Shittalpati
गाईजात्रे व्यङ्ग्य : धानखाने सलह भन्दा धनखाने सलह खतरा !

लालकाजी शाक्य

देशमा कोरोनाको महामारी र सिमा, नक्साको विवाद चलिरहेको बेला फेरी अर्को संकट भित्रियो सलह ! सलहको मार भोगिसकेकालाई केही डर, त्रास, भएन ! नयाँ पुस्तालाई भने यस्ले ठूलै त्रासमा पार्‍यो । सलहलाई रोकथाम गर्ने अनेकौ सल्लाह सरकारले दियो । त्यसमध्ये हाँसो उठ्दो बचाउने तरिका हो झुल ! यो मेरो भनाई हैन, हाम्रा कृषि मन्त्री र कृषि प्रमुखहरुको भनाई हो । हाम्रा मन्त्री र कृषि प्रमुखहरुको ठूलो झुलको कारखाना छन् कि के हो ? आफ्नो कारखानाबाट उत्पादित झुल विकाउन यस्तो प्रचारवाजी गरेकै हो त ? यस्ता वकुमफुसे कुरा गर्ने जिम्मेवार व्यक्तिलाई लाज सरम नै लाग्दैन कि कुन्नी । कोरोनाको भार, लकडाउनले जनताको आर्थिक श्रोतमा धक्का परेको बेला सलहबाट जोगिन झुल त्यो पनि खेतबारी ठाक्ने त्यत्रो झुल कहाँबाट किन्ने ? सरकारले पक्कै दिदैन ।

बालीनाली खाने सलह भन्दा देशभित्र र देश बाहिरका सलह जनताको लागि खतरा छ । चाहे पत्याउनुस्, चाहे नपत्याउनुस् यो शतप्रतिशत सहि कुरो हो । मेरो ब्रह्मले देखेको, खुरुक्क, सुटुक्क, तपाई समक्ष पु¥याउने जमर्को गर्दैछु । विश्वास गर्नुस् देश भित्रको सलह र विदेशी सलह तपाई हामीलाई भिखमङ्गा बनाई न यताको न उताको बनाउन सक्छ । तपाई भन्नु होला कसरी ? यि यसरी ! दुई ठूला–ठूला सलह हाम्रो देश सिमा कचर कचर गरेर चपाँउदै कैयौँ कि.मि. खाएर भ्याई सके ! हामीले यहाँ थोत्रो गाला बजाएर, चिच्याएर, केही गर्न सक्दैनौ । त्यस्ता ठूला देख्दैमा भयंकर सलहदेखि नेपाली, जनता डराउनु स्वाभाविक नै हो । आज नेपाली हौँ भनेर गर्व गर्ने बहादुर नेपाली, भोलि देशलाई नै चपाएर नेपाली हैन भारतीय नागरिक भएको, पक्कै देख्ने छौँ । उत्तरी भेगबाट लाग्ने सलह केहि कमजोर भएपनि दक्षिणबाट भित्रिने सलह सबै भन्दा खतरा यो देशलाई छ । यस्ता सलह धपाउने हिम्मत न उहिलेका सरकारसँग थियो, न त आज छ , न त भोलि हुनेछ ! त्यही कारण भोली नेपाली नागरिक हैन भारतीय नागरिक भन्नुपर्ने पक्कै छ । त्यहि भएर नै त विदेशी सलहलाई धमाधम, नेपाली नागरिक सरह, नागरिकता प्रमाण पत्र दिइरहेछन् । त्यति मात्र होइन, भविष्यमा आफूलाई खतरा भएमा विदेशमा जान सजिलो होस् भनेर दोहोरो नागरिकता लिनलाई सजिलो बाटो बनाईएको छ । अझै भन्ने हो भने कतिपय नेताले दोहोरो नागरिकता प्रमाण पत्र खुसुक्क लिई सकेक छन् । विरोध गर्ने कसले ? जनता भनेको नेताको पुच्छर समाएर बैतड्नी पार गरे जस्तै चुपचाप लाग्छन् । आफ्नो पार्टी