Shittalpati
परम्परागत पर्व र घण्टाकर्ण गथामुग

आज घण्टाकर्ण गथामुग । ग्रह दशा कटाउने दिन । तर यसपाली विश्वव्यापी रुपमा फैलिएको कोरोनो महामारीका कारणले भीडभाड र जमघट गर्न नहुने भनिएकाले घण्टाकर्ण मनाउने काम पनि हुने भए न नै । प्रत्येक वर्ष आजको दिन टोल–टोल, चोक–चोकमा घण्टाकर्ण राक्षसको प्रतिकात्मक पुतला बनाई दिनभर राखी साँझतिर सेलाइन्छ । आफ्ना घर परिवारको सबै भित्री बाहिरी दोष अन्त्य होस् भनी यस प्रतिकात्मक पुतलामा दक्षिणाका साथ अन्य वस्तुहरु चढाइन्छ । यो त विश्वास हो जुन लिच्छिवीकालिन समयदेखि नै चलि आएको हो । यस दिनलाई नेवार समुदायले आफ्नो वर्ष दिनको चाड पर्व प्रारम्भ भएको दिन मान्दछन् । आजको परिप्रेक्ष्यमा यस घण्टाकर्ण बारे विभिन्न मतहरु रहेको पाइन्छ । कसैले गथामुगलाई यहाँको होइन भारतको हो भन्ने पनि गर्दछन् । उनीहरुको भनाई अनुसार घण्टाकर्ण यहाँ कसैले आफुखुसी बनाएको हो पनि भनिन्छ । नेवार भाषामा गँ भनेको घण्टा हो र था भनेको बजाउने र मुग भनेको हथौडा हो त्यसकारण यसलाई घण्टाकर्णको नाम दिइ चाड मनाउने कार्य भएको मानिन्छ । उनीहरुको भनाई अनुसार वास्तवमा यो गँथामुग नभएर गथामुग हो । गथामुग भनेको कुनै ठाउँको दोबाटो, चोक हो । यसरी ग र था शव्द जोडिएका धेरै टोलहरु काठमाण्डौँ उपत्यकामा रहेका उनीहरु विश्वास गर्दछन् । जस्तै चिंकमुग, नौमुग, प्यंग था, किलाग आदि । तर जेसुकै भएता पनि यो त परम्परा हो जुन यद्यापी सानै रुपमा भए पनि नेवार समुदायहरुले मान्दै आएका छन, आफनो संस्कृतिलाई निरन्तरता दिइरहेका छन् । आज परेको घण्टाकर्ण गथामुग पर्वको विषयमा यहाँ चर्चा परिचर्चा गर्ने प्रयास गरिएको छ ।

काठमाडौं उपत्यकालाई पहिले देखिनै अत्यन्त उब्जाउ हुने भूमिको रुपमा मानिन्छ । उव्जनी पनि प्रशस्त हुन्थ्यो । धेरैजसो मानिसहरु खेती किसानी गर्दथे । जनसंख्या कम थियो त्यसैले सबै ठाउँमा आफैले खेती गर्न सक्दैन थिए । घाम, पानी, असिना, हावा, हुरी आदि केहीको परवाह नगरी वर्ष दिनको लागि खेती किसानीको काम गर्नु पर्दथ्यो । यदि फसल बिग्रेमा वा कम उब्जनी भएमा वर्षदिनको अन्न पु¥याउन सक्दैन थिए त्यसैले किसानहरु मरिमरी काम गर्दथे । यस्तो बेलामा कसैको घर परिवारका सदस्यको मृत्यु भएमा पनि लाशलाई सुकुलले बेरेर एउटा कुनामा राख्थे रे र रोपाइँ सकिएपछि मात्र सतगति काजक्रिया गरिन्थ्यो रे । यसरी मरि मरि काम गर्ने कार्यलाई नेवारी भाषामा सिन्हा ज्या भनिन्छ अर्थात् सिन्हा भनेको मरि मरि गरिने ज्या भनेको काम । ललितपुरमा यद्यापि एउटा यस्तो ठाउँ पनि रहेको छ जुन ठाउँलाई भाँजगल भनिन्छ । त्यहाँ लगेर लाशलाई एउटा सुकुलमा बेरेर राखिन्छ र माथिबाट परालले पूरा ढाकिदिएर आगो लगाई सबै मलामीहरु फर्कन्छन् । त्यहाँ लाश बाल्न दाउरा चाहिदैन । केवल पराल भए पुग्छ । भोलिपल्ट जाँदा लाश पूरा खरानी भएको हुन्छ रे । अचम्मको ठाउँ । यसले गर्दा त्यस भेगमा किसानहरुलाई खेती किसानी गर्न केही सहज भएको थियो रे । त्यसै त खेती किसानी गर्ने काम त्यति सजिलो पनि छैन । माटो सम्याउनु, डल्ला फोर्नु, पानीको सिचाईको व्यवस्था गर्नु, कुलो खन्नु आदि काम गर्नु पर्दछ । यसको लागि अलि बलिया बलिया मान्छेहरुको आवश्यक्ता