Shittalpati
कोरोनासँगै डेंगु बारे सचेत बनौँ

गर्मी बढेसँगै कीटजन्य रोगको जोखिम बढ्ने गर्दछ । हरेक वर्ष जस्तै यस वर्ष पनि लामखुट्टेबाट सर्ने डेंगु रोगको प्रकोप बढेको छ । कोरोना महामारीका कारण भने यो रोग ओझेलमा परेको छ । यसवर्ष पनि नेपालका विभिन्न सहरमा डेंगु सार्ने लामखुट्टेको प्रकोप बढेको छ । अघिल्ला वर्षको तुलनामा डेंगुको प्रभाव कम भएपनि संक्रमण भने देखिन थालेको छ । एडिस एजिप्टाइ जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने भाइरसको संक्रमणबाट डेंगु रोग लाग्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि डेंगुको प्रकोप बढेकाले सचेत रहन आग्रह गरेको छ । कोरोना संक्रमितलाई पनि डेंगुको संक्रमण देखिपछि सरकारले आमनागरिकलाई सजग रहन आग्रह गरेको हो । कोरोनासँगै अरु रोगको जोखिम बढेकाले वर्षाकाल सुरु भइसक्दा क्रुवारेन्टाइन तथा घरमा बस्दा कोभिड बाहेक डेंगुका विषयमा समेत सचेत हुनुपर्दछ ।

गत वर्ष महामारीको रुपमा फैलिएको डेंगु ६८ जिल्लामा फैलिनुका साथै १६ हजारमा मानिसमा यो संक्रमण देखिएको थियो । जसमा ६ जनाको मृत्यु भएको थियो । यो रोग वैशाखदेखि मंसिरसम्म देखा पर्छ । डेंगु र मलेरिया रोगका लागि प्रत्येक प्रदेश र स्थानीय सरकारले चेकजाँचका लागि डाइग्नोष्टिक टेस्ट किटको व्यवस्था गरी लामखुट्टेको टोकाइबाट बच्रुन सावधानी अपनाउने तर्फ ध्यान दिनुपर्दछ । कोरोना भाइरसको महामारीका कारण डेंगुको संक्रमण ओझेलमा परे पनि यसको प्रभाव भने कायमै छ । नेपालमा सन् २००४ मा पहिलो पटक चितवनमा डेंगुको संक्रमण देखिएको थियो । नेपालमा औलो रोग नियन्त्रण उन्मुख रहे पनि डेंगु रोगको जोखिम भने बढिरहेको छ । संक्रमण देखिएकाहरुमा उच्च ज्वरो आउने, टाउको दुख्ने, शरीर दुख्ने लगायतका लक्षण देखा परेका छन् । गर्मीको समय र त्यसमा पानी परे पश्चात् डेंगुको संक्रमण फैलिने सम्भावना रहन्छ । संक्रमित व्यक्तिबाट परजीवी लामखुट्टे हुँदै स्वस्थ व्यक्तिलाई पनि डेंगु सर्ने हुँदा यसको फैलावट तीव्र हुनसक्छ । समयमै उच्च सावधानीसहित रोगको उपचार, रोकथाम र नियन्त्रणका उपायहरु अवलम्बन नगर्ने हो भने डेंगु नियन्त्रण गर्न गाह्रो पर्छ । तसर्थ कोरोनाकोसँगै डेंगुबाट बच्च विशेष सचेत रहन जरुरी छ ।

प्रकाशित मिति: मंगलबार, असार ३०, २०७७  १०:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update