नेताले जति भ्रष्टाचार, अत्याचार गरेपनि अन्धो बनेर कालो चश्मा लगाएर अँधेरो छिडीमा लुकेर बसेका छन् । यस्ता कार्यकर्ता र नेताले देश बनाउने सोच्दै नसोचे हुन्छ । यिनीहरुलाई खासै, सही अर्थमा भन्ने हो भने देश खाने सलह भनेमा फरक पर्दैन । यस्ता सलह मुख्यतया १ केन्द्रीय सलह, २ प्रादेशिक सलह, ३ स्थानीय सलह भनेर विभाजन गर्न सकिन्छ । यिनीहरुको पनि थुपै्र प्रजाति छन् । नाम गनेर, भनेर, लेखेर, सकिन्न । प्रजाती भएर नै नाम कसैले भन्न सक्दैन । त्यहिपनि केहि नाम यहाँ उल्लेख गर्नु गाईजात्रे बेलामा उचित देखेर यहाँ प्रस्तुत गर्दछु । ध्यान दिएर यि सलहदेखि बेलैमा सचेत हुनु आवश्यक छ । (१) भ्रष्टाचारी सलह, (२) अन्यायी सलह, (३) हत्या हिंसा गर्ने सलह (४) बलात्कारी सलह, (५) कमिशन खाने सलह, (६) कुर्सीमा बसेर थुतुनो चलाउने, काम केही नगर्ने सलह, (७) हुन्छ, हुन्छ भन्ने सलह, (८) भोजभतेरमा रमाउने सलह, (९) हाँस्ने, हसाउने सलह, (१०) सरकारी ढुकुटीमा आँखा लगाउने सलह, (११) फ्रिज भएको बजेट विभिन्न काममा खर्च देखाउने, पचाउने सलह, (१२) कम सामानको विलमा मूल्य भन्दा बढी पैसा लेखाउने सलह, (१३) सरकारी खर्चमा आफ्नो परिवार विदेश घुमाउने सलह, (१४) ५ लिटर तेल किनेर २५ लिटर तेलको विल पेश गर्ने सलह, (१५) सरकारी ढुकुटीमा जम्मा भएको धन देखेर आफूलाई सुविधा माग्ने सलह, (१६) कोरोनाको लागि आएको सहयोग खाने सलह, (१७) नुनदेखि, सुनसम्म खाने सलह, (१८) सिमेण्टदेखि पेमेण्टसम्म खाने सलह, (१९) पुलदेखि झुलसम्म खाने सलह, (२०) त्रिपालदेखि कपाल खाने सलह, (२१) सेलदेखि तेल खाने सलह, (२२) ढलदेखि नोलसम्म खाने सलह, (२३) गाँसदेखि वास खाने सलह, (२४) गिट्टीदेखि मिट्टी खाने सलह, (२५) हलुवा मात्रै हैन वालुवा खाने सलह, (२६) सञ्चार सलह, (२७) भन्सार सलह, (२८) कालो कर्तुत लुकाउने सलह, (२९) कानुनको धज्जी उडाउने सलह, इत्यादि । यि र यस्ता सलह बारीको कान्ला, रुख भिड, पाखा, घरको छानोमा हैन हरेक कार्यालयमा पाइलैपिच्छे सुत्दा, उठ्दा, खोक्दा, हाँस्दा,रुदा जहाँ पनि जहिलेपनि देखिन्छ सलह । वाली खाने सलहभन्दा, देश खाने सलह एकदम खतरा छन् । यस्ता सलहलाई जति विषादी प्रयोग गरेपनि झ्न मौलिएर झ्याङ्गिदै जान्छन् झन् बलियो बन्छन् यस्ता सलह ।

