Shittalpati
बी.पी. स्मृति दिवसको सार्थकता

प्रजातान्त्रिक आन्दोलनका अग्रणी विचारक बी.पी. कोइरालाको ३८ औं स्मृति दिवस आज मनाईदै छ । नेपाली काँग्रेसका संस्थापक तथा नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री बी.पी. कोइरालाको स्मृति दिवसको अवसरमा नेपाली काँग्रेस तथा काँग्रेसका विभिन्न भ्रातृ संगठनहरुले विभिन्न कार्यक्रम गरी दिवस मनाउन गइरहेका छन् । कोइरालाको स्मृति दिवस औपचारिकताका रुपमा मात्र मनाइदै आइएको छ । यद्यपि विचारक, चिन्तक, सर्जक, परिवर्तन नायक वा आविष्कारक कसैको पनि पार्थिव अवशानको दिनलाई महत्वपूर्ण बनाउनु हुँदैन भन्ने विषय अहिले मूल बहसमा उठिरहेको छ । तर उनीहरूको जन्म महत्वपूर्ण हो र जन्मको सार्थकता विचारले सिद्ध गर्छ । पार्थिव अवशानले विचारको सार्थकता सिद्ध गर्दैन । निधनको स्मृतिमा एकदिन हार्दिक श्रद्धाञ्जली अर्पण गर्नासाथ विचार र योगदानको सम्मान ठहर्दैन । बी.पी. विचारको अन्तिम निष्कर्ष हो– मानिस ठूलो बन्न नखोज, असल बन । ठूलो बन्ने चाहनाले हिंसा, परपीडन, युद्व, संघर्ष, विभेद, विभाजन आदिलाई मलजल गर्छ । असलपन चरित्र हो, व्यवहार हो । मोदी आइनमार्फत बी.पी.ले दिएको सन्देश जसलाई मानवीय संवेदनाको अन्तरप्रेरक तत्व मान्न सकिन्छ । यो यथार्थमा कुनै विचार होइन ।

बी.पी.ले २००७ सालमा १०४ वर्षे राणा शासनको विरुद्धमा भएको जनक्रान्तिको नेतृत्व गरेका थिए । नेपालको प्रजातान्त्रिक समाजवादी आन्दोलनका प्रतिक मानिने बी.पी. तत्कालीन नेपालमा अन्तर्राष्ट्रिय पहिचान बनाउन सफल राजनीतिक व्यक्तित्वका रूपमा समेत परिचित छन् । राष्ट्रियता, प्रजातन्त्र र समाजवादको सिद्धान्त प्रतिपादन गरेका कोइराला २०१५ सालमा भएको पहिलो संसदीय चुनावपछि पहिलो जननिर्वाचित प्रधानमन्त्री बन्न सफल भएका थिए । भारत प्रवासमा रहेका कोइराला २०३३ सालमा राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्केका थिए । उच्च राजनीतिक छवि हुँदाहुँदै पनि उनले नेपाली साहित्यमा पुर्‍याएको योगदानलाई अतुलनीय मानिन्छ । कोइरालाको सुम्निमा, मोदी आइन्, बाबु, आमा र छोरा, नरेन्द्र दाई, तीन घुम्ती तथा हिटलर जस्ता चर्चित उपन्यासहरू नेपाली साहित्यमा चर्चित छन् । यसर्थ बी.पी.ले नेपाली राजनीतिक र साहित्यिक क्षेत्रमा पु¥याएको योगदानको कदर, सम्मान गर्दै अनुशरण गर्न सके मात्र दिवस मनाउनुको सार्थकता रहन सक्छ ।

प्रकाशित मिति: मंगलबार, साउन ६, २०७७  ११:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update