Shittalpati
युवा लक्षित नीतिको आवश्यकता

विश्वभरका राष्ट्रहरुले बुधबार अन्तर्राष्ट्रिय युवा दिवस मनाएका छन् । १९९९ देखि विश्वभरिका राष्ट्रहरूले उत्सवका रूपमा यो दिवस मनाउँदै आइरहेका छन् । संयुक्त राष्ट्र संघले युवाका मुद्दाहरूलाई स्थापित गर्न प्रत्येक १२ अगस्टलाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा घोषणा गरेको हो । विगतका वर्षहरूमा विभिन्न युवा सम्बन्धी नाराहरू तय गरी औपचारिक कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको यो दिवसको यस वर्ष भने विश्वभर फैलिएको कोरोना महामारीका कारण युवाहरुलाई सहभागी गराएर औपचारिक कार्यक्रम भने गर्न सकिएनन् । सामान्य अर्थमा व्यक्तिलाई उमेरका आधारमा गरिने पहिचान अनुरुप बाल्यावस्था पार गरिसकेका र प्रौढावस्थामा पुगिनसकेका समूहका व्यक्तिलाई युवा भनिन्छ । युवा त्यो उमेर समूह हो जसमा राष्ट्रको भविष्यका कर्णाधार वर्तमानका साझेदार तथा विकास र परिवर्तनका संवाहकको सामथ्र्य रहेको हुन्छ । राष्ट्र निर्माणमा सबै उमेर र अवस्थाका व्यक्तिहरुको भूमिका महत्वपूर्ण मानिने सन्दर्भमा युवाहरुको भूमिकालाई अझ अर्थपूर्ण र क्रियाशील रुपमा हेरिन्छ । युवालाई सिर्जनशील, सीपयुक्त, उद्यमी र जिम्मेवार नागरिकको रुपमा विकसित हुने अवसर सरकारले सिर्जना गर्नुपर्दछ ।

हरेक देशमा भएका आर्थिक, सामाजिक, राजनीतिक परिवर्तनमा युवा शक्तिको निर्णायक सहभागिताका कारण परिवर्तन सम्भव भएबाट सरकारले निर्माण गर्ने कानुन, नीति एवं कार्यक्रममा युवा र उनीहरुका सरोकारका विषय सम्बोधन हुन आवश्यक छ । आजका युवा नै भोलिका राष्ट्रका कर्णधार हुन् । उनीहरूलाई उचित शिक्षा दिक्षा, रोजगारको व्यवस्था गरी नेपालको शान्ति र समृद्धिमा सरिक गराउनु आजको आवश्यकता हो । युवा दिवस मनाउनुको सार्थकता पनि यसैमा छ । मुलुकको आर्थिक, सामाजिक, राजनीतिक र शैक्षिक क्षेत्रमा युवाहरुको सक्रिय सहभागिता रहेको छ । कृषि तथा उत्पादनमूलक क्षेत्र र श्रम क्षेत्रमा पनि युवाहरुको उपस्थिति ठूलो छ । अध्ययन, रोजगारी, जीविकोपार्जन र अवसरको खोजीका लागि धेरै युवाहरु शहर केन्द्रित भइरहेका छन्, भने कतिपय युवा विदेश पलायन भइरहेका छन् । विगतमा युवा र उनीहरुका सरोकारका विषयलाई सरकारका नीति, कानुन एवं कार्यक्रमले सही रुपमा सम्बोधन गर्न नसक्दा अवसरको खोजीमा विदेश जाने र उतै पलायन हुने समस्या नेपालमा टड्कारो रुपमा रहेको छ । देशमा शिक्षा, रोजगारी तथा अन्य अवसरहरुको अभावमा देशको प्रमुख उर्जाको रुपमा रहेका युवाहरु विभिन्न कारणले पलायन हुने अवस्था ज्यादै विचारणीय पक्ष रहेको छ । यसर्थ यस्तो अवस्थामा युवाका विभिन्न अधिकारहरुलाई सही रुपमा सम्बोधन गरी उनीहरुको ज्ञान, सीप र अनुभव, र सिर्जनशीलतालाई राष्ट्रिय विकासमा मूल प्रवाहीकरण गर्नेतर्फ सरकारले नीति तथा कार्यक्रमहरु
लक्षित गर्नु आवश्यक छ ।

प्रकाशित मिति: बिहीबार, साउन २९, २०७७  १०:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update