Shittalpati
सुन्तला खेती : कृषकको समृद्धिको आधार

प्राकृतिक सुन्दरता र जैविक विविधताले भरिपूर्ण भूमि नेपालसँग छ । प्रत्यक वर्ष ठूलो संख्यामा युवा जनशक्ति काम र अवसरको खोजीमा बजारमा आउने गरेका छन् । विज्ञानको विकास र विश्वव्यापीकरणको प्रभावसँगै नयाँ प्रविधि भित्रिरहेको छ । यी अमूल्य पुँजीको धनी नेपालले समृद्धिको यात्रामा गति लिन नसकेको अनुभूति आमनागरिकको छ । यसो हुनुमा प्रकृतिको वरदान सुन फल्ने माटोलाई समयमै चिन्न, पारख गर्न, जनशक्ति व्यवस्थापन र युवाहरूको ठूलो पंक्तिलाई माटोको सदुपयोगका लागि पूर्णरूपमा परिचालन गर्न ढिलो गर्नु हो भन्नु अत्युक्ति नहोला ।

यतिखेर कोभिड-१९ महाव्याधिका कारण विश्वभर संकट छ र नेपाल पनि यसबाट अछुतो छैन । यो महामारीको प्रत्यक्ष असर ठूलो सख्यामा विदेश पलायन भएका नेपाली युवामा परेको छ । हाल ती जनशक्ति धमाधम स्वदेश फर्किरहेका छन्, मातृभूमिमै कर्म गर्ने अठोटका साथ । यसरी फर्केका कतिपय युवा विदेशमा ज्ञान, सीप, पूँजी आर्जन गरेर आएका छन् । केही चाहिँ विदेशमा खानुपरेको हण्डरबाट अविस्मरणीय पाठ सिकेर फर्केका छन् । यसरी एकाएक फर्केको जनशक्तिमा एकै किसिमको हुट्हुटी छ, त्यो हो अब पसिना स्वदेशकै माटोमा सिञ्चित गरेर कृषिजन्य व्यवसाय, उद्यम समेतलाई प्रवद्र्धन गर्ने । यो क्षण राज्यका लागि पौरखी जनशक्तिलाई कृषिको व्यवसायिकीकरणमा जोड्ने अमूल्य अवसर हो । यदि राज्यले ऊर्जाशील युवाहरूको विश्वास जितेर परम्परागत, निर्वाहमूखी कृषि प्रणालीलाई आधुनिकीकरण र व्यावसायिक रूपान्तरणको कर्ममा जोड्न र अड्याउन सकेको खण्डमा कम्तीमा कृषिजन्य वस्तुमा आत्मनिर्भर बन्ने प्रस्थानविन्दु हुन सक्दछ अहिलेको यो महाव्याधी संकट ।

कोरोना कहरपश्चात विदेशबाट रोजगारी गुमाएर स्वदेश फर्कने युवाहरूको संख्या लाखौं छ । विदेशमा रहेका करिब ५० लाखभन्दा बढी जनशक्तिमध्ये आधाभन्दा बढी स्वदेश फर्कने अनुमान छ । ती युवा बाबुआमा, श्रीमती, छोराछोरीको पालनपोषण, शिक्षादीक्षा, स्वास्थ्योपचार जस्ता आधारभूत जिम्मेवारी कसरी पूरा गर्ने तथा आप्mनो भविष्य के हुने भन्ने चिन्ताले पिरोलिएका छन् । त्यसैले कतिपय युवाहरू स्वस्पूmर्त तर दीर्धकालीन योजना र तयारी विनै कृषि कर्ममा जुट्न थालेका छन् । गाउँ–गाउँमा बाँझा जमिन खनीखोस्री गर्नेदेखि कृषि तथा पशुपालन सम्बन्धी विविध व्यवसाय, लघु उद्यम आदि कार्य अघि बढाउँदैछन् । तिनीहरूले नगदे बालीका रूपमा चिनिने अम्ल जातका (कागती, सुन्तला, जुनार आदि) बिरुवा ठूलो परिमाणमा लगाइरहेका छन् । यसरी जीवनस्तर उठाउने विश्वासको खेती गाउँमा व्यापक रूपमा भइरहेको छ । पूर्वको इलामदेखि सुदूरपश्चिमको डडेलधुरा जिल्लासम्मका पहाडी क्षेत्रका ५४ जिल्लामा सुन्तला, जुनार, कागती, निबुवा, मौसम, ज्यामिर, भोगटे, बिमिरो आदि सुन्तला जातको खेती हुँदै आएको छ । स्याङ्जा, लम्जुङ, सल्यान, तनहुँ, काभे्रपलाञ्चोक, दैलेख, गोरखा, पाल्पा, गुल्मीलगायतका जिल्ला सुन्तला उत्पादनमा अबल श्रेणीमा पर्छन् । मध्यपहाडी क्षेत्रका समशीतोष्ण हावापानी, हल्का दोमोट माटो, पानी नजम्ने र उत्तरपूर्वी मोहडाका १ हजारदेखि १२ सय मिटरसम्मका जमिन सुन्तला खेतीका लागि उर्वर भूमि हुन् ।