हुन्छ नै जस्ले यी सबै कामहरु गर्न सकोस् तर सबै त्यस्ता बलिया हुँदैनथे । त्यसैले यस्ता काम गर्नको लागि उनीहरुले भूतको साधना गर्दथे र कुनै मान्छेमा तान्त्रिक विधि अनुसार भूत चढाई यस्ता कामहरु गराउँदथे । यसरी भूत जगाउने काम तथा सहरमा भित्राउने काम अक्षय तृतीयाभन्दा अगाडि भूतलाई सहरमा भित्राइन्थ्यो र काममा लगाउँथे रे । यिनीहरु काम पनि बढी गर्ने र खाना पनि त्यही हिसाबले धेरै दिनु पर्दथ्यो रे । यिनीहरुलाई वर्षदिनसम्म पालेर राख्न पनि नसकिने भएकाले र काम सकिए पछि भूतहरुको काम हुँदैनथ्यो त्यसैले यिनीहरुलाई भगाउनु पर्दथ्यो । यिनीहरुलाई श्रावण कृष्ण चतुर्दशीको दिन अर्थात् गथामुग चन्हेको दिन तान्त्रिक विधि अनुसार नै भगाइन्थ्यो । गथामुग भनेको भूतहरु बस्ने सामुहिक ठाउँ हो भनिन्छ । यिनीहरु यसदिन चौबाटो, दोवाटोमा बस्छन् रे । त्यसैले यस दिन टोल–टोलको चौबाटो, दोबाटोमा प्रतिकात्मक भूतको पुतला बनाई दिनभर राखिन्छ । यसरी भूत बनाउनलाई उपत्यकामा नर्कट, छवाली, बाँस आदिको राक्षसरुपी पुतला बनाई डरलाग्दो मुखको आकृति बनाई राखिन्छ । साँझपख त्यसभेगका सबैसंग जगाति मागि पुतलामा आगो लगाई तानेर लगि खोलामा वा खोल्सातिर फालिन्छ । यस दिन साँझ राती जताततै भूतहरु भेट हुन सक्ने र दुख दिन सक्ने भएकाले सबैले अनिवार्यरुपमा फलामको औंठी लगाउनुपर्छ भन्थे । घर तिर पनि भूत आउला भनेर मूलढोकाको काठमा माथि तिन खुटटे किल्ला ठोकी पूजा गर्दथे र त्यस दिन कोही पनि बाहिर निस्कदैनथे । यस्तो गर्दा घरमा भएका भूतहरु पनि भागेर जान्छ रे भन्ने विश्वास उनीहरुमा थियो । काठमाडौं उपत्यकामा घण्टाकर्णको दिनलाई आफ्नो खेतको काम रोपाइँ सकिएको तथा शरद ऋतुको शुरुवात भएको दिन भनि मनाइन्छ । साथै हिन्दु तथा बौद्ध धर्मावलम्वीहरुको अरु चाडहरु प्रारम्भ भएको दिन भनेर पनि भनिन्छ । साँझपख दुष्टात्माहरुलाई धपाएको भनेर समयबजी खाने चलन यद्यापि काठमाडांै उपत्यकामा छ । यो चाडको मुख्य विशेषता भनेको घर–घरबाट भूतपे्रत पिशाच तथा दुष्टात्माहरु धपाउनु हो । पहिला–पहिला गर्मीको मौसममा गर्मी बढी हुने तथा बर्षा कम हुने, आँधी हुरीले सताउने हुँदा मानिसहरुलाई विभिन्न पेट सम्बन्धी रोग लाग्थ्यो । यसरी विरामी भई राख्नुको कारण दुष्टात्माहरुले गर्दा भएको भन्ने यिनीहरुमा विश्वास थियो । प्राचीन समयदेखि मानिसहरु राक्षस, सर्प तथा अन्य अलौकिक एवं प्राकृतिक तत्वहरु जस्तै हावा, पानी, आगो, दुष्ट आत्मा तथा राक्षसहरुबाट छुटकारा पाउन जीव जन्तुहरुको बलि दिने गरेको पाइन्छ । घण्टाकर्ण पनि त्यस्तै दुष्ट राक्षसको अन्त भएको विश्वासमा यो पर्ब मनाइएको पनि भनिन्छ । हुन त आजभोलि भूतप्रेत मान्ने चलन हराएर गैसकेको छ, तापनि यसलाई हाम्रा पूर्खाहरुले स्वीकार गरेका कुरा हुन । आजको दिनलाई बोक्सी विद्या सिक्ने दिन पनि भनिन्छ ।

