा प्रधानमन्त्रीका सल्लाहाकार, रक्षा, स्वास्थ्य मन्त्रीका पुत्र सम्मिलित ओम्नी गु्रपको भ्रष्टाचारको विषयमा ओलीले देउवाको कान फुकेका थिए । त्यस पछि देउवाको वाक्य बन्द भयो । यस्तो छ काँग्रेसको नेतृत्वको हविगत  । यस्तो हँुदा हुँदै देख्दा देख्दै सुन्दा सुन्दै देउवालाई नेतृत्व दिनुपर्छ भन्नु आफ्नो खुट्टामा आफैले बन्चरो हान्नु जस्तै हो । अमेरिकी सहयोग एमसिसीको विषयले पनि देउवाका लागि प्रति उत्पादक बन्ने छ । यो सत्य हो । हुन त उनको बाँकी रहेको शाख त प्रधानमन्त्री भएका बखत गुमाए । प्रधानमन्त्री भएका बखतमा कहिले हलो कहिले हसिया हथौडामा मतदान मात्र गराएनन् । उनले शुशिला कार्की प्रकरणमा बहादुरी प्रस्तुत गरी तक्मा लगाए त्यसै गरी प्रहरी महानिरिक्षक प्रकरणमा समेत ख्याती कमाएर बदनामको भारी बोके । यस्ता यस्ता क्रियाकलापले नै काँग्रेस निर्वाचनमा पराजय हुनका लागि मद्दत पुगेको हो । स्पष्ट रुपमा सरकार नेतृत्व गर्दाको बखतमा होस् वा पार्टी नेतृत्व रहँदा सदैव विवादमा आउने काम गर्ने ब्यक्तिबाट कस्तो अपेक्षा गर्ने कुरा यहाँ हो ।

भारतमा कुनै समय काग्रेसको दबदबा थियो । तर आज यहि पार्टिका कार्यकर्ताको शिला खोज्नु पर्ने हुन्छ । हो आज नेपालमा पनि देउवाले नेपाली काँग्रेसलाई यहि अवस्थामा नपु¥याउलान भन्न सकिदैन । आफ्नो स्वार्थ सिद्ध हुन्छ भन्ने उनीले जस्तो सुकै सम्झौता गर्न पछि नपर्लान । पार्टीमा देउवाको लगानी छ । लगानीको ब्याज सावा उठाई सकेका छन् । त्यसैले पार्टीको सल्लाहाकार भएर बस्दा देउवाको कल्याण हुनेछ । (लेखक जिल्लाका क्रियाशील एवं समसामयिक विषयमा खरो रुपमा कलम चलाउने युवा पत्रकार समेत हुन् ।)

प्रकाशित मिति: सोमबार, भदौ ८, २०७७  १०:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update