Shittalpati
प्रकृतिको जगेर्ना गरौं

विश्वव्यापी बढ्दो जनसंख्या र फैलिँदो विकासका कारण प्रकृतिको विनास हुँदै गएको छ । विकास हुनु आफैमा सकारात्मक भएपनि विनास निम्त्याउने गरी भएको विकासले भने नकरात्मक असर पारेको हुन्छ । प्रकृतिको विनाशका कारणले दैनिक रुपमा महशुस हुने गरी वायु प्रदुुषण र जल प्रदुुषण प्रमुख समस्याका रुपमा देखापरेका छन् । खासगरी, जलवायु परिवर्तन, तापक्रममा वृद्धि, हिमालमा हिउँको मात्रा घट्ने, हिमताल फुट्ने, अतिवृष्टि, अनावृष्टि, खडेरी, रैथाने वनस्पति र जीवजन्तु लोप हुने, मिचाहा प्रजातीहरु देखापर्ने, मरुभूमीकरण, पानी स्रोत सुक्दै जानु, डुबान, भूक्षय, बाढीपहिरो लगायतका प्राकृतिक प्रकोपहरुमा वृद्धि हुँदै जानु वातावरणीय असन्तुलनका नकारात्मक असरहरुका रुपमा देखा परेका छन् । वातावरण प्रदुषणका दीर्घकालिन असरहरुको रुपमा वातावरणीय असन्तुलन, कृषि उत्पादनमा कमी, बसाइसराइ, खाद्य असुरक्षा र स्वास्थ्यमा समेत नकारात्मक असर पर्न गई जीवनयापन चुनौतिपूर्ण एवं कष्टकर हुँदै गएको छ । पछिल्लो समय प्रकृतिको विनासका कारण मौसममा प्रतिकूल असर देखा परेको छ । जसले गर्दा देशका धेरै भू–भागमा अत्यधिक वर्षा भइरहेको छ ।

वर्षाका कारण हिमाली, पहाडी तथा तराईका धेरै जिल्लामा बाढीपहिरोले धेरै मानिसको जनजीवन नराम्रोसँग प्रभावित बनाएको छ । अहिले मुलुकमा कोरोनाको त्रास दिन–प्रतिदिन बढ्दै जाँदा मानिसहरू एकातिर संक्रमण कतै फैलने होकि भन्ने मानसिक चिन्ता लिन थालेका छन् भने अर्कातिर प्राकृतिक प्रकोपले गर्दा मानिसहरूको जनधनको क्षति भएको छ । साउन महिना अत्याधिक पानी पर्ने मौसम पनि हो । मुलुकका अझै पनि धेरै ठाउँमा बाढी पहिरोको उच्च जोखिम रहेको छ । धेरै ठाउँमा बाढी पहिरोले नराम्रोसँग जन–धनको क्षति पु¥याएको छ । प्राकृतिक प्रकोपले कुनै पनि बेला विपत्ति निम्त्याउन सक्छ । यसबाट सजग हुनुबाहेक कुनै विकल्प छैन । धेरै मानिसको प्राकृतिक प्रकोपसँग सामना गर्ने वैकल्पिक उपाय नहुँदा बर्सेनि धेरै मानिसको जन–धनको क्षति हुने गर्छ । बाढी पहिरोको मुख्य कारण नै वन विनाश हो । जब वन विनाश हुन्छ, त्यस ठाउँमा रूखका जराहरूले माटो समात्ने ठाउँ हुँदैन अनि बर्खाको समयमा वन विनाश भएको ठाउँमा सुक्खा पहिरो जान्छ र अन्त्यमा ठूलो प्राकृतिक विपत्ति आइपर्छ । त्यसैले वन विनाश नगरौं, भएको वन पैदावरको सुरक्षा गरौं र प्रकृतिको जगेर्ना गरौं ।

प्रकाशित मिति: सोमबार, साउन ५, २०७७  १०:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update