Shittalpati
बी.पी.का पूर्वज र ग्रहदशा

विश्वश्वेरप्रसाद कोइराला अर्थात् बी.पी. कोइराला कुनै साधारण व्यक्ति थिएनन् । उनी महामानव थिए । किनकि उनका पूर्वजहरु नै महामानव थिए । बी.पी. कोइरालाका पूर्वजहरुको अध्ययन गर्ने हो भने उनी भगवान अङ्गिराका वंशज हुन् । भगवान् अङ्गिराका छोरा मौद्गलय र मौद्गलयको छोरा मुदगलायन थिए । मुदगलायनका छोरा लम्वोदर र लम्वोदरका छोरा अलाल थिए । अलालका छोरा लाल थिए र लालका छोरा लालकर्ण थिए । लालकर्णका छोरा लालचन्द्र र लालचन्द्रका छोरा विशा थिए । विशाका छोरा बशु र बशुका छोरा परम थिए । परमका छोरा दामोदर र दामोदरका छोरा हरिहर थिए । हरिहरका छोरा परशुराम र परशुरामका छोरा जनमेजय थिए । जनमेजयका छोरा विश्वंभर र विश्वंभरका छोरा करुणाकर थिए । करुणाकरका छोरा शिवनिधि र शिवनिधिका छोरा नन्दिकेश्वंर थिए ।

नन्दिकेश्वंर यिनै बी.पी कोइरालाका हजुरबुवा थिए । नन्दिकेश्वंरका छोरा सरदार कालिदास, माहिला छोरा सुव्बानारायण प्रसाद, साँहिला छोरा हीरालाल र कान्छा छोरा खरदार कृष्णप्रसाद थिए । यिनीहरु भट्ट ब्राह्मण थिए । लमजुङ्गको दुरा डाँडाबाट बसाई सरी पूर्वी नेपालको गोग्राहा आएका थिए । कोइरालाको रुख प्रशस्त हुने फाँटमा बसेकोले यिनीहरुलाई कोइराला भनिएको हो । कृष्णप्रसाद कोइरालाले नै गोग्राहालाई विराटनगर नामकरण गरिदिएका थिए । कृष्णप्रसाद कोइरालाले छ भाइ छोरा जन्माए । उनीहरुको नाम मातृकाप्रसाद कोइराला, विश्वेश्वरप्रसाद कोइराला, हरिहर कोइराला, केशव कोइराला, तारिणीप्रसाद कोइराला र गिरिजाप्रसाद कोइराला हो । कृष्णप्रसाद कोइरालाका यिनै छोराहरुमध्ये मातृकाप्रसाद कोइराला नेपालको प्रथम नागरिक प्रधानमन्त्री, विश्वेश्वर प्रसाद कोइराला नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री र गिरिजाप्रसाद कोइराला प्रजातन्त्रको पुनःस्थापनापछि नेपालमा पटक–पटक प्रधानमन्त्री भएका थिए ।

कृष्णप्रसाद कोइरालाका तीनवटी पत्नीमध्ये कान्छी दिव्या कोइरालाको गर्भवाट शल्यक्रिया गरी वि.सं. १७७१ भाद्र २४ गतेका दिन वाराणसीमा विश्वेश्वरप्रसाद कोइरालाको जन्म भएको हो । न्वारनको नाम चुडामणी भएता पनि भगवान् विश्वनाथको स्मृतिमा विश्वेश्वरप्रसाद राखियो भने बी.पी कोइरालाको नामबाट उनी विश्व प्रशिद्ध भए । बी.पी.सानो देशमा जन्मिएका, संसारले मानेका ठूलो नेता हुन् । वरिष्ठ ज्योतिषी एवं हस्तरेखाविद् अङ्गिरस न्यौपानेले बी.पी.को जन्म कुण्डली तथा ग्रहदशाको सन्दर्भमा निम्नानुसार व्याख्या विश्लेषण गरेका छन् । मेष राशि र तुला राशि लग्नमा बी.पी.को जन्म भएको थियो । जसले गर्दा स्वगृही शुभ समेत रहेकाले बाँचुञ्जेल चर्चित हुने र मृत्युपछि अमर रहने योग थियो । धनस्थानको कुरा गर्दा धन भएपनि नभए पनि आँटेको काम पूरा गर्न सक्ने र मित्रधन धेरै राख्न सक्ने थियो । शनि र मंगलको पूर्ण दृष्टिको कारणले गर्दा पराक्रमी, आँट, अठोट भएका कसैसँग नझुक्ने र दाजुभाइलाई समेत हानि पुर्‍याउन सक्ने क्षमता रहेको थियो ।

