Shittalpati
पुष्पलाल स्मृति दिवसको सार्थकता

नेपाली कम्युनिष्ट आन्दोलनका अग्रणी एवं आदर्श नेता पुष्पलाल श्रेष्ठको बुधबार स्मृति दिवस मनाइएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले विविध कार्यक्रम गरी पुष्पलालको स्मरण गरेको हो । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल नेपाली क्रान्तिका सिद्धान्तकार समेत हुन् । उनी राणा विरोधी आन्दोलनको बिगुल फुक्ने महान् सहिद गंगालालका भाइ समेत हुन् । प्रवासी जीवनकालमा तत्कालीन राष्ट्रिय काँग्रेसबाट राजनीतिक यात्रा सुरू गरेका उनले करिब दुई वर्ष काँग्रेसको कार्यालय सचिव समेत रहेर काम गरेका थिए । राष्ट्रिय काँग्रेसमा आएको फूटसँगै भारतीय कम्युनिष्ट पार्टीका नेताहरुको संगतले उनले कम्युनिष्ट राजनीति सुरू गरेका थिए । उनी नेपालका प्रथम गणतन्त्रवादी नेता समेत हुन् । सिद्धान्त अनुसारको भौतिक स्थिति होइन, भौतिक स्थितिअनुसारको सिद्धान्त खोज्नुपर्छ, सिद्धान्त, संगठन र संघर्ष आमूल परिवर्तनका कडी हुन् ।

जनता चेतनशील हुनुपर्छ, कार्यकर्ता संगठित हुनुपर्छ, परिवर्तन अवश्यम्भावी छ, यसलाई संसारका कुनै पनि शक्तिले रोक्न सक्दैनन् भन्ने पुष्पलालको विचार अहिले पनि महत्वपूर्ण रहेको छ । जनवादी केन्द्रीयता लागु हुन सकेन भने पार्टी जीवनमा नै बेथिति देखापर्ने उनी बताउन्थे । नेपालको वाम तथा प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान पुर्‍याएका पुष्पलाल कम्युनिष्ट आन्दोलनका साझा सम्पत्ति र लोकप्रिय सर्वोच्च व्यक्ति हुन् । नेपाली समाजको पहिलो माक्र्सवादी विश्लेषक पुष्पलालका विचार र आदर्श व्यक्तित्व नेपाली कम्युनिष्ट इतिहासले कहिल्यै पनि बिर्सन सक्दैन । इतिहासमै पहिलोपटक नेपालमा कम्युनिष्टले बहुमत हासिल गरी दुईतिहाइ बहुमतसहितको बलियो सरकार बने पनि पार्टीभित्रको आन्तरिक कलहले पुष्पलालको सैद्धान्तिक, वैचारिक र व्यावहारिक पक्ष ओझेलमा परेको छ । वर्तमान सन्दर्भमा कम्युनिष्ट पार्टीभित्र पुष्पलालद्वारा प्रतिपादित तीन ‘स’ अर्थात् सिद्धान्त, संगठन र संघर्षलाई आत्मसात् गर्न सकेको देखिदैन । उनले रोपेको कम्युनिष्ट आन्दोलनको बीउ आज कम्युनिष्ट आन्दोलनको प्रेरणाको साँच्चै नै स्रोत बनेको छ । उनले दिएको समाजको चरित्र चित्रण हाम्रो अग्रगतिको वाहक बनेको छ । त्यही उनले अगाडि सारेको मान्यतामा अडिग भई उनका योगदान र विचारलाई सिर्जनात्मक ढंगले प्रयोग गर्न सके मात्र साँचो अर्थमा पुष्पलाललाई सम्झनु र स्मृति दिवस मनाउनुको सार्थकता रहन्छ ।

प्रकाशित मिति: बिहीबार, साउन ८, २०७७  १०:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update