Shittalpati
समुदायमा जोखिम बढ्दो, आइसोलेशनमा रहेकालाई विना परीक्षण धमाधम घर पठाइदै

रामचन्द्र रायमाझी

पाल्पा । जिल्लाका आइसोलेशन सेन्टरमा उपचाररत शनिबारसम्म ३ सय ३ जना कोरोना संक्रमित डिस्चार्ज भए । उनीहरूमध्ये केहीलाई कोरोना निको भएको थियो भने केहीमा कोरोना संक्रमण नै देखिन्थ्यो । तर जिल्लामा कोरोना संक्रमणबाट निको भएका र नभएका दुवैलाई घर पठाउन थालिएको छ, जसले समुदायमा जोखिम बढाएको छ । अहिलेसम्म सामान्य रहेको समुदाय यसपछि ठूलो भयावह सिर्जना हुने आँकलन गर्न थालिएको छ । भारत र तेस्रो मुलुकबाट आई केहीको आरडिटी र पिसिआर परीक्षण गरिएको थियो । परीक्षणपछि कोरोना संक्रमण देखिएका व्यक्तिलाई आईसोलेशन सेन्टरमा राखियो । उनीहरुलाई दोस्रो पटक पनि परीक्षण गर्नु पर्ने हो तर १४ दिन पुगेपछि परीक्षण नै नगरी घर पठाउन थालिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ का बिरामीलाई गत जेठ २० गते परिपत्र गरेर १४ दिन आइसोलेसनपछि सिधै घर पठाउन निर्देशन जारी गरेको थियो । सोहीअनुसार बिरामी डिस्चार्ज गर्ने गरेको जिल्लाका स्वास्थ्यकर्मीहरू बताउँछन् ।

केही दिन अघि रम्भा गाउँपालिकाका १६ जनाको स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको थियो । तीमध्ये आठ जनामा संक्रमण पुष्टि भयो । आइसोलेसनमा रहेका उनीहरूको दोस्रोपटक परीक्षणका लागि भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा स्वाब पठाइयो । तर प्रयोगशालाले जाँच गरेन । जाँच गर्न नमानेपछि लुम्बिनी मेडिकल कलेजबाट उनीहरुलाई एकैपटक घर पठाइएको थियो । शनिबार रामपुर नगरपालिकाका १ सय ४ जनालाई १५ दिनको आइसोलेशन बसाइपछि घर पठाइयो । उनीहरूको स्वाब प्रयोगशाला पठाइए पनि जाँच गरिएन । शुक्रबार माथागढी गाउँपालिकाका १२ जना पूर्वखोला गाउँपालिकाका २२ जनालाई पनि १५ दिनको आइसोलेशन बसाईपछि घर पठाइयो । माथागढी गाउँपालिकाका अध्यक्ष सन्तोष थापा मगरले एकपटक पिसीआर पोजेटिभ आएको व्यक्तिलाई पिसीआर नेगेटिभ नआई घर पठाउने निर्णय गलत रहेको बताए । यसरी घर पठाएको मानिसले अरुलाई संक्रमण सार्ने सम्भावना उच्च हुने उनको भनाइ छ ।‘संक्रमितको स्वाब टेस्ट परीक्षणका लागि पठाइएकोमा फिर्ता आएको छ । लक्षणविहीन भएकै आधारमा बिरामीलाई डिस्चार्ज दिँदा धेरै संक्रमित घरमा पुग्ने हुँदा समाजमा संक्रमण फैलिने उच्च सम्भावना हुन्छ’ अध्यक्ष थापाले भने ।

आइसोलेशनमा रहेकाहरुको स्थानीय तहले स्वाब संकलन गरी पठाए पनि प्रादेशिक प्रयोगशालाले भने फिर्ता पठाउने र त्यत्तिकै थन्काउने गरेको छ । प्रयोगशालामा बाहिरबाट आएका नयाँ व्यक्तिहरुको परीक्षण गरे पनि आइसोलेशनमा रहेकाहरुको पुनः परीक्षण भने गरिएको छैन । पीसीआर परीक्षणका लागि पठाइएका स्वाबका नमुना प्रयोगशालाले फिर्ता पठाउन थालेपछि जिल्लाका जनप्रतिनिधि निराश भएका छन् । पहिलो चरणमा संक्रमण देखिएका व्यक्तिको पुनः परीक्षण नगरिनु दुखद भएको रैनादेवी छहरा गाउँपालिकाका अध्यक्ष रामबहादुर कार्की बताउँछन् । १४ दिन आइसोलेसन बसेकै आधारमा घर पठाउँदा कोरोना संक्रमण घरसम्म जाने उनको तर्क छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गाइडलाइन अनुसार नै जिल्लाका अधिकांश संक्रमितलाई दोस्रोपटक पिसीआर परीक्षण नगरी घर पठाइने गरिएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख विश्वराज न्यौपानेले बताए । उनले भने, ‘हामीहरु परीक्षण गर्ने अडानमा रहे पनि प्रयोगशालाले भने परीक्षण गरिदिएको छैन ।’ शनिबारसम्ममा माथागढी गाउँपालिकाका १५ जना, पूर्वखोला गाउँपालिकाका ३४ जना, रैनादेवी छहरा गाउँपालिकाका २० जना, निस्दी गाउँपालिकाका ९५ जना, रामपुर नगरपालिकाका १ सय १६ जना, रम्भा गाउँपालिकाका २५ जना, बगनासकाली गाउँपालिकाका १ जना, रिब्दीकोट गाउँपालिकाका ४ जना, पाल्पामा उपचाररत गुल्मी, अघाँखाचीका ३ जना गरी ३ सय ३ जनालाई घर पठाइएको छ । अहिलेसम्म ५ सय ४९ जनामा संक्रमण देखिएको छ, भने एक जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति: शनिबार, असार २७, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update