‘‘मेरो जन्म एउटा द्विविधामा भएको हो । जन्मने घडीमा मैले अड्डीपनाको पूरा परिचय दिए । म माथि त्यसदिन बल प्रयोग गरिएको हुनाले हो कि किन हो, म जीवनमा आजसम्म विद्रोही रहे ।’ –वी.पी. कोइराला

गुरुग्रह भने नीच भई बसेको हुनाले परिवारसँग बस्न नपाउने, कारागार तथा प्रवासमा बस्नुपर्ने योग रहेको थियो । राहु ग्रहको प्रभावले हठी स्वाभावका, अरुको बुद्धिमा नहिँड्ने र आफ्नै बुद्धिमा हिड्ने, हिडाउने स्वभावका थिए । बुद्धि विवेक, तीक्ष्ण र दूरगामी प्रभाव पुर्‍याउने भएकोले राजशक्ति एवं सैन्यशक्तिमा वैमनस्यता हुने, छिमेकीसँग समझदारीमा कमी रहने अवस्था थियो । चन्द्रमा उच्च अभिलाषी भएकोले मन चंचल, स्त्री र यौनबारे उत्सुक्ता राख्ने, सत्ता प्राप्त गरे पनि स्थिर नहुने योग थियो । जसले गर्दा राजा, स्त्री वैदेशिक सम्बन्ध राम्रो राख्न सकेनन् । उनीमा गुरुदृष्टि भने पूर्ण रुपमा परेको थियो । अप्रत्यासित मार परेपनि गुरुकै कारणले ज्यान जाने योगबाटसमेत बचायो । जस्तै दुःख परेतापनि राजा, सेना, कार्यकर्ता, विदेश एवं समयबारे बुझेका र बुझाउन सक्ने स्वभावका थिए ।

भाग्यस्थानमा शनिग्रह प्रवल भई बसेकाले भाग्यले ठगेर साथ नदिएको र शनि ग्रहकै प्रभावले धर्म कर्ममा विश्वासको अभाव भएको पाइएको थियो । कर्म स्थानमा भने बृहस्पतिको पूर्ण दृष्टि परेकोले गुरु विचार दिन सक्ने, नयाँ दर्शन दिन नसक्ने । कर्मवादी, नाम उच्च राख्न सक्ने आत्मवल र विश्वास बलियो रहेको थियो । लाभस्थाानमा स्वगृही सूर्य बसेकाले उनी अमर रहे । तर सूर्यको साथमा केतु रहेकाले मित्र धेरै भए तापनि कमजोर विचारका हुने र समस्यामा पर्दा धोका दिने मित्रहरु पनि थिए । धनस्थान, पत्नीस्थान र भाग्यस्थान निकै कमजोर थियो । आफ्नो नाममा धनसम्पत्ति जोर्न नसक्नु, भएको सम्पत्ति पनि सरकारको कब्जामा रहनु, श्रीमतीसँग साथैसँगै बस्न नपाउनु, श्रीमती तथा सन्तानलाई पारिवारिक सुख दिन नसक्नुले गर्दा उनी बाचुञ्जेल भाग्यबाट ठगिरहे ।

धर्म र बुद्धिस्थान शनि ग्रह र राहु ग्रह रहेको हुँदा उनी धार्मिक परम्परा विरोधी भए । शनि र राहुको खातिर उनलाई लक्ष्मी र भाग्यले ठगेको हो । लग्नको शुक्र सप्तम चन्द्रमा एकादश, सूर्य, द्वादश बुध, तुला लग्नले गर्दा बी.पी. सामान्य परिवारमा जन्मेर पनि राजा महाराजाको हाराहारिमा ठूलो नाम कमाउन सफल भएका छन् । जन्मकुण्डली अनुसार दुरदर्शी संघर्षशील, एकोहोरोपना राख्ने, आमूलपरिवर्तन चाहने, रचनात्मक विचारधारा भएका सानो हुन नसक्ने तर कहिल्यै कसैसँग नझु्क्ने, राष्ट्रियता र मातृभूमिका लागि ठूला–ठूला शक्तिलाई समेत चुनौती दिन सक्ने क्षमता भएका अत्यन्त शूर वैभवशाली व्यक्तित्वका धनी थिए बी.पी. कोइराला । मृत्युस्थानमा गुरुको दृष्टि परेको हुँदा क्यान्सर रोगले पीडित भएतापनि लामो समयसम्म उनी बाँचिरहेका थिए । मृत्यु हुनभन्दा डेढ महिना अघिमात्र शुरु भएको उल्का ग्रहको प्रभावले सुख आउने बेलामा उनलाई बाँच्न दिएन । बी.पी.को जन्मकुण्डली अनुसार उल्का, राहु र शनि ग्रहको प्रभावले नै मृत्युपछि पनि क्रियाकर्म गर्न दिएन ।

प्रकाशित मिति: मंगलबार, साउन ६, २०७७  ११:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update