Shittalpati
वर्षा र ग्रामीण सडक

 सदरमुकामलाई गाउँ र गाउँमा एक ठाउँबाट अर्को ठाउँ जोड्न खनिएका नयाँ तथा पुराना सडक हरेक वर्ष वर्षाको समयमा अवरुद्ध हुने गरेका छन् । विगतका वर्षहरूमा साउनको अन्तिमसम्ममा अवरुद्ध सडकहरू सुचारु भइसक्थ्यो । तर यस वर्ष वर्षा नरोकिएका कारण केही ग्रामीण सडकको अवरोध हटाइएको छैन । ग्रामीण क्षेत्रका सडक मात्र होइन मुख्य राजमार्ग पाल्पा–बुटवल सडक खण्डको सिद्धबाबा क्षेत्रमा समेत पहिरोका कारण सडक अवरुद्ध हुँदा यात्रुले सास्ती खेप्नु परेको छ । जिल्लाका केही सडक भने वर्षाको समयमा पनि सञ्चालनमा छन् । तर ती सडकहरूमा पनि यात्रा सहज छैन ।

हिँउदमा धुलाम्मे हुने सडक वर्षामा हिलाम्य हुन्छन् । विकासको पहिलो आधार सडक पूर्वाधारलाई मानिएको छ । सडकको विकास भएन भने अन्य विकास पनि त्यति सम्भव हुँदैन । तर गुणस्तरीय विकास भने सडकमा अत्यन्त कम देखिन्छ । संघीय संरचना अनुसार बनेका स्थानीय सरकारहरूमा अन्य विकासभन्दा बढी सडक पूर्वाधारको विकास बढी नै देखिन्छ भने प्रदेश र संघको पनि सडक केन्द्रित विकास रहदै आएको छ । विकास हुनु समृद्धिको आधार हो । त्यो आधारलाई वैज्ञानिक र नीति विधि समृद्ध बनाउन सकेमा मात्रै त्यसले सार्थकता पाउँछ । अहिले स्थानीयस्तरमा सडकका नाममा भएका विकासले विभिन्न संकट र विपद् उत्पन्न गराइरहेका छन् । पाल्पाका ग्रामीण क्षेत्रमा अहिले यो समस्या बढी नै देखिएको छ । जथाभावी खनिदा ति सडकहरू व्यवस्थित बन्न सकेका छैनन् । जसका कारण अहिले सडक क्षेत्र भू–क्षयको मारमा परेको छ । सडकहरू चिरा–चिरा परिरहेका छन् । विकासका नाममा गाउँ–गाउँमा बिना मापदण्ड खनिएका सडक चिरा–चिरा पर्नुले सडक खन्दा मापदण्ड नपुर्‍याई हचुवाको भरमा खलेको प्रष्ट देखिन्छ । सडक निर्माण गर्दा भविष्यको अवस्थाको बारेमा सामान्य मात्रै सोंचेको भएपनि ग्रामीण सडकहरूमा वर्षामा कम क्षति हुने थियो । अहिले भने ग्रामीण सडकको अवस्था नाजुक भएपछि यातायातमा ग्रामीण क्षेत्रहरू विच्छेद भएका छन् । यसर्थ सडक बनाउने बेलामा सम्बन्धित निकायले दीर्घकालिन योजना बनाएर अघि बढ्न जरुरी छ ।

प्रकाशित मिति: आइतबार, साउन ११, २०७७  १०:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update