Shittalpati
लोकतन्त्र र नेपाली जनता

लामो राजतन्त्र उन्मूलन पछि नेपालमा लोकतन्त्र स्थापना भएको हो । जहानिया शासन र निरंकुश राजतन्त्रको भूमरीमा नेपाल लामो समय रह्यो । नेपाली जनताको बलिदानबाट २००८ मा गणतन्त्र प्राप्त भई सबैखालका बन्धनबाट नेपालले आफूलाई औपचारिक रूपमा मुक्त ग¥यो । यो राजनीतिक प्रगति प्राप्त हुँदाहुँदै पनि राजनीतिक दलका कार्यशैलीले वास्तविक अर्थमा जनताको जित नभएको र सामन्ति राजतन्त्रको अन्त्यपछि पनि प्रत्येक पार्टीमा भुरेटाकुरे रजौटा जन्मिएको नेपाली जनतामा आभास भएको छ । निश्चय नै यो अवस्था आउनु नेपाल र नेपालीका लागि दुःखद् क्षण हो ।


नेपालमा अनेक प्रकारका तन्त्रहरुले सत्ता सञ्चालन गरेका छन् । तर जनताको अवस्था भने दिनप्रति दिन भयावह बन्दै गएको छ । जनताको जीवनस्तरमा सुधार आउन सकेको छैन । जनताको जीवनस्तरमा सुधार नआएसम्म जुनसुकै तन्त्र भएपनि त्यो दिगो र टिकाउ हुन सक्दैन । के लोकतन्त्र भनेको मुठीभर व्यक्तिले राज्यसत्तामा हालीमुहाली गर्नु हो त ? लोकतन्त्र भनेको त आफैमा पूर्ण प्रणाली हो । लोकतन्त्रमा शासन व्यवस्थामा लोकको मतको सर्वोच्चता कायम गरिनु नै असली लोकतन्त्र हो । लोकतन्त्रमा लोक अर्थात जनताको मत नै सर्वैसर्वा हुनुपर्दछ ।

लोकसहमतिका अघिपछि कुनै उपनाम जोड्नु आवश्यक छैन । तर मुलुकमा लोकसहमतिको कदर हुन सकेको छैन । अनेक नाम झुण्डाएर लोकसहमतिलाई भुलभुलौमा राख्ने प्रयास गरिएको छ । कहिले संघीय गणतन्त्र त कहिले बहुदलीय व्यवस्था भनेर राज्य सञ्चालकहरुले जनतालाई झुक्याईरहेका छन् । साँच्चिकै भन्नुपर्दा व्यक्तिको स्वतन्त्रता, सम्मान, सुरक्षा र लोककल्याणकारी व्यवस्था नै लोकतन्त्रको प्रमुख उद्देश्य हुनुपर्दछ । सरकार र राजनीतिक दलहरुले लोकतन्त्रको सुदृढीकरण र संस्थागत विकासको बाटो नै बिराएका छन् ।

लोकतन्त्रको नारा मात्र जपेर लोकतन्त्र सुदृढ हुन सक्दैन । लोकतन्त्रमा सबैको सम्मान मर्यादा राखेर लोककल्याणकारी व्यवस्था गरी जनताको जीवनस्तर उठाउने कार्यमा सरकार र राजनीतिक दलहरु लाग्नुपर्नेमा त्यसो हुन सकिरहेको छैन । जनताको घरमा वास्तविक अर्थमा लोकतन्त्र पुग्न सकेको छैन । जनताले घरघरमा लोकतन्त्रको अनुभव त्यतिबेला गर्छन् जब उनीहरू आर्थिक रूपमा सबल र सुदृढ हुन सक्छन् । जनता सधैंभरि लोकतन्त्रको लागि भोको पेट बाँच्न सक्दैनन् । राज्यका निकायबाट पाउनुपर्ने सबै सुविधा जनताले पाउने अवस्था भएमा मात्र लोकतन्त्रमा जनताको जित हुन सक्छ ।

प्रकाशित मिति: शनिबार, माघ ११, २०७६  २०:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update