Shittalpati
मापदण्डको पालना गरौं

सरकारले तोकेको स्वास्थ्य मापदण्ड कतिपय सार्वजनिक गाडीका चालक र सह–चालकले नमानेको यात्रुले गुनासो गर्न थालेका छन् । सरकारले ५० प्रतिशतसम्म बढी भाडा लिन मिल्ने भने पनि उनीहरुले यसअघि लिँदै आएको भाडामा दोब्बर लिने गरेको, भौतिक दूरी कायम नगरेको र यात्रु उभ्याएर राख्ने गरेका गुनासो व्यापक आउन थालेका छन् । लकडाउन खुलेसँगै प्रहरी प्रशासनहरुले नियम पालनामा कडाइ गरे पनि प्रभावकारी हुन सकेको छैनन् । झण्डै चार महिनाको लकडाउन हटेपछि पाल्पा लगायत देशभरका सडकमा निजी तथा सार्वजनिक गाडीको चाप बढेको छ । लकडाउन अन्त्य भए पनि कोभिड–१९ को जोखिम कायमै रहेकाले आम सडक प्रयोगकर्तालाई स्वास्थ्य मापदण्ड पालना गराउन र ट्राफिक नियम कार्यान्वयन गराउन गृह मन्त्रालयले जिल्ला प्रशासन र प्रहरी प्रशासनलाई निर्देशन दिएको छ । सार्वजनिक गाडीमा व्यक्तिगत दूरी कायम गरे/नगरेको, चालक र यात्रुले मास्क लगाएर/नलगाएको, तोकिएको भाडादर लिएको÷नलिएको, ५०प्रतिशत मात्र यात्रु राखे/नराखेको विषयमा भने प्रभावकारी अनुगमन हुन सकिरेहको छैन । गाडीमा भौतिक दूरी कायम हुन सकेको छैन् ।

खचाखच यात्रु ओसार्दा कोरोना संक्रमणको जोखिम झनै बढी देखिएको छ । लामो समयको लकडाउनका कारण नागरिकको दैनिकी अस्तव्यस्त बनेको भन्दै सरकारले लकडाउन खुकुलो बनाएकोे हो । तर सबै नागरिक कोरोना सकिएको जसरी बाहिर निस्कने गरेका छन् । यसको गतिलो उदाहरण सार्वजनिक यातायातमा देखिएको छ । सार्वजनिक यातायातमा न सवारीधनीले भौतिक दूरी कायम गराउन सकेका छन् त यात्रुले नै । अहिले पनि सार्वजनिक सवारीमा खचाखच यात्रु भरिने गरेका छन् । कोरोना संक्रमणका विषयमा दुबै पक्ष जिम्मेवार बन्न सकेका छैनन् भने यात्रुले थप ५० प्रतिशत बढी भाडा तिर्नुपरेकै छ । सार्वजनिक सवारी साधनमा स्वास्थ्य सुरक्षाका न्यूनतम मापदण्ड पनि पालना हुन सकेको छैन् । जिल्लामा मापदण्ड विपरीत सवारी सञ्चालनमा आउँदा सम्बन्धित निकायको ध्यान पुग्न सकेको छैन् । कोरोनाको जोखिम कायमै रहेको हुँदा यस विषयमा जिल्लामा सम्बन्धित निकायले ध्यान दिनु पर्छ भने कोरोनाको संक्रमण फैलिन नदिनका लागि यात्रु तथा सवारीधनीले तोकिएका मापदण्डको पूर्ण पालना गर्न जरुरी छ ।

प्रकाशित मिति: शुक्रबार, साउन १६, २०७७  १०:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update