Shittalpati
कोरोना नियन्त्रणमा तदारुकता देखाऊ

नेपालमा चार महिना लामो लकडाउन खुला गरेसँगै कोरोना संक्रमितको संख्या झन तिव्र गतिले वृद्धि हुँदै गएको छ । यति बेला संघीय राजधानी काठमाडौंमा कोरोना संक्रमणको अवस्था झन् भयावह बन्दै गएको छ । काठमाडौंमा दिन दुगुना र राता चौगुनाका दरले संक्रमित बढिरहेका छन् भने पर्याप्त पूर्वाधारको अभावले संक्रमितको उपचारदेखि आइसोलेशन, क्वारेन्टाइनलगायत कुनै पनि सुविधामा ढुक्क हुने अवस्था छैन । काठमाडौंमा संक्रमण बढ्दै गर्दा यसबाट उत्पन्न हुने समस्याको समाधान निकाल्नुको कुनै विकल्प छैन । कतिपय देश यो महामारीको चपेटाबाट निक्लिसके, केही देश यसको प्रभावबाट निस्कन संघर्षरत छन् । विभिन्न देशले आफ्नो देशको स्रोतसाधन र महामारीको स्तरअनुसार विज्ञहरुको सुझाव लिएर सो अनुसार बच्ने वा नियन्त्रण गर्ने उपाय अवलम्बन गरिरहेका पनि छन् ।

कतिपय देशले लकडाउनको सहारा लिएका देखिन्छन् भने केहीले बिना लकडाउन नै कोरोना नियन्त्रण गरेका छन् । तर सारमा यी दुवै तरिकाको मुख्य उद्देश्य भनेको भौतिक र सामाजिक दुरी कायम राख्नु र कन्ट्याक्ट ट्रेसिङ गर्न सहज वातावरण बनाउनु नै हो । नेपालले पनि चार महिना लकडाउनको उपाय नअपनाएको भने होइन तर संक्रमितको संख्या स्थिर हुनुको साटो बढ्दै गएको छ । यो अत्यन्त दुःखद हो । संक्रमण नियन्त्रण नै अहिले तीनवटै तहका सरकारको पहिलो प्राथमिकता हुनु आवश्यक छ । कोरोना नियन्त्रणका लागि लकडाउन मात्र विकल्प होइन भन्ने हामीलाई विगतको अनुभवले देखाइसकेको छ । अहिले भारतसँग सीमा जोडिएका तराई मधेसका केही जिल्लामा निषेधाज्ञा र केही स्थानीय तहले लकडाउन नै गरेका छन् । यस्तै एकाध पहाडी क्षेत्रमा पनि निषेधाज्ञा जारी छ । यसरी जहाँ संक्रमण देखिएको छ, त्यहाँ मात्र लकडाउन गर्ने विधि प्रभावकारी हुन्छ र विश्वव्यापी अभ्यास पनि यही नै हो । अहिलेका पूर्वाधारले यो नियन्त्रण त्यति सम्भव नभए पनि भोलिका दिनमा भने पूर्वाधार थप गरेर र परीक्षण बढाएर तथा क्वारेन्टाइन, आइसोलेशन तथा उपचारको बन्दोवस्त गरेरै यसलाई नियन्त्रणमा राख्ने कार्यमा तीनै तहका सरकारले तदारुकता देखाउन जरुरी छ ।

प्रकाशित मिति: शुक्रबार, साउन ३०, २०७७  १०:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update