Shittalpati
आफै सावधान बनौं

पछिल्लो समय कोरोना महामारीले नेपालमा उग्र रुप लिँदै गएको छ । दिनहुँ ठूलो संख्यामा संक्रमित देखिनु र संक्रमितको मृत्यु हुनुले नेपालमा कोरोनाले उग्र रुप लिएको संकेत पाइन्छ । अहिले नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या हेर्दा आगामी दिनहरुमा यो अवस्था झन विकरा हुँदै जाने देखिन्छ । कोरोनाबाट बच्ने पहिलो शर्त नै ‘सेल्फ क्वारेन्टाईन’ हो । भाइरस घर नपुर्‍याउन घर बाहिर नजाने नै उपाय हो । जीवन वा मृत्यु रोज्ने विकल्प आफनै हातमा छ । सरकारका लागि होइन आफू आफ्ना आफन्त र समाजका लागि घरै बसेर सहयोग गरौँ । देशका धेरै जिल्लाहरुमा कोरोना नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिएको छ । सरकारले निषेधाज्ञा गर्दा कोरोना भाइरसको संक्रमण रोकिने त हैन बढ्ने जोखिम झन् धेरै भएको छ । १ सय २० दिन लामो लकडाउन हुँदा समेत संक्रमणको दर रोकिन सकेको थिएन । अहिले पनि हप्ता दिनको निषेधाज्ञाले संक्रमण रोकिनेवाला छैनन् । सरकारले संक्रमण रोक्नका लागि अन्य विकल्पहरु खोजेकै छैन । खाली बन्द घोषणा गर्ने काममा सरकार तल्लीन देखिन्छ । यसो हुनु पक्कै पनि सरकार जनताप्रति उत्तरदायी रहेको देखिदैन ।

संक्रमण विज्ञहरूले यसै पनि परीक्षणको घेरा साँगुरो बनाएकोमा असन्तुष्टि प्रकट गरेका छन् । परीक्षणलाई सरकारले प्राथमिकतामा राख्न सकेको छैनन् । यो अत्यन्त दुःखको विषय हो । सरकारले संक्रमण देखिए १४ दिनसम्म आइसोलेशनमा राख्न र सो अवधिमा कुनै पनि लक्षण नदेखिए विना परीक्षण घर पठाउन निर्देशन दिएसँगै संक्रमणको फैलावट समुदायस्तरमा पुगि सकेको छ । बिना परीक्षण संक्रमित सोझै परिवारमा जाँदा समुदायमा संक्रमणको जोखिम बढ्दो छ । यथार्थमा सरकारले नेपाली जनतालाई संक्रमणको बाढीमा हेलेर छाडिदिएको छ । भदौ, असोज र कार्तिक चाडपर्वका महिना हुन् । यो समयमा एक ठाउँबाट अर्को ठाउँमा मानिसहरु आवत जावत गर्ने गर्दछन् । अझ भारतमा संक्रमण अत्यासलाग्दो गरी फैलँदो छ । हवाई उडान सुरु भएसँगै विदेशबाट आउनेहरूको संख्या बढ्छ । तिनको परीक्षण हुने व्यवस्था छैन । अहिले बन्दाबन्दीका बेलाभन्दा संक्रमण फैलने जोखिम धेरै गुणा बढेको छ । यसैले हामी प्रत्येक व्यक्ति, स्थानीय तह र समुदाय नै सचेत र जिम्मेवार हुनुको विकल्प छैन । कम्तीमा भिडभाडमा जाँदा सबैले अनिवार्य रूपमा मास्क लगाउने, साबुन पानीले हात धुने र शंका लाग्ने बित्तिकै नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राख्ने गरिरहनुपर्छ । संक्रमणको अर्को लहर फैलियो भने नेपालका लागि त्यो जत्तिको दुर्भाग्य अरु केही हुन सक्दैन । तसर्थ हामी आफैँ नै सावधान बनौं ।

प्रकाशित मिति: आइतबार, भदौ ७, २०७७  १०:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update