Shittalpati
मास्क अनिवार्य लगाऔं

कोभिड-१९ को प्रभाव मुलुकभित्र विस्तारै बढिरहेको छ । पछिल्लो तथ्यांकअनुसार यसको संक्रमणबाट ३५ जनाको मृत्यु भइसकेको छ । १६ हजार भन्दा बढीमा संक्रमण फैलिएको छ । संक्रमितको संख्या हरेक दिन बढिरहेको छ । तर, यसलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने विषयमा राज्यले प्रभावकारी कदम चाल्न सकेको देखिदैन । कोभिड नियन्त्रण र संक्रमितको व्यवस्थापनमा देखिएको सरकारी अव्यवस्था र भद्रगोल सतहमा आएको छ । अझ सरकारले असार १ गतेदेखि लकडाउन खुकुलो बनाएसँगै यसले झन ठूलो रुप लिएको छ । मानिसहरु मास्क नलगाई अनावश्यक घरबाहिर निस्कने, सामाजिक दूरी कायम नराखिए एकै ठाउँ जम्मा भएर गफ गर्ने गरेको देखिन्छ । यसले गर्दा पनि संक्रमणको जोखिम उच्च रहेको छ । हुन त सरकारले केही दिन अघि मात्र घरबाहिर जाँदा मास्कको प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

यो आफैमा स्वागत योग्य छ । भिडभाडमा जाँदा, घरबाहिर निस्कदा, सार्वजनिक स्थलमा जाँदा र सार्वजनिक यातायातमा यात्रा गर्दा मास्क प्रयोग गर्नु स्वास्थ्यको दृष्टिले पनि महत्वपूर्ण रहेको चिकित्सकहरु बताउँछन् । मास्क प्रयोगले कोरोना भाइरस संक्रमणको जोखिम घटाउने सरकारको ठम्याई छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले पनि घरबाहिर निस्कदा मास्क प्रयोग गर्नु सुरक्षित हुने बताएको छ । यो सामाजिक दुरी कायम गर्न सम्भव नहुने स्थानहरुमा जाँदा मास्क लगाउनु उपुक्त हुन्छ । बाहिर जाँदा कम्तिमा घरमै बनाइएको कपडाको मास्क भएपनि लगाउन जरुरी छ । कपडाको मास्क मात्रै लगाउँदा पनि कोरोना भाइरस मिसिएका थुकका छिटाहरुबाट केही हदसम्म जोगिन सकिन्छ । पछिल्लो समय जनस्तरमै अनुशासन पालनामा लापरवाही देखिएको छ । लकडाउन छल्ने वा सरकारी निर्देशनलाई मौका हेरेर उल्लंघन गर्ने प्रवृत्तिले अन्ततः हाम्रै जीवनलाई खतरामा पार्न सक्छ । त्यसैले सबैले बाहिर निस्कदा मास्क अनिवार्य लगाउने र भौतिक दुरी कायम गरी विशेष सावधानी अपनाउन जरुरी छ ।

प्रकाशित मिति: बिहीबार, असार २५, २०७७  १०:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update