बाली खाएर सखाप पार्‍यो भनेर किन चिन्ता लिन्छौ बारी खाने सलह बाली सखापपारेर एकदुई दिन पछि उडेर जाला, अथवा धपाउने प्रयास गरे भने उडेर जाला तर देश खाने सलहलाई जति धपाउन खोजेपनि चपर चपर गरेर देश मात्र हैन, गरिब नेपालीको खुनपसिना पनि चुसिरहदा किन पिरचिन्ता कसैले नलिने ? सिमाना खाने सलहले सिमाना खाएकै छैन् भनेर भूमिसुधार, नापी विभागका कर्मचारी सिमासम्म पुगेर सरकारलाई प्रतिवेदन पेश गर्दा यस्ता कर्मचारी रुपी सलह, सिमा खाने सलहसँग विद्रोह गर्न नसकेर लुरुक परेर खुरुक्क सिमा खाने सलहसँग विद्रोह गर्न नसकेर लुरुक परेर खुरुक्क सिमा खाने सलहसँग मिलीमत्तो गरेको कुरा विभिन्न सञ्चार माध्यमले लेखेकै हुन्, बकेकै हुन् । सुने अनुसार वाली खाने सलह, खादै गर्छ, छेर्दै गर्छ तर देश खाने सलहले देश यहाँ खान्छ, विदेशमा छेर्छ । भोलि जनताले धपायो भने भुरुरुरु आफ्नो सन्तान लिएर उडेर विदेशमा बसोवास गर्ने पक्कै हुन् । यसमा कसैले शंकै नगरे हुन्छ । यि सलहले आफ्नो भविष्य बलियो बनाउन विदेशमा थात थलोको राम्रो व्यवस्था गरिसकेका छन् ।

बैंक व्यालेन्स पनि बलियो बनाई सकेका छन् । तर यहाँ होइन विदेशमा ! यस्ता सलहलाई समाएर प्रयोगशालामा लगेर चिरफार गरेर हेर्ने हो भने छर्लङ्ग, उदाङ्ग हुन्छ कुन प्रजातीको सलह हो भनेर । सलह झुण्डमा आउछ, नेपालमा ०३६, ०४६, ०५२,०६२ मा पटक पटक प्रयास गरेर मात्र छिरेका हुन् । यो झुण्ड आफ्नै कारण फुटेर अर्को झुण्ड तयार हुन्छ । यस्ता स–साना झुण्डले ठूलो झुण्डको विरोध गरेपनि एक किक दिने वित्तीकै उछिट्टिएर, कता पुग्छ पुग्छ ठेगान हुदैन् । कुन बेला नेपालमा छिर्ने भनेर कति विदेशी सलहले दाउपेच गरेका होलान् । तर बाजी मार्‍यो एमसिसी सलहले ! यो सलहको विरोध पनि भयो । यसले देश खान्छ भनियो । यो हाम्रो देशमा छिर्‍यो भने ‘नेपाल’को पा खाईदियो भने यो देशको जनतालाई नेलमा जकडिन बेरलाल्दैन । ‘ने’ खायो भने त ठिकै छ । पाल भित्र सुरक्षित बस्न सकिन्छ । ‘ल’ खायो भने पनि यो देशलाई केहि फरक छैन किनकी ‘नेपा’ नेवार समुदायले यो देशलाई भन्ने गर्छ । त्यसकारण खतरा मान्नु पर्दैन । सबै भन्दा ठूलो खतरा ‘पा’ खाने सलहलाई रोक्न जनता सचेत हुनै पर्छ । यसो गर्न सकिएन भने । यो देशमा ठूलै संकट नआउला भन्न सकिन्न । यसलाई धपाउन सरकारले समयमै ध्यान दिन जरुरी छ । यसलाई कसरी धपाउने ? समस्या यहि निर छ, अब भने यो देश खाने सलहले यो सलहलाई धपाउला भन्ने आश नगरेपनि हुन्छ । दुवै एउटै प्रजातीका परे । कोरोना भाइरस भन्दा खतरा यो सलहलाई न त औषधीले न त झुलले छेक्न सक्छ ? बेलैमा सचेत नभए पो सलहले देशलाई केही वर्षमा नै सखाप नर्पाला भन्न सकिन्न । देशी सलह र विदेशी सलह धपाउन अर्को नयाँ प्रजातीको सलहको विकास गर्न छिमेकी राष्ट्र चिनलाई अनुरोध गरे फाइदा होला कि ? किनकी कोरोना भाइरसको विकास गर्नेले सलह निमिट्यान्न पार्न अर्को सलहको विकास केही दिन मै पक्कै गर्ने छ भन्ने विश्वास गरौँ ।
