Shittalpati
सरकार जनता बचाऊ

राज्यसत्ता अर्थात् सरकारका आफ्नै दायित्वहरु छन् । देशभित्रको कुनै पनि भूगोलमा बसोवास गर्ने हरेक नागरिककोे अभिभावकत्व त्यो देशको सरकारले दिनुपर्ने हुन्छ । त्यसैले मूलुक भित्रका हरेक जनताका स्वास्थ्य समस्या र सबै किसिमका महामारीबाट बच्ने र बचाउने उपाय सरकारको हो । सरकार आफ्नो दायित्वबाट पछाडी हट्नु हुँदैन । जनताले कर किन तिरेका हुन् ? यी र यस्तै किसिमका महामारीको बेला सरकार हाम्रो कवच बनेर उभिन्छ भन्ने सोंचले जनताले कर तिरेका थिए । त्यसकारण सरकारले आफ्ना हरेक दायित्व र जिम्मेवारीलाई पूरा गर्नैपर्ने हुन्छ । अहिले सरकारले गर्ने हरेक क्रियाकलाप जनपक्षीय हुनुपर्ने हुन्छ, त्यसका लागि कोभिड–१९ ले थला परेको विश्व समुदाय मध्ये नेपालीहरु पनि अत्यन्तै त्रास र भयावह अवस्थामा छन् । त्यसकारण उनीहरुको त्रासलाई कम गर्न जाँच प्रक्रियालाई अगाडि बढाएर लग्नुपर्ने, संक्रमितहरुको उपचार र सही परामर्श पनि आवश्यक देखियो । पिसिआर जाँचलाई तिव्रता दिनुका साथै समुदायस्तरसम्म जाँचको प्रभावकारितालाई प्राथमिकता दिनुपर्ने हुन्छ । त्यसो नगर्दा कोभिड–१९ समुदायीमाथि नै आक्रामक देखियो । स्थानीय, प्रदेश र संघीय सरकारहरुले गर्ने हरेक क्रियाकलाप जनपक्षीय र जनताका स्वास्थ्य सुरक्षामा केन्द्रित हुनुपर्नेमा त्यसो भएको पाइएको छैन । त्यसकारण पनि यो सरकार अलोकप्रिय बन्दै गएको हो ।

सरकारले कोभिड–१९ महामारीमा केवल लकडाउन र निषेध गरेर मात्रै पनि समस्याको समाधान सम्भव छैन । यी सबै समस्या र जनताको त्रासलाई न्यूनीकरण गर्दै जाँच पड्ताल र संक्रमितका लागि उचित उपचारको व्यवस्थापन गर्दै संक्रमण नियन्त्रणका लागि विभिन्न खालका नयाँ–नयाँ उपायको अवलम्बन गर्नुपर्ने हुन्छ । साथै महामारीका कारण परेको आर्थिक, सामाजिक तथा शारीरिक ताप र त्रासको अन्त्यका लागि सरकारका तर्फबाट आर्थिक प्याकेज, राहत र महामारीका बेला आवश्यक पर्ने हरेक उपभोग्य वस्तुको वितरणलाई सहुलियतपूर्ण अवस्था श्रृजना नहँुदासम्म जनताले सरकार भए नभएको अनुभूति गर्न पाएनन् । त्यसतर्फ सरकारको ध्यान जानुपर्ने देखिन्छ । सरकारले कर असुल्ने प्रयोजनमा मात्र नभएर, बैंकबाट लिएको ऋणको सही व्यवस्थापनका क्षेत्रमा समेत ध्यान दिन सक्ने हो भने निजी क्षेत्रको लगानी सुरक्षण हुने अवस्था रहन्छ । अन्यथा जनता रोग, भोग र शोकले झन् भन्दा झन् समस्यामा पर्ने अवस्था हुने खतरा यथावत नै रहि रहन्छ । त्यसकारण सरकार अब सत्ता भन्दा पनि जनता बचाउने तर्फ ध्यान देऊ ।

प्रकाशित मिति: मंगलबार, भदौ २, २०७७  १०:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update