Shittalpati
डिस्चार्ज कति विश्वसनीय ?

पछिल्लो चरणमा कोरोना संक्रमित व्यक्ति डिस्चार्ज हुने दर बढ्दै गएको छ । निको भएर डिस्चार्ज हुनु आफैमा राम्रो पक्ष हो । तर विना परीक्षण डिस्चार्जको नाममा घर पठाईनु चाहि त गलत हो । क्वारेन्टाइनमा बस्नेको चाप र खर्च थेग्न नसक्ने अवस्था भएपछि संघीय सरकारको निर्देशनमा स्थानीय तहहरूले कोरोनाको लक्षण नदेखिएकालाई परीक्षण नगरी धमाधम घर पठाइरहेका छन् । यो आफैमा गलत निर्णय हो । यसले क्वारेन्टाइनमा रहेकाको संख्या घटे पनि समुदायमा जोखिम बढाएको छ । यसले अहिलेसम्म सामान्य रहेको समुदाय यसपछि ठूलो भयावह सिर्जना हुने आँकलन गर्न थालिएको छ । संघीय सरकारले १४ दिनपछि पुनःपरीक्षण नगरेर घर पठाउने निर्देशन दिएको छ । सोही अनुसार स्थानीय सरकारहरुले आइसोलेशनमा बसेको १४ दिन पुरा भएपछि संक्रमितलाई घर पठाउने गरेका छन् । समुदाय स्तरमा कोरोना गए नियन्त्रण बाहिर जान सक्ने विज्ञहरु बताउँछन् । पाल्पामा बिहीबारसम्मको तथ्याङ्क अनुसार ५ सय ५३ संक्रमित मध्ये ५ सय ९ जना डिस्चार्ज भएका छन् । यो डिस्चार्ज र सरकारी नीतिमा भने विश्वसीयनताको खडेरी नै छ ।

डिस्चार्ज भएकाहरू निको भएर गए की संक्रमण हुँदै गए भन्ने विषयको विश्वसनीयता कति छ ? यतिबेला सबैले यही प्रश्न गरेका छन् । संक्रमणमै धमाधम घर जान थालेपछि परिवार मात्रै हैन समुदाय पनि त्रासमा छ । यो हुनु पनि स्वभाविक हो । कोरोनाको लक्षण नदेखिएकाबाट कोरोना पनि नसर्ने भन्दै सरकारले आइसोलेशनमा १४ दिन पूरा भएकालाई घर पठाउनुले सबैलाई त्रास त बनाएको छ । त्यसमा पनि अविश्वास बढाएको छ । सरकारी तथ्यांकमा पछिल्लो समय डिस्चार्ज हुनेको संख्या बढ्दै गएपनि अधिकांश रिपोर्ट पोजेटिभ देखिएका व्यक्तिहरू रहेका छन् । तथ्यांकमा डिस्चार्ज हुनेको संख्या बढेको देखिएपनि अधिकांश घर फर्कने कोरोना संक्रमित नै रहेका छन् । जसले गर्दा स्थानीयस्तरमा त्रास फैलन थालेको छ । यसरी रिपोर्ट पोजेटिभ हुँदाहुँदै पनि घर फर्किदा स्थिति झन् भयावह हुने हो कि भन्ने चिन्ता थपिएको छ । डिस्चार्ज बढाउने नाममा संक्रमणमै आइसोलेशनबाट धमाधम घर पठाइनु उचित हैन । संक्रमित व्यक्तिलाई घर पठाउनु भनेको सरकार आफ्नो जिम्मेवारीबाट अलग हुन खोजेको देखिएको छ । स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा सरकार गैरजिम्मेवार बन्न खोज्नु पक्कै पनि उचित हुन सक्दैन । कोरोना संक्रमितलाई पूर्णरूपमा ठीक भएपछि मात्र घर पठाउने व्यवस्था मिलाई जनताको स्वास्थ्यप्रति सरकार गम्भीर बन्न जरुरी छ ।

प्रकाशित मिति: शुक्रबार, साउन २, २०७७  १०:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update