Shittalpati
लकडाउन खुले पनि सावधानी अपनाऔं

सरकारले बुधबारदेखि लकडाउन हटाएसँगै चहलपहल बढेको छ । चहलपहल बढे पनि संक्रमणको अन्त्य भने भएको छैन । लकडाउन सुरु भएको बखतभन्दा अहिले झन जोखिमको मात्रा बढी छ । संक्रमण देशभरि फैलिएको छ । हालसम्म संक्रमितको संख्या १८ हजार भन्दा बढी पुगेको छ भने ४२ जनाको मृत्यु भइसकेको छ । यसको अर्थ हो, खतरा अझै पनि जारी रहेको छ । लकडाउन सुरु भएको बखतभन्दा जोखिमको मात्रा बढी छ । लकडाउन अन्त्य भएसँगै सडक र बजारमा देखिएको भिडले कोरोनाको जोखिम नै सकिएजस्तो देखिएको छ । तर त्यसो होइन । लकडाउन सकिए पनि कोरोना भाइरसको जोखिम भने सकिएको छैन । अहिले पनि संक्रमित हुनेको संख्या थपिने क्रम रोकिएको छैन । दिनहुँ नयाँ संक्रमित देखा पर्दै आएका छन् । नयाँ संक्रमित देखा पर्ने क्रम जारी नै रहेकाले जोखिम भने कायमै रहेको छ । लकडाउन अन्त्य हुनुको अर्थ संक्रमणमुक्त छौँ भन्ने होइन । यसलाई हल्का रुपमा लिइयो भने अवस्था झन् भयावह बन्न सक्छ । त्यसैले सावधानी अपनाउन जरुरी छ ।

लकडाउन अन्त्य गरे पनि सरकारले महामारी रोकथाम र नियन्त्रणका पहलहरू भने जारी नै राख्नुपर्छ । मानिसहरूको आवागमन बाँक्लिँदै जाने भएकाले सरकारी संयन्त्रहरू अझ बढी चनाखो हुनुपर्छ । नागरिकहरू आफैं पनि पूर्ण रूपमा सतर्क रहनुपर्छ । संक्रमण सर्ने–नसर्ने, फैलने–नफैलने व्यक्ति विशेषको चालचलन वा होसियारीमा धेरै भरपर्छ । जोखिम जारी नै रहे पनि सरकारसित लकडाउन अन्त्य गर्नुको विकल्प थिएन । चार महिनासम्मको लकडाउनले अर्थतन्त्र चौपट बनिसकेको अवस्थामा सरकारले लकडाउन हटाउन गरेको कार्य सकरात्मक रहेको छ । हरेक सार्वजनिक सवारीमा ‘ह्यान्ड स्यानिटाइजर’ राखिनुपर्छ । यात्रुहरूलाई मास्क अनिवार्य गरिनुपर्छ । यस्तै नियमहरू रेस्टुरेन्ट र होटलहरूका हकमा पनि लागू हुनुपर्छ । अब खुला माहोल भयो भन्दैमा नागरिकहरूले घरबाहिर निस्कँदा मास्क लगाउने, सम्भव भएसम्म हात धुने, ह्यान्ड स्यानिटाइजरको प्रयोग गर्ने कुरा बिर्सनु हुन्न। भीडभाड हुन नदिनेमै जोड गर्नुपर्छ । सकेसम्म त्यस्तो स्थानमा जानु हुँदैन । कोरोनाबाट आफू जोगिन र अरुलाई जोगाउन भौतिक दूरी कायम राख्ने, सरसफाईमा ध्यान दिने, मास्क लगाउने, साबुनपानीले हात धुने, नियमित व्यायाम र उचित आहारबिहार गर्ने बानी बसाल्न जरुरी छ ।

प्रकाशित मिति: शुक्रबार, साउन ९, २०७७  १०:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update