Shittalpati
रामपुरमा प्रतिरोधात्मक क्षमता बढाउने औषधी वितरण

इमान सिं राना
पाल्पा(रामपुर),रामपुर उद्योग वाणिज्य संघले संघमा आवद्ध साधारण सदस्यहरुलाई रोग प्रतिरोधात्मक क्षमता बढाउने होमियोप्याथिक औषधी वितरण गरेको छ । संघले कोरोना भाईरसको संक्रमण फैलिरहेको समयमा नेपाल राष्ट्रिय माडवारी परिषदद्वारा प्राप्त निःशुल्क औषधी वितरण गरेको हो । माडवारी सेवा समाज बुटवलको सौजन्यमा रामपुर उद्योग वाणिज्य संघले रामपुरका मुख्य बजार क्षेत्रमा पुगेर माक्स तथा औषधी वितरण गरेको छ ।


रजघरामा औषधी वितरण कार्यक्रमको सुरुवात गर्दै संविधान सभाका सदस्य राधाकृष्ण कंडेलले महामारीको समयमा रोगलाई जित्ने आधार आत्मबल रहेको भन्दै औषधीले थप आत्मबल प्रदान गर्ने बताए । त्यस्तै प्रदेश नं. ५ का प्रदेश सभा सदस्य युवराज खनालले माडवारी सेवा समाजलाई धन्यवाद दिदै कोभिड महामारीको समयमा सामाजिक दुरी कायम संगै आवश्यक सुरक्षाका उपाय अपनाउन आग्रह गरे ।
रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले विशेष गरी संघमा आवद्ध उद्योगी व्यवसायीहरुलाई लक्षित गरेर औषधी वितरण गरेको बताए । उनका अनुसार वडा नं. ३ को रजघरा बजारमा ६२ जना, वडा नं. ४ को सदावर्तमा १८ जना, वडा नं. ५ बेझाँडमा १ सय ५० जना, वडा नं. ७ किसानबारीका २२ जना र वडा नं. ६ को विजयपुरका ३५ जना उद्योगी व्यवसायी र केही स्थानीयलाई पनि औषधी वितरण गरेको जानकारी दिए । उनले होमियोप्याथिक औषधी भएकाले यसले साईड इफेक्ट नगर्ने बताए । संस्थाका महासचिव खिम बहादुर केसीले माडवारी सेवा समाजबाट प्राप्त ४ सय पिस औषधी वितरण गरिएको जानकारी दिए ।


एक पिस बराबर ५ जनालाई हुने छ । जस अनुसार २ हजार ४ सय जनालाई पुग्ने औषधी वितरण गरिएको हो । औषधी वितरण कार्यक्रममा संघका वाणिज्य उपाध्यक्ष दुर्गा प्रसाद भट्टराई, उद्योग उपाध्यक्ष रुद्र नारायण श्रेष्ठ, सचिव खुम मायाँ राना, सदस्य उमा श्रेष्ठ लगाएतका पदाधिकारीहरुको पनि सहभागीता रहेको थियो ।

 

प्रकाशित मिति: सोमबार, असार २९, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update