
पाल्पा । क्षयरोग र एचआईभी सम्बन्धी अभिमूखीकरण कार्यक्रम तानसेनमा भएको छ । नेपाल क्षयरोग निवारण संस्था पाल्पाको आयोजना, क्याटल्याटिक फण्ड प्रोजेक्टको सहयोगमा क्षयरोग र एचआईभी सेवाको पहुँचमा मानव अधिकार र लैंगिक अवरोध न्यूनिकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम भएको हो । संस्थाले जिल्लाका राजनीतिककर्मी र सामाजिक कार्याकर्ता, नागरिक समाजका व्यक्तित्वहरुलाई एक दिने अभिमूखिकरण कार्यक्रम सञ्चालन गरेको छ । नेपालमा क्षयरोग र एचआईभीको अवस्था चुनौतीपूर्ण रहेकाले जिल्लाका सरोकारवाला व्यक्तिहरुलाई क्षयरोग र एचआईभीका विषयमा जानकारी दिने उद्देश्यले अभिमूखिकरण कार्यक्रम सञ्चालन गरिएको संस्थाले जनाएको छ ।
अभिमूखिकरण कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख विश्वराज न्यौपानेले क्षयरोग र एचआइभीको परिचय, सर्ने तरीका, लक्ष्ण, रोकथाम, क्षयरोगीका अधिकारहरु, उक्त रोगका लागि नेपाल सरकारबाट प्रदान गरिएका सेवाहरु, चुनौती, लिङ्ग र लैङ्गिकता, लैंङ्गितामा आधारित हिंसा लगायतका विषयमा सहभागीहरुलाई प्रशिक्षण दिएका थिए । प्रशिक्षक न्यौपानेले क्षयरोग माईक्रो ब्याक्टेरियम ट्युबरक्लोसिस नामको ब्याक्टेरियाका कारण लाग्ने रोग भएको र श्वासप्रश्वासका माध्यमबाट सजिलै सर्ने, क्षयरोगको संक्रमण मधुमेह, एचआईभी, मृगौला प्रत्यारोपण गरेका, क्यान्सर जस्ता प्रतिरोध क्षमता कम भएका रोगीलाई छिटो लाग्ने बताए । उनले समयमै रोग पहिचान गरी औषधि उपचार गरेमा पूर्ण रुपमा नियन्त्रण गर्न सकिनेमा जोड दिए । प्रशिक्षण न्यौपानेले क्षयरोग, एचआईभी रोगबाट समाजमा हुने विभेद, लाञ्छना र निराकरणमा यस्ता अभिमुखीकरण कार्यक्रमले महत्वपूर्ण टेवा पुग्ने बताए । उनले कार्यक्रममा सहभागिहरुलाई आफुले सिकेका कुराहरुलाई समाजमा जनचेतनाका रुपमा फैलाउन आग्रह गरे । कार्यक्रममा संस्थाकी अध्यक्ष शोभा शाक्यले शिविर भन्दा पनि सचेतना महत्वपूर्ण हुने भएकाले विगतदेखि नै क्षयरोग र एचआईभी सम्बन्धी सचेतनाका कार्यक्रमहरु समुदायस्तरमा सञ्चालन गर्दै आएको बताईन् । उनले संस्थाले क्षयरोग नियन्त्रण तथा निर्मुल पार्नका लागि बौद्धिक वर्ग विद्यार्थी, शिक्षक,राजनितिक दल, नागरिक समाज, सुरक्षाकर्मीहरुलाई समय–समयमा सचेतनामूलक प्रशिक्षण दिर्दै आएको जानकारी गराईन् । कार्यक्रम संस्थाकी अध्यक्ष शाक्यको अध्यक्षता, सचिव झपेन्द्र गहिरेको सञ्चालनमा भएको थियो ।