Shittalpati
निषेधाज्ञाको अवज्ञा नगरौं

पाल्पामा शुक्रबार रातिदेखि निषेधाज्ञा जारी रहेको छ । छिमेकी जिल्ला र देशमै कोरोना महामरीको अवस्था जटिल बन्दै गएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो । हुन त निषेधाज्ञा गर्दैमा संक्रमण रोकथाम तथा नियन्त्रण हुने त होइन, तर पनि यस बिचमा केही सावधानी अपनाउन सकियो भने पक्कै पनि केही हदसम्म भए पनि रोक्न भने सकिन्छ । सरकारले चार महिना लामो लकडाउन अन्त्य गरेपश्चात् कोरोना संक्रमण र मृत्युदर बढेको पाइएको छ । लामो समय लकडाउन गरे पनि सरकारले त्यसको व्यवस्थापन र आवश्यक इच्छाशक्ति देखाउन नसक्दा नेपाली समाजले त्यसको लाभ लिन सकेन । लकडाउनका कारण कोरोना महामारी नियन्त्रणभन्दा आर्थिक तथा सामाजिक क्षतिमात्र बढी हुन गयो । सरकारले चौतर्फी विरोध र आलोचना बढेपछि मात्र लकडाउन हटायो । लकडाउन हटेसँगै नेपालमा कोरोना महामारीको जोखिम नै नरहेजस्तो गरी सार्वजनिक स्थलमा मानिसको भीड बढ्यो । जनताले कोरोनालाई सामान्य ठानेर जिस्किए । फलस्वरुप अहिले कोरोना संक्रमण समुदायस्तरमा फैलिन थालेपछि सरोकारवाला सबैको टाउँको दुखाइ भएको छ ।

अहिले फेरि संक्रमणको दर बढ्दै गएपछि देशका धेरै जिल्लाहरुमा पूर्ण वा आंशिक रुपमा निषेधाज्ञा जारी गरिएको छ । सम्बन्धित स्थानीय प्रशासनहरुले न्यूनतम स्वास्थ्य मापदण्ड अपनाउन र घर बाहिर ननिस्कन आम नागरिकहरुलाई आग्रह गरेको छ । तर पनि केही स्थानहरुमा नागरिकहरुले नै निषेधाज्ञाको अवज्ञा गर्दै अनावश्यक हिँडडुल गर्ने गरेका छन् । पछिल्लो समय नागरिकहरुले नै लापरवाही गरेका कारण कोरोना संक्रमण समुदायस्तरमा पुगेको भनिएको छ । लकडाउनको अवधिभर कहीकतै यात्रा नगरेका व्यक्तिमा समेत संक्रमण देखिनुले कोरोना समुदायस्तरमा फैलिएको प्रष्ट हुन्छ । अहिले हरेकजसो जिल्ला प्रशासन कार्यालयले विद्यालय सञ्चालन, कुनै पनि भेला र बैठक नगर्न निर्देशन गरेका छन् । दलहरुलाई कार्यकर्ता भेला, बैठक, साधारण सभा, अधिवेशन, पार्टी, भोजलगायत भीडभाड लगायतका कार्यक्रम नगर्न पनि आग्रह गरेको छ । तर, राजनीतिक दललगायत जनसाधारणले प्रशासनको उर्दीलाई अटेरी गरिरहेका देखिन्छन् । कोरोना महामारीबारे व्यापक रुपमा जनचेतना अभिवृद्धि गरी संक्रमण देखिएका क्षेत्र सिल गरी परीक्षण बढाउनुको विकल्प छैन । अब पनि प्रशासनको निर्देशनको अवज्ञा गर्ने हो भने व्यापक जनधनको क्षति भोग्नुपर्नेमा दुईमत छैन । तसर्थ स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाको घरमै बसेर पालना गरौं । आफु र आफ्नो समुदायलाई सुरक्षित राखौं ।

प्रकाशित मिति: सोमबार, भदौ ८, २०७७  १०:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update