‘धान खाने सलह भन्दा धन खाने सलह खतरा’
माथि नै उल्लेख गरिसकिएको छ, धान खाने भन्दा धन खाने सलह खतरा छ भनेर तपाई, हामी जन्मेदेखि नमरे सम्म यस्ता सलहको चंगुल (पञ्जा) मा जानी जानी अवश्य फस्छौ । यो देशको नियम कानून नै यस्तै छ । कुनै काम परेर यसो कार्यालयतिर छिर्ने बित्तिकै तपाईको गोजी बिस्तारै रित्तीन थाली हाल्छ । यि सलहलाई कसरी थाहा हुन्छ कुन्नी अचम्म लाग्छ । को सेवाग्राही कति पानीको छ भनेर । तपाईको अनुहार हेरेर चाल पाइहाल्छ । त्यहि अनुसार सलहले तपाईको गोजीको धन खान सुरु गर्छ । याक, कस्तुरी, भेडा, बाघ, हात्ती यि जनावरलाई कसरी खाने कताबाट खाने, फाइलभित्र राखेरखाने कि टेवलमुनी बाटखाने सलहलाई थाहा छ । न त थाल कटौरा न त चम्चा काँटा केहि चाहिदैन धन देख्ने बित्तीकै  र्‍याल चुहाएर खान थाली हाल्छ । यसरी खाँदै गर्दा तपाई बेहोसी हालतमा चुपचाप हेरेर बस्नु बाहेक लछार पाटो लगाउन सक्नु हुन्न । जबसम्म तपाईको गोजीको धन खादैनन् तपाईको फाईल यताबाट उता सर्दै सर्दैन । तपाई कुन कार्यालयमा कुन कामको लागि जानुभएको छ । त्यहि कार्यालय त्यही कामको लागि सलहको लागि (धन) लग्नु जरुरी छ । सलहले खान माग्नु भन्दा पहिले फाईल भित्र आफू सक्दो खाना राख्नु भएको भए तपाईको काम तुरुन्त अर्काको काम नगरेर, तपाईको काम गरिदिन्छ यति गर्न सकियो भने धेरै खान सक्दैन नत्र यो मिलेन, त्यो मिलेन, यो कागज मिलेन नाता प्रमाणित कागज, जन्म, मृत्यु, विवाह दर्ता, नागरिकता प्रमाणपत्र, लाल पूर्जा, धारा विद्युतको महसुल तिरेकोे कागज थरिथरिको भाउतोमा अल्झाउन सक्छन् । अब त श्रीमतीसँग सुतेको प्रमाण पनि देखाउनु पर्ने बेला भईसक्यो नत्र तपाईको श्रीमतीलाई सिन्दुर लगाएको भरमा नाता प्रमाणित भएको यि सलहले पक्कै मान्ने छैनन् । श्रीमती सुतेको फोटो कपि राख्यो भने बल्ल आधिकारिक श्रीमती भन्न मिल्छ नत्र तपाईको श्रीमती तपाईसँग भए पनि हो कि होइन के थाहा ? धन खान पल्केका सलह मान्दैन क्यारे । त्यही कारण यस्ता कागज प्रमाणहरुको कहि कमि भयो भने । फाइल भित्र सलहलाई खाना राखिदिने हो भने तपाई कुर्चीमा बस्नुस् । सबै काम भूरर्र उडेर गई फटाफट काम गरिदिने छ । त्यहि कारण हिजो आजका पुस्ताको मुखार बिन्दुबाट ईश्वर भजन भन्दा “धान खाने सलह भन्दा, धन खाने सलह खतरा” भन्ने गरेका छन् ।

प्रकाशित मिति: आइतबार, साउन १८, २०७७  १०:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update