घण्टाकर्ण बारे एउटा रोचक किंवदन्ती रहेको छ । भनिन्छ यो घण्टाकर्ण भगवान विष्णुको भक्त थियो । उनी केवल भगवान् विष्णुको मात्र पूजा गर्द थिए । एकदिन भगवान विष्णुले भगवान शिव र आफु एउटै भएकाले शिवको पनि पूजा गर्न लगाए तर घण्टाकर्ण मानेन् तब विष्णुले आफु र शिव एउटै हो भनेर देखाउन हरिहरको रुप देखाई दिए जस्मा आधा विष्णु थिए भने आधा शिव । तैपनि घण्टाकर्ण सन्तुष्त हुन सकेनन् । उनी बाहिर निस्केका बेला मानिसहरु उनलाई गिज्याउन शिव शिव भनेर चिच्याउँथे । सो सुन्नु पर्ला भनेर उनले आफ्नो कानमा ठूला–ठूला घण्ट झुण्डाएर हिड्थे । कसैले शिवको नाम लिने वित्तिकै कानको घण्टा जोड जोडले बजाउँथ्ये रे त्यसैले पनि यसलाई घण्टाकर्ण भनिएको किवंदन्तीमा उल्लेख गरिएको छ । यो घण्टाकर्ण नामको राक्षस जंगलमा बस्थ्यो रे र सो बाटोबाट हिड्नेहरुलाई मारेर खान्थ्यो रे । यस्ले बच्चाहरु चोरेर लैजान्थ्यो । मानिसहरु सो दिनदेखि अत्यन्त भयभित थिए । त्यस घण्टाकर्ण राक्षसको अत्याचार देखेर एकजना तान्त्रिक भ्यागुताको रुप लिएर उसलाई गाउ्रको बाटो देखाउने भनि लिएर गएर हिलोको धापमा गाडि दिएको र भोलिपल्ट गाउँलेहरु आई यो राक्षसलाई ढुंगा मुढा गरी मारेको भनिन्छ । यसरी अत्याचारी घण्टाकर्णको आतंक झेल्न नपरोस् भनेर अत्याचारी घण्टाकर्णको पुतला बनाई दहन गरिन्छ । यही घण्टाकर्ण नामको राक्षस मारिएको उपलक्ष्मा यो चाड मनाइने गरिएको हो । भ्यागुताले राक्षसको अत्याचारबाट जनतालाई मुक्त गराएकाले काठमांडौ उपत्यकामा यद्यापि जनै पूणिमाको दिन भ्यागुतालाई पूजा गर्ने दाल भात खुवाउने चलन छ । काठमाण्डौँ उपत्यकाबाट विभिन्न कारणले तानसेन आई बसेका नेवारहरुले यहाँ पनि काठमाडौंमा जस्तै जात्रा चाडपर्वहरु मनाउने गर्दछन् । त्यहाँका मानिसहरु खेतीपाती गर्दथिए भने पाल्पा आईसके पछि उनीहरु खेतीपाती नभई व्यापार व्यवसाय गरी बसे । तैपनि यही सन्दर्भमा घण्टाकर्ण गथामुगको सम्झनामा श्रावण कृष्ण चतुर्दशीका दिन विहान बाँस तथा पातीको हाँगा काटेर ल्याई तीन खुट्टे राक्षसको पुतला बनाएर टाउकोमा डरलाग्दो दुबै कानमा ठूला–ठूला घण्ट झुण्डाइएको चित्र राखी दोबाटो, चौबाटोमा उभ्याइन्छ । सो बाटोबाट हिड्ने बटुवाहरु तथा स्थानीय बासिन्दाहरुले आफनो घर परिवारको ग्रह दशा कटाउन भनेर स्वेच्छाले घण्टाकर्णलाई जौ, तिल, चामल, नुन, बेसार, कालो कपडा तथा भेटी चढाउँछन् । दिनभरि गथामुगलाई दोबाटो, चौबाटोमा ठड्याएर राखिन्छ र साँझपख यसलाई सेलाउन लैजानु अघि सो काममा संलग्न एक जना युवाले उक्त टोलमा भएका घर–घरमा जगाती (कर) माग्दछन् । त्यसपछि साँझपख घण्टाकर्ण गथामुगलाई भूइमा ढलाएर मुखमा आगो लगाएर घिसार्दे तल्लो टोलकाहरुले तीनधारामा र माथिल्लो टोलकाहरुले होलाङ्दीमा लगेर फाल्छन् या जलाएर सेलाउँछन् । पहिलेदेखि चलनमा आइरहेको परम्परा लोप नहोस् भनेर देउराली साँस्कृतिक अध्ययन प्रतिष्ठानले टोल–टोलमा घण्टाकर्ण बनाउन प्रोत्साहन गर्न प्रतियोगितात्मक घण्टाकर्ण बनाई प्रदर्शन गर्ने कार्य गर्दै आइरहेको र प्रत्येक वर्ष तानसेनको शित्तलपाटी चोकमा घण्टाकर्ण बनाई राख्ने गरेको भए पनि यसपाली कोरोनाको कारण प्रतियोगिता हुन सकेन । तर पनि संस्कृति जगेर्ना गर्नु भनेको राष्ट्रको सांस्कृतिक पहिचानलाई कायम राख्नु हो । त्यसैले पनि देउराली परिवार पाल्पाको संरक्षणमा सधै प्रतिवद्ध छ । अस्तु ! (लेखक देउराली साँस्कृतिक अध्ययन प्रतिष्ठान, पाल्पाका अध्यक्ष समेत हुन् । )

प्रकाशित मिति: आइतबार, साउन ४, २०७७  ११:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update