
पाल्पा । जिल्लाको रामपुर नगरपालिकाले कोरोना संक्रमणको जोखिम बढेपछि मंगलबार राति १२ बजेदेखि १० दिनसम्म बन्द गर्ने निर्णय गरेको छ । नगरपालिकाको कार्यपालिका बैठकको निर्णयपछि प्रशासन र सुरक्षा निकायसंग छलफल गरि भदौ २ गते (मंगलबार) राति १२ बजेदेखि १२ गते रातिसम्म १० दिन नगरपालिका क्षेत्र बन्द गर्ने निर्णय गरेको हो ।
अति आवश्यक सेवा बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको रामपुर नगरपालिकाका प्रवक्ता हुमनाथ न्यौपानेले जानकारी दिए । उनले औषधी पसलहरु निर्वाध रुपमा खुल्ला रहने जानकारी दिदै तरकारी, दुूधका पसलहरु विहान ५ बजे देखि ९ बजेसम्म र साँझ ५ बजे देखि ७ बजे सम्म खुल्ला रहने बताए । बैंक तथा वित्तिय संस्थाहरु पनि विहान ११ देखि दिउँसो १ बजे सम्म खुल्ला रहने छ । अन्य पसलहरु भने बन्द रहने छ । त्यस्तै अत्यावश्यक सवारी बाहेकका अन्य यातायातका साधनहरु पनि बन्द हुने भएको छ । नगर प्रमुख रमणबहादुर थापाले लकडाउनका एक ठाउँबाट अर्को ठाउँमा आवत जावत गर्ने मानिसहरुले थप जोखिम बढाएकाले १० दिन लकडाउन गरेको बताए । रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम आचार्यले चाडपर्वको बेला भन्दै घरबाट बाहिर नहिड्न र बजारमा जानै परेमा अनिवार्य मास्क र सेनिटाइजर सहितका सुरक्षाको उपाय अपनाउन सबैलाई अनुरोध गरे ।