Shittalpati
महामारी र नेतृत्व संकट

मानिस कोरोना भाइरसका कारण मात्रै होइन, आपसी विश्वास र नेतृत्वको अभावले पनि तीव्र संकटमा परेको छन् । प्रकोपसँग लड्न समाजले वैज्ञानिकलाई, नागरिकले सरकारलाई र हरेक मुलुकले एक अर्कालाई विश्वास गर्नै पर्छ । पछिल्ला केही वर्षयता गैरजिम्मेवार राजनीतिकर्मीले विज्ञानप्रतिको नागरिक विश्वास तोड्ने प्रयास गरिरहेका छन् भने अन्तर्राष्ट्रिय सम्बन्धमा खलल पुर्‍याइरहेका छन् । परिणामतः आज नेपालले सर्वस्वीकार्य नेता पाउन सकेको छैन । संकटको समयमा मानवताभित्र महत्वपूर्ण संघर्ष हुन्छ । यदि महामारीको परिणाम मानिसमा अत्यधिक असमानता र अविश्वासका रुपमा देखियो भने त्यो कोरोना प्रकोपको ठूलो जित हुनेछ । यदि मानवीय सहकार्य भयो र प्रकोप विरुद्ध एक भएर लाग्यौं भने यो कोरोना भाइरस विरुद्धको मात्रै जित हुने छैन, भविष्यमा आउने तमाम संकट विरुद्धकै जित हुने छ । तर नेपालमा भने आपसी विश्वास, सहकार्य गर्ने नेतृत्व पाउन सकिएको छैन । नेतृत्व केवल आफ्नै स्वार्थमा निहित छ, आफैंँमा मात्र निहित हुनु ठूलो संकट हो । बहुमत प्राप्त दलको नेतृत्वमा सरकार छ ।
तर नेतृत्व पंक्ति वर्तमान महामारीको बेला एकरत्ती पनि जिम्मेवार देखिदैन । स्वास्थ्य सामग्री खरिदमा कमिसनको खेल, खाडीमा अलपत्र परेका नागरिकलाई स्वदेश ल्याउने विषयमा गैरजिम्मेवारीपन, कोरोना परीक्षणमा ढिलासुस्ती, अव्यवस्थित क्वारेन्टाइन, कोरोना रोकथाममा अस्वभाविक र अपारदर्शी खर्च लगायतले सरकारप्रति जनमानसको विश्वास क्रमशः घट्दै गएको छ । विगत दुई वर्षको सामान्य अवस्थामा समेत जनअपेक्षा अनुसार काम गर्न नसकेको ओली नेतृत्वको सरकारका लागि कोरोना महामारीको यो संकट अग्निपरीक्षा थियो र एउटा मौका पनि हो । तर, संकटको यो समयमा सरकार क्रमशः असफलतातर्फ अघि बढिरहेको छ । सरकारको नेतृत्व गरिरहेकाको लागि भने कोरोना महामारीभन्दा पनि प्राथमिकताका विषय अरु नै छन् । सरकार त त्यसै पनि अल्मलिएको छ । यस बाहेक प्रतिपक्षी दल र सत्तारुढ दल भित्रकै वरिष्ठ नेताहरुको लागि जनताको जीवन रक्षाभन्दा पनि आफ्नो राजनीतिक भविष्य प्राथमिकतामा छ । करिव सय जनाको राजनीतिक भविष्य उज्जवल बनाउन तीन करोड जनताको वर्तमान दाउमा लागेको छ । यो अत्यन्त दुखद् हो । नेतृत्व वर्गबाट आम नागरिकका केही अपेक्षा हुन्छन् । नेतृत्व वर्गको निर्णयले समाज र देशलाई डोर्‍याउँछ र ती निर्णयले हाम्रो वर्तमान र भविष्य निर्धारण गर्छ । तर आमजनताले अपेक्षा गरेको नेतृत्वदायी भूमिका कोरोना भाइरसले निम्त्याएको यो संकटपूर्ण समयमा बिल्कुलै देखिएको छैन ।

प्रकाशित मिति: आइतबार, असार २८, २०७७  १०:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update