Shittalpati
नगरौं तडक भडक

नेपालीहरुका विभिन्न चाडपर्वहरु आँगनमा आइरहेका बेला कोभिड–१९ को महामारीको प्रकोप पनि संगसंगै आइलागेको छ । त्यसकारण यो वर्ष आम सर्वसाधारणहरुले चाडपर्वका नाममा रमाईलो गर्ने, जमघट हुने भन्दा पनि सुरक्षित कसरी बस्ने भन्ने विषय महत्वपूर्ण रहेको छ । विगत वर्षहरुमा भड्किलो तिज मनाउने बानी परेको हाम्रो समाजमा अझै यो महाविपत्का बेला पनि कहि कतैकतै जमघट हुने र नाँचगाँन गर्ने नाममा कोभिड–१९ को संक्रमणलाई सहज हुने खालका वातावरण भई रहेको पाइन्छ । मुस्लिम समुदायले इद मनाउने क्रममा पनि घरमै बसेर सुरक्षित तौर तरिका अवलम्बन गर्ने कार्य भएको थियो, त्यसबाट पनि हामीले पाठ सिकेर जमघटलाई नगरेरै भएपनि संक्रमणलाई कम गर्नुको अर्को विकल्प छैन ।

दरखाने र हरितालिका तिज मनाउने कार्य गर्दा अत्यन्तै सामाजिक दूरी कायम गरेर समुदाय स्तरमै फैलिने डर भएको संक्रमणलाई रोकथाम गर्ने कार्यलाई सहयोग गर्नु नै आजको आवश्यकता हो । निरोगी भएर बाँच्न पाए चाडपर्व अगामी वर्षहरुमा पनि मनाउन पाइन्छ तर संक्रमण भएमा हामीलाई त्यसको निदान अत्यन्तै गाह्रो छ । समयलाई बुझेर आवत–जावत गर्ने, जम्मा हुने, नाँचगाँन गर्ने र जमघट हुने कामलाई पूर्णरुपमा निषेध गर्नु नै आजको आवश्यकता हो । यदि त्यसो गरिएन भने हामी संक्रमणको शिकार हुनुका साथै समाज र आफन्तमै ठुलो असर पर्ने खतरा रहिरहन्छ । त्यसकारण यो पालीको तिज घरमै र एक्लै बसेर मनाउ, संक्रमण रोक्ने कार्यमा सहयोगी बनौँ, अनावश्यक तडक भडक र वर्तमान संक्रमणको त्रासलाई न्यूनीकरण गर्ने खालको सभ्य र शान्त वातावरण युक्त बसाई नै अहिलेको आवश्यकता हो । विशेष गरेर गत एक सातादेखि देशका विभिन्न स्थानमा समुदायस्तरमै कोरोना संक्रमणको भयावह अवस्था प्रति चिन्तित भएर आफ्नो र आम नागरिकको दायित्व निर्वाह गर्ने क्रममा कमी नआओस् भन्नेतर्फ ध्यान जानु आजको आवश्यकता हो ।

प्रकाशित मिति: बिहीबार, भदौ ४, २०७७  ११:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update