Shittalpati
युवा दक्षता दिवस र आवश्यकता

हरेक वर्ष जुलाई १५ मा विश्व युवा दक्षता दिवस मनाइने गरिन्छ । सन् २०१४ को डिसेम्बरमा संयुक्त राष्ट्रसंघको साधारण सभाले आजकै दिन अर्थात् जुलाई १५ मा दिवस मनाउने संकल्प गरेदेखि यो दिन मनाउन थालिएको हो । युवाहरुको सामाजिक–आर्थिक अवस्था सुदृढ गर्ने उद्देश्यले यो दिन दिवस मनाइन्छ । विश्वभर बढ्दै गइरहेको बेरोजगारी वा योग्यता अनुसारको रोजगार नपाइने प्रवृत्तिलाई सम्बोधन गर्ने उद्देश्यले पनि यो दिन मनाइएको हो भनेर नभुलौ है । बेरोजगारी नेपालको मात्र नभई विश्व अर्थतन्त्रकै समस्या रहेको कुरा पनि यसले उजागर गराइदिएको छ । आजका युवा नै भोलिका राष्ट्रका कर्णधार हुन् । युवाहरुमा अपार क्षमता रहेको हुन्छ । उनीहरूलाई उचित शिक्ष दिक्षा, रोजगारको व्यवस्था गरी नेपालको शान्ति र समृद्धिमा सरिक गराउनु आजको आवश्यकता हो । युवा दक्षता दिवस मनाउनुको सार्थकता पनि यसैमा छ ।

मुलुकको आर्थिक, सामाजिक, राजनीतिक र शैक्षिक क्षेत्रमा युवाहरुको सक्रिय सहभागिता रहेको छ । कृषि तथा उत्पादनमूलक क्षेत्र र श्रम क्षेत्रमा पनि युवाहरुको उपस्थिति ठूलो छ । अध्ययन, रोजगारी, जीविकोपार्जन र अवसरको खोजीका लागि धेरै युवाहरु शहर केन्द्रित भइरहेका छन्, विदेश पलायन भइरहेका छन् । विगतमा युवा र उनीहरुका सरोकारका विषयलाई सरकारका नीति, कानुन एवं कार्यक्रमले सही रुपमा सम्बोधन गर्न नसक्दा अवसरको खोजीमा विदेश जाने र उतै पलायन हुने समस्याले मुलुक समस्यामा छ । रोजगार बजारमा उपलब्ध दक्ष र योग्य युवालाई देशभित्र अवसर सिर्जना गर्न नसक्नु, जनशक्तिको माग र शिक्षाबीच सामञ्जस्य कायम हुन नसक्नु जस्ता धेरै कारण युवाहरु बेरोजगार बस्नु परेको छ । देशमा शिक्षा, रोजगारी तथा अन्य अवसरहरुको अभावमा देशको प्रमुख उर्जाको रुपमा रहेका युवाहरु विभिन्न कारणले पलायन हुने अवस्था सिर्जना हुनु अत्यन्त दुखद् हो । आजको राजनीतिमा युवाको खाँचो छ । युवा अझ खासगरी शिक्षित, सचेत, नैतिक र कुशल युवाको भूमिकाले मात्रै आजको राजनीति सबल र स्थिर बन्ने छ । अनिमात्रै देशले लायक र कुशल नेतृत्व पाउनेछ । त्यस अवस्थामा नै नेपाली जनताको दशकौंदेखिको निराशा अन्त्य हुँदै जानेछ । यसरी जन्मने पुस्ताले बल्ल देशलाई समृद्धितर्फ लैजाने आशा गर्न सकिन्छ ।

प्रकाशित मिति: बुधबार, असार ३१, २०७७  १०:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update