त्यस्तै जनशक्तिको इच्छाशक्ति, दक्षिण एशियामै सुन्तला जातका लागि उत्कृष्ट माटो, हावापानी तथा छिमेकी देशहरूमा समेत स्वादिला नेपाली सुन्तलाको बढ्दै गएको माग व्यावसायिक खेती विस्तारका निम्ति सबल पक्ष हुन् । तर पनि चार दशक जति अघिसम्म सीमित कृषकले घरनजिक पाँच, सातवटा सुन्तलाका बिरुवा शोखका रूपमा लगाउने चलन थियो । ती सुन्तला घरपरिवारले उपभोग गर्ने, इष्टमित्रलाई कोशेलीपात बाँड्ने परम्परा थियो । बचेखुचेको थोरैमात्र गाउँका मेला पर्व तथा व्यापारीलाई बिक्री गर्ने गरिन्थ्यो । यस्तो परिस्थितिका कारण सुन्तलाले लामो समयसम्म व्यावसायिक रूप धारण गर्न सकेको थिएन । कृषकका निम्ति नुन, तेलको जोहो गर्न भरथेग गर्ने साधनमात्र थियो, सुन्तला खेती । त्यसैले विगतमा सुन्तला खेतीप्रति आकर्षण देखिँदैनथ्यो । कुनै आँटिला किसानले सुन्तला खेतीको पहल गर्दा हास्यको पात्र बन्नु पर्ने अवस्था थियो । तर, समयले कोल्टो फेरेको छ, सडक विस्तार भई गाउँ टोलसम्म पुगेको छ । यातायातको सहज पहुँच, कृषकहरूको जाँगर र स्वदेश, विदेशका उपभोक्ता माझ सुन्तलाको बढ्दो माग आदि कारणले सुन्तलाको व्यावसायिक खेतीको ढोका खुलेको छ । अहिले सुन्तला खेती गरेर किसानले मनग्य आम्दानी गर्न सफल भइरहेका छन् । आफू स्वरोजगार र अरूलाई रोजगारी दिने व्यवसायी बनेर समाजमा प्रतिष्ठित नागरिकका रूपमा स्थापित भएका छन् । यसरी सुन्तला खेती आकर्षणको केन्द्र बन्दै गएको छ । अहिलेसम्मको माग, उत्पादन, बजार अवस्था र अनौपचारिक रूपमा भए पनि छिमेकी मुलुकमा निर्यातको स्थिति आदि पक्षलाई अध्ययन गर्दा सुन्तला खेती परम्परागत खेती प्रणालीबाट व्यावसायिक खेतीका रूपमा बामे सर्न थालेको अवस्थामा छ ।

