Shittalpati
पाल्पामा घट्दै कोरोना संक्रमित, शुक्रबार मात्र थप २ जनामा संक्रमण

रामचन्द्र रायमाझी

पाल्पा । पछिल्लो समय जिल्लामा कोरोना संक्रमितहरूको संख्या घट्दो क्रममा रहेको छ । संक्रमित हुनेभन्दा डिस्चार्ज हुनेहरूको संख्या बढेपछि जिल्लामा कोरोना संक्रमितको संख्या घट्दै गएको हो । पछिल्लो २४ घण्टामा पाल्पामा कोरोना भाइरस (कोभिड–१९) का २ जना संक्रमित थपिएका छन् । शुक्रबार विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा रामपुर नगरपालिकाका दुई जना पुरुषमा संक्रमण देखिएको हो । योसँगै नगरपालिकामा संक्रमितको संख्या १ सय १६ पुगेको छ । विहिबार भने एक जनामा पनि संक्रमण नदेखिएको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा रहेको छ । जिल्लामा अहिलेसम्म संक्रमितको संख्या ५ सय ४९ पुगेको छ । हालसम्म बगनासकाली गाउँपालिकामा संक्रमितको संख्या ४२, रम्भा गाउँपालिकामा ४०, माथागढी गाउँपालिकाका ३०, तिनाउ गाउँपालिकाका ८, रैनादेवी छहरा गाउँपालिकामा ३८, तानसेन नगरपालिकामा १३, रामपुर नगारपालिकामा १ सय १६, पूर्वखोला गाउँपालिकामा १ सय ५९, रिब्दीकोट गाउँपालिकामा ५, निस्दी गाउँपालिकामा ९५,उपचारको क्रममा लुम्विनी मेडिकल कलेजमा गुल्मीका २ जना र अर्घाखाँचीका एक जनामा कोरोना संक्रमण देखिएको थियो ।

पछिल्लो २४ घण्टामा विभिन्न आइसोलेसनबाट १ सय २९ जना संक्रमित डिस्चार्ज भएका छन् । शुक्रबार माथागढी गाउँपालिकाका १२ जना, पूर्वखोला गाउँपालिकाका २२ जना, रैनादेवी छहरा गाउँपालिकाका २ जना, निस्दी गाउँपालिकाका ९२ जना र बाहिरी जिल्लाका १ जना डिस्चार्ज भएका हुन् । योसँगै जिल्लाका डिस्चार्ज हुनेको संख्या १ सय ९९ पुगेको छ । शुक्रबारसम्म माथागढी गाउँपालिकाका १५ जना, रामपुर नगरपालिकाका २ जना, पूर्वखोला गाउँपालिकाका ३४ जना, रैनादेवी छहरा गाउँपालिकाका २० जना, रम्भा गाउँपालिकाका २५ जना, बगनासकाली गाउँपालिकाका १ जना, रिब्दीकोट गाउँपालिकाका ४ जना, निस्दी गाउँपालिकाका ९५ जना, पाल्पा उपचाररत गुल्मी, अघाँखाचीका ३ जना डिस्चार्ज भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । अहिलेसम्म एक जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति: शुक्रबार, असार २६, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update