Shittalpati
पाल्पामा मंगलबार थप २२ जना संक्रमित निको भए

पाल्पा । जिल्लामा पछिल्लो २४ घन्टामा थप २२ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन् । मंगलबार उनीहरुलाई ३ हप्तासम्म आइसोलेसनमा बस्दा कुनै लक्षण नदेखिएपछि पुनः परीक्षण नगरी घर पठाइएको हो । उनीहरू सबै पूर्वखोला गाउँपालिकाका रहेका छन् । भारत र तेस्रो मुलुकबाट आई क्वारेन्टाइनमा बसेका उनीहरुको कोरोना रिपोर्ट पोजेटिभ आएपछि गाउँपालिका १ सिलुवामा निर्माण गरिएको आइसोलेशन सेन्टरमा रही उपचार गराईदै आइएको थियो । जिल्ला स्वास्थ्य कार्यालयले पूर्वखोलामा मंगलबार थप २२ जना निको भई घर पर्किएको तथ्याङ्क सार्वजनिक गरे पनि गाउँपालिकाको स्वास्थ्य शाखाले भने ३१ जना घर फर्किएको बताएको छ । गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक मोहन ढकालका अनुसार जनमार्गको आइसोलेशनमा रहेका ३१ जनालाई घर पठाइएको हो । स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार गाउँपालिकामा निको भएका संक्रमितको संख्या ५६ पुगेको छ भने, गाउँपालिकाको स्वास्थ्य संयोजक ढकालका अनुसार ८७ पुगेको छ ।

स्वास्थ्य कार्यालयका अनुसार जिल्लाका ५ सय ५३ संक्रमितमध्ये मंगलबारसम्म ३ सय ८८ जना निको भइसकेका छन् । हालसम्म माथागढी गाउँपालिकाका २८ जना, रामपुर नगरपालिकाका १ सय ६,पूर्वखोलाका ५६, रैनादेवी छहराका ३३, रमभाका २५, बगनासकालीका २८, तिनाउका ४, रिब्दीकोटका ४, निस्दीका ९५, तानसेनका ६ , गुल्मीका २ र अर्घाखाँचीका एक जना कोरोना संक्रमित निको भएर घर फर्किसकेका छन् । जिल्लामा सोमबार र मंगलबार भने एक जनामा पनि संक्रमण नदेखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

अहिलेसम्म बगनासकाली गाउँपालिकामा ४२, रम्भा गाउँपालिकामा ४०, माथागढी गाउँपालिकाका ३०, तिनाउ गाउँपालिकाका ८, रैनादेवी छहरा गाउँपालिकामा ३८, तानसेन नगरपालिकामा १३, रामपुर नगारपालिकामा १ सय १६, निस्दी गाउँपालिकमा ९९, पूर्वखोला गाउँपालिकामा १ सय ५९, रिब्दीकोट गाउँपालिकामा ५,उपचारको क्रममा लुम्विनी मेडिकल कलेजमा गुल्मीका २ जना र अर्घाखाँचीका एक जनामा कोरोना संक्रमण देखिएको थियो भने पूर्वखोलाका एक जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति: मंगलबार, असार ३०, २०७७  १६:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update