आगामी दिनमा सुन्तला खेतीलाई पर्या–पर्यटनसँग जोड्न र पेय पदार्थ तयार गर्ने लघु उद्यम स्थापनासमेत गर्न सकिएमा सुन्तलाको व्यावसायिक खेतीलाई अझ प्रबद्र्धन गर्न मद्धत पुग्नेछ । यदि सुन्तलाको व्यावसायिक खेतीमा सफलता प्राप्त भएमा लाखौं जनशक्तिलाई स्वरोजगार, रोजगारीका अवसरको सिर्जना गरेर समृद्धिको आधार तयार पार्ने सम्भावना देखिएको छ । तथापि यतिखेर व्यवसाय गर्न चाहने कृषकका अघि पूँजी, श्रम, बजार, प्राविधिक पक्षलगायत चुनौतीका पहाड विद्यमान छन् । कृषकले व्यावसायिक ढंगबाट खेती गर्ने चाहना राखे पनि सहज रूपमा पुँजी जुटाउन असमर्थ रहनु, पर्याप्त कृषि प्राविधिक गाउँमा उपलब्ध नभएकाले व्यवसाय सञ्चालनको तयारी समेतमा सल्लाह, सहयोग लिन नसक्नु, पहाडका प्रायः क्षेत्रमा सिँचाइ सुविधा नहुनु, कृषि मजुदर पाउन कठिन हुनु, समयमै उन्नत बिरुवा, मल प्राप्त नहुनु, शीत भण्डार अभाव रहेकाले परल मूल्य नपाए पनि बिक्री गर्नुपर्ने बाध्यता रहनु, बजार र व्यापारीसँग पहुँच हुन नसकी बिचौलियाले बढी लाभ उठाउने प्रवृति मौलाउनु, सरकारी निकायबाट उपलब्ध हुने अनुदान आदिमा निमुखा कृषकहरूको पहुँच नहुनु, तर ठाटाबाठा शक्तिकेन्द्रका निकटका मानिसहरूले लाभ उठाउने प्रवृत्ति हावी रहनुजस्ता समस्या सुन्तलाको व्यावसायिक खेती विकासको मार्गमा व्यवधानका रूपमा रहेका छन् ।
त्यसकारण चाँडोभन्दा चाँडो सुन्तला खेतीयोग्य जमिनको तथ्यांक संकलन गरी व्यवस्थित ढंगबाट खेती गर्ने दीर्घकालीन योजना तर्जुमा, उन्नत जातका बिरुवाको बन्दोबस्ती, धेरै किसानलाई व्यवसायमा सहभागी गराउन कृषक समूह, फर्म, सहकारीलाई परिचालन, अनुदान र सहुलियतपूर्ण ऋण सुविधा, कृषि प्राविधिकको व्यापक व्यवस्था, हरेक गाउँपालिकामा कम्तीमा एउटा शीतभण्डार, बजार व्यवस्थापन आदि कार्य गरेर सुन्तला खेतीलाई व्यावसायिक बनाउन मार्ग प्रशस्त गर्न सकिन्छ । व्यावसायिक सुन्तला खेतीले गाउँका बाँझा जमिनलाई सुनखानीमा रूपान्तरण गरेर नागरिकहरूको जीवनस्तर उकास्ने तथा समृद्धिको आधारशीला तयार गर्न टेवा पुर्‍याउनेछ । तसर्थ तीनै तहका सरकारको प्राथमिकतामा सुन्तला खेती पनि पर्नु आवश्यक छ । यी सरकारले सुन्तला खेती प्रवद्र्धन गर्न विभिन्न कार्यक्रमका नाममा बजेट छिरोल्नुको सट्टा एकद्वार प्रणाली र समन्वयात्मक ढंगबाट बजेट कार्यान्वयन गरेमा वास्तविक कृषकको पहुँचमा कार्यक्रम पुग्नेछ । अन्तत्वोगत्वा, सुन्तला खेतीलाई व्यावसायिक बनाउने कृषकहरूको चाहनाले सार्थकता पाउनेछ । (लेखक राष्ट्रिय अनुसन्धान विभागका पूर्व डिआइजी एवं पाल्पा क्षेत्र नम्बर २ प्रदेश (ख) का प्रदेश सांसदका उम्मेदवार समेत हुन् ।) –साभार : हिमालय टाइम्स

प्रकाशित मिति: बुधबार, असार ३१, २०७७  १०:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update