Shittalpati
पोखरामा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु, १४ जना घाइते

पोखरा, पोखरा महानगरपालिका–२८ कालिका ओख्लेको भीरस्थित सडकमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । सौर्यमाझठानाबाट कालिकास्थानतर्फ आउँदै गरेको ग.२ ख १४१७ नम्बरको बस शुक्रबार बिहान  दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको हो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका पाँच जनाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत गण्डकी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार मृत्यु हुनेमा पोखरा महानगरपालिका–२८ निवासी ६५ वर्षीय बाबुराम तिवारी, अन्दाजी १३ वर्षीया ममता तिवारी, अन्दाजी १४ वर्षीय अशिम कंडेल, अन्दाजी १४ वर्षीया रूमिका नेपाली र अन्दाजी १४ वर्षीया सुवेच्छा तिवारी रहेका छन् । दुर्घटनामा बसका चालकसहित अन्य १४ जना घाइते भएका छन् । घाइतेमध्ये चालकसहित बसमा सवार ११ जनाको गण्डकी अस्पतालमा उपचार भइरहेको छ भने बसमा सवार अन्य तीन जनाको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । भीरको सडकबाट बस करिब २०० मिटर तल खसेका कारण दुर्घटनामा ठूलो क्षति भएको देखिएको छ । दुर्घटनापछि घाइतेहरूको उद्धार गरी उपचारका लागि विभिन्न अस्पतालमा पु¥याइएको थियो । गम्भीर घाइते भएका पाँच जनालाई अस्पतालमा उपचार गरिए पनि बचाउन नसकिएको हो ।

दुर्घटना कसरी भयो भन्नेबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ । बस अनियन्त्रित भएर सडकबाट खसेको हो वा दुर्घटनाको अन्य कुनै कारण थियो भन्ने विषयमा अनुसन्धान भइरहेको छ । दुर्घटनाको वास्तविक कारण, बसको प्राविधिक अवस्था तथा अन्य विवरणबारे अनुसन्धानपछि थप तथ्य खुल्ने अपेक्षा गरिएको छ । एकै दुर्घटनामा पाँच जनाको ज्यान गएपछि पोखरा महानगरपालिका–२८ को कालिका ओख्ले क्षेत्रको सडक दुर्घटनाले गम्भीर चिन्ता उत्पन्न गरेको छ । प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, असोज २३, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update