पाल्पा, देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार पर्सा र मकवानपुरमा भएका छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा दुई पैदलयात्री र एक मोटरसाइकल चालक छन् । पर्साको वीरगंज महानगरपालिका–१६ भानुचोकस्थित सडकमा बुधबार बिहान ईभी गाडीको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । वीरगंजबाट पथलैयातर्फ जाँदै गरेको बा.प्र.०३–००१ ज ०७२० नम्बरको ईभी गाडीले ठक्कर दिँदा सोही महानगरपालिका–१६ नगवा बस्ने ४५ वर्षीया मिरा कुमारी गुप्ता गम्भीर घाइते भएकी थिइन् । घाइते गुप्ताको वीरगंजस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनापछि प्रहरीले ईभी गाडी चालकलाई नियन्त्रणमा लिएको छ । यस्तै, मकवानपुरको बागमती गाउँपालिका–८ साततलेस्थित सडकमा मोटरसाइकलको ठक्करबाट चार वर्षीय बालकको मृत्यु भएको छ । फापरबारीबाट हात्तीसुँडेतर्फ जाँदै गरेको प्र.०३–०२–००३ प २६३१ नम्बरको मोटरसाइकलले स्थानीय सरोज घलानका छोरा ४ वर्षीय प्रिभेस घलानलाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका प्रिभेसको सहकारी अस्पताल हेटौंडामा उपचारका क्रममा मृत्यु भएको हो । प्रहरीले मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएको छ ।
यसैगरी, मकवानपुरकै भीमफेदी गाउँपालिका–६ धानगोदामस्थित सडकमा गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मंगलबार दिउँसो बा.१२ च ४१६४ नम्बरको गाडीले बा.प्र.०२–०१८ प ०४५९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा हेटौंडा उपमहानगरपालिका–५ बस्ने २५ वर्षीय महेश्वर घिमिरे खत्री गम्भीर घाइते भएका थिए । घाइते खत्रीको हेटौंडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीनवटै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।


